सदस्य संघ संस्थाहरुलाई राष्ट्रिय सहकारी महासंघको अपिल


काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लि. नेपालले सदस्य संघ संस्थाहरुलाई वित्तीय जोखिम विश्लेषण गरी सामान्य अवस्थामा भन्दा बढी तरलता कायम राख्न अपिल गरेको छ ।

महासंघले ९ बुँदे अपिल जारी गर्दै कोभिड–१९ को महामारी, रुस–युक्रेन युद्धसँगै वस्तु तथा सेवाहरुको मुल्यबृद्धि र मुद्रास्फीतिको असर पर्न गई नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा समेत लगानीयोग्य रकमको अभाव भएको अवस्थामा वित्तीय जोखिम विश्लेषण गरेर मात्र लगानी गर्न अनुरोध गरेको हो ।

करिब एक बर्षदेखि देखिएको तरलता संकटको असर सहकारी क्षेत्रमा समेत देखिन थालेकोले महासंघले आफ्ना सदस्य संघ-संस्थाहरुलाई सामान्य अवस्थामा भन्दा बढि तरलता कायम राखेर कारोबार गर्न अपिल गरेको छ ।

महासंघले सदस्य एवंम् सरोकारवाला निकायहरुसँग संस्थाको वर्तमान अवस्थाको बारेमा निरन्तर समन्वय र सम्वाद जारी राख्न, सहकारीका मूल्य, मान्यता र सिद्धान्त बमोजिम आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त राख्दै संस्थागत सुशासन कायम गर्न र जोखिम विश्लेषण कार्यविधि तयार गरी जोखिम न्यूनीकरणका लागि योजनावद्ध तथा प्रभावकारी रूपमा असुलीमा केन्द्रित रहन आग्रह गरेको छ ।

महासंघले परिस्थिति सहज नहुदासम्म घरजग्गा लगायत अनुत्पादक क्षेत्र एवं ठूला लगानी नगर्न सहकारी संघ-संस्थाहरुलाई अपिल गरेको छ । महासंघ, संघ एवं सहकारी बैंकले सञ्चालन गरेका स्तरीकरण कार्यक्रम एवं तालिमहरूमा सहभागी भई संस्थागत क्षमता मजवुद बनाउन र सहकारी अभियानको ऐक्यवद्धतालाई कायम राख्न माथिल्लो संघहरूसँग नियमित सम्पर्कमा रहदै यथासम्भव अभियानभित्रै कारोबार गर्न अपिल गरेको छ ।

राष्ट्रिय सहकारी बैंक, केन्द्रीय, प्रदेश तथा जिल्लास्तरीय संघहरूले आफ्ना सदस्य संस्थाहरूसँग नियमित सम्पर्क र समन्वय गरी संस्था सञ्चालनमा आवश्यक सहजीकरण गर्न र सदस्यहरूले समेत अस्वाभाविक ब्याजको लोभमा नपरी संस्थागत क्षमता भएका र सुशासनमा सञ्चालित संस्थाहरूसँग मात्र कारोबार गर्न महासंघको अपिल छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन