ऋण परामर्श तालिम सम्पन्न


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून केन्द्रीय कार्यालयको आयोजनामा काठमाडौंका वित्तीय कारोबारमा सहभागी साकोस प्रतिनिधिहरुका लागि एक दिवसीय निशुल्क: ऋण परामर्श तालिम प्रदान गरिएको थियो । उक्त तालिममा काठमाडौंका विभिन्न २० बचत तथा ऋण सहकारी संस्थाबाट २३ जनाको सहभागिता रहेको थियो भने तालिम समापन समारोहमा संघका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेल, सहायक कार्यकारी अधिकृत एवम् प्राचार्य सञ्जयराज तिमिल्सीना, सहायक कार्यकारी अधिकृत एवम् व्यवसाय विभाग प्रमुख दुर्गाप्रसाद ढकाल र व्यवसाय अधिकृत मनोज बुढाथोकीको उपस्थिति रहेको थियो ।

उक्त संघका प्रमुख कार्यकारी अधिकृत पोख्रेलले ऋण सहकारी संस्थाको मुटु रहेको बताउँदै ऋणमा परामर्शको कार्य निकै महत्वपूर्ण रहने बताउनुभएको थियो ।उहाँले सहकारीमा ‘फाइभ सी’ (Capacity to pay, Character, Collateral, Capital, Condition) विश्लेषणका लागि सूचना प्राप्ती, ऋण ताकेता तथा असुलीका लागि संस्थागत नीति कार्यान्वयनलाई ऋण परामर्शमा जोड्नुपर्ने बताउदै सो संस्थाको कुल आम्दानीको ९५ प्रतिशतभन्दा बढी आम्दानी ऋणले गर्नुपर्ने हुँदा साकोसको ऋण लगानी र असुली प्रक्रिया राम्रो बनाउन प्रभावकारी ऋण परामर्श आवश्यक हुने कुरा समेत जोडदिनुभएको थियो ।

उक्त संघका सहायक कार्यकारी अधिकृत एवम् प्राचार्य सञ्जयराज तिमिल्सीनाले ऋण परामर्श गर्दा जहिले पनि ऋणीको व्यवसाय र सदस्यको बारेमा राम्रो जानकारी राख्नुपर्ने बताउदै सही ढंगले ऋणको परामर्श गरी लगानी गरेमा साकोसमा वित्तीय जोखिम न्यून हुने विषयमा जोड दिनुभएको थियो । त्यसैगरी तालिममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् व्यवसाय विभाग प्रमुख ढकालले ऋण परामर्श राम्रो भएमा ऋणको गुणस्तर बृद्धि हुनुका साथै ऋण मागमा पनि ऋणीले पुनर्विचार गर्न सक्ने बताउनुभएको थियो ।

उक्त तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र व्यवसाय अधिकृत समिट खड्काले गर्नुभएको थियो भने तालिमको व्यवस्थापन सहजीकरण संघका अन्तरलगानी सहायक कर्मचारी सौरभ चौलागाईले गर्नुभएको थियो । त्यसैगरी स्मरण साकोसका व्यवस्थापक निर्मल हुँमागाई र प्रतिबद्ध मिलिजुली साकोसकी व्यवस्थापक कमला वस्नेतले साकोसको ऋण लगानी अवस्था र वित्तीय जोखिमको बारेमा आफ्ना धारणा समेत राख्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन