कोअपरेटिभ इन्भेष्टमेण्ट लिमिटेडको साधारणसभा डिसेम्बरमा
लण्डन २७ कार्तिक– बेलायतमा बसोबास गरिरहेका साना तथा मझौला व्यवसायीहरुलाई थप लगानीका लागि प्रोत्साहन गर्न स्थापना भएको नेप्लिज कोअपरेटिभ इन्भेष्टमेण्ट लिमिटेड युकेको साधारण सभा आगामी डिसेम्बर २८ मा लण्डनमा हुने भएको छ ।
गतसाता प्लमस्टेडस्थित रेड लाइन नुडल बारमा सम्पन्न एक भेलाले साधारणसभाका लागि आवश्यक तयारी गरेको लिमिटेडका संयोजक मोहन गुरुङले जानकारी दिए । च्याथामस्थित गोर्खा भिलेज रेष्टुरेण्टमा हुने साधारणसभाका लागि आवश्यक सामगीहरुको बन्दोबस्त अस्मिता एण्ड एशोसियट्सका एलएन पाण्डेले गर्ने भएका छन् । संस्थाको विधान बनाउन एलएन पाण्डेको संयोजकत्वमा मोहन गुरुङ, अर्कराज तिमिल्सिना, सहदेव गिरी, सुमलकुमार गुरुङ, रञ्जिता मल्ल र कुमार श्रेष्ठ सम्मिलित विधान कमिटी गठन गरिएको छ । लिमिटेडले लगानीको दायरालाई फराकिलो बनाएको बताउंदै संयोजक गुरुङले लगानी गर्न व्यवसायीहरुको चाहना बढिरहेको धारणा व्यक्त गरे । बैठकमा करिब दुई दर्जन व्यावसायीहरुको सहभागिता थियो ।