अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न


नवलपरासी । गैडाकोट–१६ अमरापुरीमा रहेको अमर बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न भएको थियो । उक्त साकोसका अध्यक्ष प्रजापति कंडेलको अध्यक्षतामा सुरु भएको तालिममा सचिव श्यामसुन्दर लामिछाने र कोषाध्यक्ष आनन्दकुमार पंगालीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो साकोसका सचिव लामिछानेले तालिमलाई बढीभन्दा बढी अन्तर्क्रियात्मक बनाएर तालिमबाट प्राप्त ज्ञान सीपको उपयोगितामा जोड दिन सहभागीहरु समक्ष अनुरोध गर्नुभएको थियो भने कोषाध्यक्ष पंगालीले तालिम कर्मचारीहरुको क्षमता विकासमार्फत संस्थागत विकास र सफलतासँग जोडिने हुँदा तालिमबाट भरपुर लाभ हासिल गरी कार्यक्षेत्रमा प्रयोगमा ल्याउनुपर्नेमा जोड समेत दिनुभएको थियो ।

त्यसैगरी अध्यक्ष कंडेलले तालिम प्रभावकारी बनाउन र कर्मचारीहरुलाई पुनर्ताजगीकरण समेत होस् भन्ने हेतुले कार्यालयभन्दा बाहिर तालिम सञ्चालन गरिएको बताउनुभएको थियो । उहाँले कर्मचारी संस्था सञ्चालनको मेरुदण्ड भएकोले सक्षम र क्षमतावान् कर्मचारी विकासमा जोड दिनुपर्ने विचार राख्दै तालिम पश्चात् संस्थागत गतिविधि थप प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

उक्त तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो भने तालिममा साकोसका १४ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यसैगरी कार्यक्रम सञ्चालन साकोसका सञ्चालक सदस्य चन्द्रप्रसाद पराजुलीले गर्नुभएको थियो भने कर्मचारीहरुलाई तालिम प्रदान गरेसँगै नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय स्तरको साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा आबद्ध भएको थियो ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न