दुई विषयगत केन्द्रीय सहकारी संघबीच एकीकरण, सञ्चालक समितिको बैठक बस्दै


काठमाडौं । नेपाल केन्द्रीय मत्स्य सहकारी संघ लि. र केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लि. नेपालबीच एकीकरण भएको छ । एकीकृत संघको नाम केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लि. र कार्यालय मिनभवन काठमाडौं कायम गरिएको छ । उक्त संघीय सहकारी विभागले दुई केन्द्रीय संघबीचको एकीकरण प्रस्ताव र विनियम स्वीकृत गरेको थियो भने सो विभागले सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा सहकारी संस्था एकीकरण तथा विभाजन निर्देशिका २०७७ मा व्यवस्था भए बमोजिम एकीकरण प्रस्ताव स्वीकृत गरेको थियो ।

त्यसैगरी लामो समयदेखि एकीकरण प्रक्रिया अघि बढाएका दुई विषयगत केन्द्रीय संघले २०७८ पुस २० गते सहकारी विभागमा औपचारिक निवेदन दर्ता गराएका थिए भने तत्पश्चात विभागले राष्ट्रिय दैनिक पत्रिकामा उक्त एकीकरण निवेदन उपर सरोकार, गुनासो वा उजुरी भए प्रथम पटक सूचना प्रकाशित मितिले १५ दिन अर्थात २०७८ माघ २९ गते भित्र कार्यालय समयमा विभागमा आइपुग्ने गरी निवदेन दिन सूचना समेत जारी गरेको थियो ।

तोकिएको समयभित्र कुनै पनि दाबी विरोध नपरेपछि विभागले एकीकरण प्रस्ताव स्वीकृत गरेको थियो भने एकीकरण प्रक्रिया अघि बढेसँगै विभागबाट पूर्व स्वीकृति प्राप्त गरी दुबै संघको संयुक्त साधारण सभा २०७८ मंसिर २० गते महोत्तरीको बर्दिबासमा सम्पन्न भएको थियो ।

उक्त साधारण सभाले बाबुराम अधिकारीको अध्यक्षतामा १९ सदस्यीय सञ्चालक समिति तथा मदनबहादुर क्षेत्रीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको थियो भने एकीकरणपछि नयाँ सञ्चालक समितिको पहिलो बैठक आज धनुषाको ढल्केबरमा बसिरहेको अध्यक्ष अधिकारीले साकोस आवाजलाई जानकारी गराउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न