विद्यालय तहमा वित्तीय तथा प्रविधि शिक्षा विस्तार गर्दै पोखरा रोयल
कास्की । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. ले विद्यालय तहमा वित्तीय तथा प्रविधि शिक्षा विस्तारको अभियान अगाडि बढाएको छ । पोखरा महानगरपालिका–१०, रामबजारमा रहेको कालिका माध्यामिक विद्यालयका कक्षा नौ र दश मा अध्ययनरत छात्र तथा छात्रा गरी १७० जना विद्यार्थीहरुलाई वित्तीय तथा प्रविधी साक्षरता सम्वन्धी एकदिने तालिम प्रदान गरिएको थियो ।
उक्त साकोसकी अध्यक्ष रुद्रकुमारी गुरुङले एक कार्यक्रमको बीच तालिमको शुभारम्भ गर्नुभएको थियो । उहाँले रोयलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीसँग रोयल भन्ने मूल अभियानका साथ विधार्थीहरुमा वित्तीय ज्ञान प्रदान गर्दै बचत गर्ने बानी बसाल्न र प्रविधिको ज्ञान दिने उद्देश्यले विद्यार्थी लक्षित तालिमको आयोजना गरिएको बताउनुभएको थियो भने संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले वित्तीय साक्षरता र सूचना प्रविधि सुपरिवेक्षक अविनाश पौडेलले प्रविधि साक्षरताको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
रोयल कालिका विद्यार्थी बचत क्लव गठन
यसैबीच विद्यार्थीसँग रोयल कार्यक्रम अन्तर्गत सात सदस्यीय रोयल कालिका विद्यार्थी बचत क्लव समेत गठन गरिएको थियो । उक्त कार्यक्रममा अध्यक्ष गुरुङ्गले क्लव सञ्चालनार्थ बिउ पूँजी बापत रु.५०००/– सहायक प्राचार्य सूर्यमोहन ढकाललाई हस्तान्तरण गर्नुभएको थियो भने संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले क्लवको माइन्युट र क्लव सञ्चालन गर्ने कार्यविधि प्रदान गर्नुभएको थियो । त्यसैगरी सो क्लबमा विद्यार्थीहरु रेखा थापा, खिममाया जलारी, शुभ गुरुङ, अनिस थापा मगर, सृजना गुरुङ, मिसेल परियार र अविन सुनार चयन भएका थिए ।
त्यसैगरी विद्यालयका सहायक प्राचार्य सूर्यमोहन ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक वसन्त सिग्देलले स्वागत र सहायक प्राचार्य श्रीराम आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा सहकारीका कोषाध्यक्ष एवं शिक्षा उपसमिति संयोजक गिरबहादुर श्रेष्ठ, सञ्चालक कृष्ण ढकाल, शिक्षकद्वय श्रीराम गौली र कुलप्रसाद सुवेदीको समेत उपस्थिति रहेको सहकारीका सूचना अधिकारी एवं मूख्य प्रवन्धक मीलन ढकालले जानकारी गराउनुभएको थियो ।