सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न


काठमाडौं । ज्ञानज्योति महिला उत्थान साकोस, शंखमुल काठमाडौंको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा ज्ञानज्योति महिला उत्थान साकोस सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको आयोजक साकोसकी अध्यक्ष विना बुधाचार्यको अध्यक्षतामा आयोजित तालिमको समापन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले गर्नुभएको थियो ।

नेफ्स्कूनका अध्यक्ष पौडेलले महिलाहरुमा अधिकारको हस्तान्तरणको विश्वव्यापी विकासक्रम तथा ईतिहासको चर्चा गर्दै सहकारीमार्फत महिलाहरुको आर्थिक, सामाजिक तथा राजनीतिक अधिकार सुनिश्चित गर्न सहयोग पुगेको विचार व्यक्त गर्नुभएको थियो भने महिलाहरुलाई आर्थिक रुपमा सबल र सक्षम बनाउन साकोसले सिर्जनात्मक कार्यशैलीमार्फत उद्यमशीलता विकास र आय श्रृंखलामा जोड्न अहम् भूमिका खेल्नुपर्ने समेत जोड दिनुभएको थियो ।

त्यसैगरी सदस्यहरुलाई गुणस्तरीय जीवन जिउन, महिलाहरुको नेतृत्व विकास गर्न र महिलाहरुलाई प्रविधिमैत्री बनाउनको लागि साकोसले प्रविधि सम्बन्धी शिक्षा विकासमा जोड दिनुपर्छ भन्दै अध्यक्ष पौडेलले सदस्यहरुको आर्थिक, समाजिक, सांस्कृतिक विकास साथै भावी पुस्ताका लागि पर्यावरण जोगाउने कुरामा समेत साकोसले कार्य गर्न अनुरोध गर्नुभएको थियो ।

उक्त साकोसकी अध्यक्ष वुधाचार्यले समुदायमा आधारित महिलाद्वारा सञ्चालित ज्ञानज्योति साकोसले संस्थागत सुशासन कायम गर्दै निरन्तर सदस्य सेवामा केन्द्रीत रहेको साथै महिलाहरुको व्यक्तित्व तथा क्षमता विकासका लागि कार्य गरिरहेको स्पष्ट पार्दै नेफ्स्कूनले पनि सुदृढ साकोस निर्माणका लागि महत्पूर्ण कार्यक्रमहरु मार्फत सहयोग गर्दै आइरहेको र यस्ता कार्यक्रम तथा क्षमता विकासका गतिविधिहरु अझ बृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

त्यसैगरी साकोसहरुको सुरक्षा कवचको रुपमा रहेको स्थिरीकरण कोष सञ्चालनका लागि सम्पूर्ण प्रक्रिया पुरा गरी सहकारी विभाग समक्ष दस्तावेज बुझाएको विषयप्रति निकै खुसी लागेको अध्यक्ष वुधाचार्यले अभिव्यक्ति दिनुभएको थियो । उक्त तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र उच्च व्यवस्थापन गरी २३ जनाको सहभागिता रहेकोे थियो भने तालिम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन