ललितपुर । नजिकिदैं गरेको नयाँ वर्ष २०७९ को उपलक्ष्यमा ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि. को ललितपुरस्थित लुभू सेवा केन्द्रले वृहत् रक्तदान तथा सहयोग हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो । उक्त ज्तयोतिपुञ्ज साकोसका अध्यक्ष नवराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष रामहरि बजगाई रहनुभएको थियो भने जिल्लास्थित सहकारी संघ संस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा सहभागी हुनुभएको थियो ।
त्यसैगरी ज्योतिपुञ्ज साकोसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुभु प्राथमिक स्वास्थ्य केन्द्रलाई केही स्वास्थ्य उपकरण समेत सहयोग स्वरुप उपलब्ध गराएको थियो । उक्त कार्यक्रममा ४० जनाले रक्तदान गर्नुभएको साकोसले जनाएको थियो भने कार्यक्रममा प्रमुख अतिथि ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईले ज्योतिपुञ्ज साकोसले प्राप्त गरेको सफलता सबैका लागि उदाहरणीय भएको भन्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई पनि सँगै अघि बढाएकोमा प्रसन्नता व्यक्त गर्नुभएको थियो ।
साकोसका अध्यक्ष नवराज कार्कीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान जस्तो जीवनदान कार्यक्रममा सहभागी सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य केन्द्रलाई सहयोग गर्न पाएकोमा उक्त विषयलाई संस्थाको सफलतासँग जोडेर हेर्नुभएको थियो भने ११ वर्षअघि स्थापित ज्योतिपुञ्ज साकोसले समृद्धिका लागि सहयात्रा भन्ने मुल नारा लिएर अविच्छिन्न सदस्य सेवा प्रवाह गर्दै आएको भन्दै सदस्य सन्तुष्टिनै संस्था सफलताको मापक भएको उल्लेख समेत गर्नुभएको थियो ।
काठमाडौंको नयाँ बानेश्वर केन्द्रीय कार्यालय रहेको ज्योतिपुञ्ज साकोसको ललितपुरको कुमारी पाटीमा पहिलो, काठमाडौंको गोठाटारमा दोस्रो र ललितपुरको लुभुमा तेस्रो सेवा केन्द्र सञ्चालनरत रहेका थिए। त्यसैगरी वित्तीय कारोबारका अतिरिक्त ज्योतिपुञ्ज साकोसले सदस्यसँग ज्योतिपुञ्ज अभियान अन्तर्गत तालिम तथा शिक्षा, सहकारी अवलोकन भ्रमण, चाडपर्व उत्सव लगायतका इन्द्रेणी कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष कार्कीले दाबी गर्नुभएको थियो भने उक्त कार्यक्रममा साकोसकी प्रबन्धक रञ्जु कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply