बलियो सहकारी कानुन नहुनु प्रमुख चुनौति


नेत्रप्रसाद घिमिरे
सहकारी अधिकृत–डिभिजन सहकारी कार्यलय, पाल्पा

१. पाल्पा र गुल्मीमा सहकारीको अवस्था कस्तो छ ? यहाँको सहकारीको लगानीको प्राथमिकता कुन क्षेत्रमा छ ?
हाम्रो कार्यालयको काम एक वाक्यमा भन्दा सहकारी संघ संस्थाको दर्ता,नियमन, प्रवर्धन, पुरस्कृत र दण्डित गर्ने हो । सहकारी संघ संस्थाहरु मार्फत समाजको आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरणमा सहकारी व्यवसायलाई सहजिकरण गर्नु हो । केही गाविस बाहेक गुल्मी र पाल्पाको हरेक गाविसमा सहकारीको सञ्जाल विस्तार र विकास भएको छ जसबाट यहाँका जनताको वित्तीय सेवामा सहज पहुच पुर्याएको अनुमान गर्न सकिन्छ । सहकारीले ग्रामीण क्षेत्रलाई आर्थिकरुपमा चलायमान बनाउन महत्वपूर्ण सहयोग गरेको छ । नेतृत्व विकास, बचत गर्ने बानीको विकास, समूह भावनाको विकास, समाजको लोकतान्त्रीकरणमा सहकारीले संस्थाहरुबाट करिब दुई अर्बको बार्षिक कारोबार हुने गरेको छ । यहाँका सहकारीहरुको लगानी तरकारी, फलफूल, कृषि, पशुपालन लगायतको उत्पादनको क्षेत्रमा र व्यापार व्यवसाय तथा बैदेशिक रोजगारीमा पनि लगानी रहेको देखिन्छ ।

२.  सहकारीको संख्यात्मक विकाससंगै गुणात्मक विकास हुन सकेको छैन नि किन होला ?
सहकारी कानुन परिमार्जन हुन नसक्नु, सक्षम र इमान्दार सार्बजनिक प्रशानिक संरचनाको कमी हुनु, सहकारी क्षेत्रलाई व्यवहारमा कम प्राथमिकतामा राखिनु, जनताले सहकारी र बैक एउटै अर्थमा बुझ्नु, संघहरु निष्पक्ष र सबलरुपमा स्वनियमन गर्ने हैसियतमा नहुनु, सहकारी कारोवारवारेको स्पष्ट कानुनी व्यवस्था नभएकाले सहकारीको कारोवारलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउन कठिनाइ भएको छ । सहकारी क्षेत्रलाई दिइने अनुदान, कर छुट, ऋणमा अस्पष्टता विद्यमान हुनु, सहकारी शिक्षाको प्रभावकारी व्यवस्था नहुनु, डिभिजन सहकारी कार्यालयको संस्थागत सुदृढीकरण हुन नसक्नु आदि सहकारी क्षेत्रका मुख्य समस्या र चुनौतिहरुले गर्दा सहकारीको गुणात्मक विकास हुन नसकेको हो । समग्र देशको अवस्थालाई हेर्ने हो भने सहकारीका विकृति भनेको सहकारी सिद्धान्त र कानुन विपरीत सहकारीमा परिवारवाद हावी हुनु, व्यापारीकरण प्रवृति हावी हुनु,अत्यधिक राजनीतिकरण हुनु, सहकारीलाई राष्ट्रिय एजेन्डा बन्न नदिनु, सहकारीलाई पसलको रुपमा लिनु, लोभ देखाइ बचत संकलन गर्नु, कमिसन वेसमा बचत संकलन गर्नु, कृत्रिम लेखापरीक्षण प्रतिवेदन तयार हुनु, सञ्चालकहरुले सहकारीको स्वायत्ततालाई चरम दुरुपयोग गर्नु, सहकारी बुझेका मान्छेहरुले राजनीतिक चस्माका आधारमा समस्या समाधान गर्न खोज्नु, कथित सहकारी विज्ञहरुबाट सहकारीभित्रका विकृतिहरु ढाकछोप गर्न समूहगत रुपमै सहयोग गर्नु,अलिकति बजार देख्यो कि विना इजाजत सेवाकेन्द्र, शाखा खोली बचत संकलन गर्नु, पुजिपतिहरुले व्यापार व्यावसायका लागि रकम संकलन गर्ने माध्यम बनाउनु, बैकिंग क्षेत्रका खेलाडीहरु सहकारीमा छिर्नु, राजनीतिक पार्टीहरुले समग्र समाजका किसानको हितभन्दा पनि सहकारी मार्फत आफ्ना कार्यकर्तामुखी भएर काम गर्ने परिपाटी हुनु यस क्षेत्रका प्रमुख विकृति हुन् । मूलत सहकारीमा दुई खालका विकृतिहरु रहेका छन् पहिलो सहकारीलाई व्यक्तिगत दाम कमाउने रुपमा लिइ ठगि गर्ने व्यापारीकरण गर्ने प्रवृत्ति जसको परोक्ष रुपमा बलियो सञ्जाल कायम रहेको अनुमान छ भने अर्को सहकारीभित्र गर्नै नहुने राजनीतिक कार्यकर्ता उत्पादन गर्ने स्थानको रुपमा सहकारीलाई प्रयोग खोज्ने र राजनीतिक स्वार्थका लागि सस्तो लोकप्रियतामा रमाउन खोज्ने सस्ता भाषणबाजी गर्ने राजनीतिक संस्कार यी दुवै सहकारीभित्रका विकृतहरुले पनि गुणात्मक विकासमा वाधा परेको हो ।

३.सहकारी आन्दोलनको नेतृत्वकर्ताले सहकारी विकासका लागि के गरेको पाउनु भएको छ ?
सहकारीमा विकृति बढ्नुमा सबैभन्दा दोषी सहकारी सञ्चालन गर्ने सञ्चालकहरु र नेतृत्वकर्ताहरु नै हुन् किनभने निहित स्वार्थ पूरा गर्न सहकारी सिद्धान्त लत्याउने त उनीहरु नै हुन् नि । सस्तो प्रचार नारावाजी र सस्तो भाषणवाजी गरेर भ्रम छर्नमा धेरै नेतृत्व लागेको पाइन्छ । राज्यले यस क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्न सकेन, उद्यमशिलता विकासमा सहजीकरण गर्न सकेन, सबैलाई एउटै डालोमा राखेर मूल्यांकन गर्ने परिपाटी पनि राज्यको कमजोरी हो र सहकारीमा कारोबार गर्ने सदस्यहरु पनि त्यत्ति कै दोषि छन् किनभने आफूले पसिना बगाएर कमाएको रकमलाई क्षणिक आवेग र लोभमा नजानी नवुझी सदस्य नवनी सहकारीमा जम्मा गर्नु र कारोवार गरेपछि सदस्यले निर्वाह गर्ने भूमिका निर्वाह नगर्नु अर्थात सहकारीलाई बैकको रुपमा सदस्यले बुझ्नु र सञ्चालकले पनि यहिरुपमा बुझाउनु । अर्थात सञ्चालक, राज्य, सदस्य तीनै पक्षको कमजोरीका कारण अपेक्षित सहकारीको विकास हुन नसकेको हो ।

४. सहकारीले आर्थिक विकासमा कत्तिको योगदान दिएको पाउनु भएको छ ?
नेपालमा १८ प्रकृतिका सहकारी दर्ता भए पनि सबैले वित्तीय कारोवार मात्र गरेका छन् । बहुउद्देश्यीय भने पछि वित्तीय कारोवार मात्र गर्ने कि अन्य आर्थिक, सामाजिक उद्यमहरु पनि संचालन गर्ने सकिन्न भने बचत तथा ऋण सहकारीमा परिवर्तन गरे भै गयो नि । कृषि सहकारीले सहकारी खेती नगरे बचत तथा ऋण सहकारीमा परिवर्तन गरे भै गयो नि । राज्यबाट सहुलियत लिन कै लागि कृषिका अनेक नाममा संस्था दर्ता गरिएका छन् । कति त अनुदान, ऋण प्राप्त र कर छुट कै लागि सहकारी दर्ता गर्ने चलन छ । संघको नेतामा निर्वाचित नहुदा अनेक विषयका सहकारी दर्ता गर्ने गलत प्रवृत्ति नेपालमा बसाउन खोजियो । साच्चिकै सहकारीका सिद्धान्तलाई सहकारीका उद्देश्य मान्ने हो भने उद्देश्य अनुसार चलेका सहकारी औलामा गन्न सकिन्छ । तर सबैले वित्तीय कारोवार मार्फत समाजमा आर्थिक क्रियाकलापलाई गतिशिल र चलायमान बनाउन सहकारीको भूमिका अवश्य रहेको छ । नेतृत्व विकास, बचत गर्ने बानीको विकास गर्दै पुजी निर्माण, महिला सशक्तिकरण, सामाजिक जागरणमा सहकारीको अतुलनीय योगदान रहेको देख्न पाइन्छ ।

५. प्रायजसो सहकारी बचत तथा ऋणमा मात्र केन्द्रित छन्, अव सहकारीलाई उत्पादनशील क्षेत्रमा लैजान के गर्नुपर्ला ?
सहकारी मैत्री प्रभावकारी कानुन, इमान्दार र सक्षम प्रशासन, चेतनशिल जनता भएको अवस्था सिर्जना भएपछि सहकारीको आफ्नो मौलिक क्षेत्र उत्पादनमा केन्द्रित हुनेछन् । यसमा राज्य लाग्नुपर्ने देखिन्छ । सहकारी समुदायमा आधारित, समुदाय केन्द्रित,समुदायका लािग र समुदायद्धारा नियन्त्रित प्रजातान्त्रिक व्यवसाय भएकाले मेरो व्यवहारिक अनुभवमा र सहकारी सिद्धान्त अनुसार पनि सहकारीहरुवीच बाध्यकारी एकीकरणको नीतिको कार्यान्वयन गरिनुपर्दछ । नजीर नबस्नेगरी एकीकरण गर्दा एकपटकलाई सहकारी मापदण्ड भन्दा बाहिरकालाई विकास बैकमा जाने बाटो खुला गर्दा समस्या समाधान सहज हुन्छ । ठाँउ विशेषका निर्यातयोग्य उच्च मूल्यका कृषि उत्पादन, उद्योग सञ्चालन गर्ने सहकारी बाहेक हालका बचत तथा ऋणको कारोवार गर्ने सबै बहुउद्देश्यीय, बचत तथा ऋण र कृषि सहकारीहरुलाई एक आपसमा एकीकरण गर्दै हाललाई एक घर एक सदस्य, एक गाविस एक सहकारी र एक नगरपालिका बढीमा १० सहकारीको अवधारणा लागू गरी सबै नेपालीलाई सहकारीमा आवद्ध गरी हालको कृषि र गरिबी निवारणको बजेट सिधै ती संस्थाहरुबाट परिचालन गर्ने प्रजातान्त्रिक संरचना निर्माण गर्ने हो भने हालका समस्याहरु स्वत समाधान हुने र देशमा सहजै सहकारी मार्फत कृषि क्रान्ति तथा आर्थिक क्रान्तिमा टेवा पुग्ने मेरो अनुमान र विश्लेषण रहेको छ । सहकारी खुल्ला समाज हो जहा सबै फूलहरु स्वतन्त्ररुपमा फुल्ने वातावरण निर्माण होस् जसले सामूहिक उत्पादन र वितरण प्रणाली स्थापना भइ समानतामा आधारित समृद्ध समाजको स्थापना हुन सकोस् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारीको संख्यात्मक वृद्धिका साथसाथै गुुणस्तर पनि बढाउनुपर्छ
उर्जा र कृषिमा लगानी गर्ने याेजना छ
सहकारीमा मर्ज वाध्यकारी व्यवस्था हुनुहुदैँन
वस्तु तथा सेवाको गुणस्तरीयतामा जोड दिएका छौं