काठमाडौं । सहकारी विभागको आयोजनामा नियामक निकायका कर्मचारी तथा पदाधिकारीहरुसँग सहकारी सुशासन, नियमन र प्रवर्धन सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न भएको थियो । उक्त विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितको अध्यक्षतामा आयोजित गोष्ठीका प्रमुख व्यक्ति भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठ हुनुभएको थियो । त्यसैगरी सहकारी क्षेत्रको नियमन र प्रवर्धन गर्ने उद्देश्यसहित सातै प्रदेशका प्रदेश र पालिकाबाट सहकारीका नियामक प्रतिनिधि सम्मिलित गोष्ठीमा संघीय सहकारी मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, संघीय उपरजिष्ट्रार टोलराज उपाध्याय लगायत विभागका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सहकारी मन्त्री शशी श्रेष्ठले समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पुरा गर्न सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउनुदै ‘सहकारीले उत्पादनमूलक क्षेत्रमा जोड दिनुपर्छ, जबसम्म सहकारी उत्पादनमा जाँदैन तबसम्म समृद्धिको सपना पुरा हुँदैन’ भन्ने कुरा व्यक्त गर्नुभएको थियो भने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले तहगत रुपमा ऐनमा एकरुपता आवश्यक पर्ने धारणा राख्दै बाझिएका ऐन संशोधनका लागि पहलगर्नुपर्नेमा जोड दिदै प्रदेशमा सहकारी ऐन जारी हुने क्रम छ, बाझिएका ऐनमा एकरुपता ल्याउन तीनवटै तहबीचमा समन्वय जरुरी रहेको बताउनुबएको थियो ।
नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले सहकारी सुशासनका लागि आन्तरिक स्वनियमन प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले नियमनका चरणहरुको व्याख्या गर्दै सहकारीको प्रवर्धनमा स्वनियमन महत्वपूर्ण रहेको र ‘नियमनको काम संघीय विभागमा रहनुपर्छ, प्रदेश र पालिका तहले सहकारीको प्रवर्धनमा र विकासका काम गर्ने हो ।’ विश्व ऋण परिषद–ओकुले Challenge 2025 भनेर विश्वव्यापी रुपमा घोषणा गरेको प्राविधिक आयामको चर्चा गर्दै अध्यक्ष पौडेलले सहकारीमा प्रविधि प्रयोगको व्यापकतालाई प्रदेश र पालिका तहमा सम्बोधन गरिनुपर्ने बताउनुभएको थियो ।
गोष्ठीमा सहभागी संघ, प्रदेश र पालिका तहका रजिष्ट्रार, उपरजिष्ट्रार, सहकारी प्रमुख लगायतबाट ४ समूह विभाजन गरी अन्तरक्रिया भएको थियो । संघीय विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथी मन्त्रालयका उपसचिव र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेलले टिप्पणी गर्नुभएको थियो ।
Leave a Reply