पूर्वाधार लगानी संयन्त्र निर्माण अपरिहार्य


काठमाडौं- नेपाललाई आगामी सात वर्षभित्र विकासशील मुलुकमा स्तरोन्नति गर्न भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा बृहत् लगानी आवश्यक पर्ने भएकाले त्यस निम्ति पूर्वाधार लगानी संयन्त्र बनाउन अपरिहार्य भएको सरकारले बताएको छ । सरकार, नेपाल उद्योग परसङ्घ तथा नेपालको विकासका बहुपक्षीय एवम् द्विपक्षीय साझेदारहरूको सहयोगमा पहिलोपटक राजधानीमा आयोजना भएको पूर्वाधार सम्मेलनको दोस्रो दिन सरकारका वरिष्ठ अधिकारीले लगानी संयन्त्र निर्माणमा जोड दिएका हुन् ।

‘पूर्वाधार लगानी संयन्त्र’ विषयक छलफल कार्यक्रममा भाग लिँदै सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सरकारको एक्लो प्रयासबाट मात्र भौतिक पूर्वाधार निर्माण सम्भव नभएकाले निजी क्षेत्रसँग सहकार्य गर्ने नीति धेरै अघिदेखि राज्यले अवलम्बन गर्दै आएको स्पष्ट गरे ।

पूर्वाधार निर्माणसम्बन्धी बृहत् आयोजनामा लगानी जुटाउन सरकार क्रियाशील रहेको जानकारी दिँदै उनले बैंक तथा वित्तीय क्षेत्रमा गर्नुपर्ने सुधारका निम्ति पनि सरकार तत्पर रहेको बताए । नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले पूर्वाधारको अभावमा नेपालले आर्थिक विकासमा फड्को मार्न नसकेको भन्दै त्यस दिशामा आफ्नो देशले सक्दो सहयोग गर्ने बताए । नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले १३ अर्बको हाराहारीमा नेपालका वाणिज्य बैंकमा निक्षेप रहेको वर्तमान अवस्थामा पूर्वाधारका बृहत् आयोजना सञ्चालन गर्न पुँजी पनि त्यसैअनुरुपको आवश्यक पर्ने बताए ।

नेपालको विकासका बहुपक्षीय एवम् द्विपक्षीय साझेदारसहित ३७ वटा संस्थाको लगानीमा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम अघि बढाइएको उनले स्पष्ट पारे । नेपालका लागि भारतका पूर्व राजदूत राकेश सुदले सन् १९९० को दशकमा नेपालमा प्रारम्भ भएको खुलाबजार अर्थतन्त्रले उल्लेख्य गति लिएको भएपनि १० वर्ष लामो आन्तरिक द्वन्द्वले त्यसलाई प्रभावित पारेको वास्तविकता औँल्याउँदै शान्तिप्रक्रियाको थालनीसँगै पुनः वातावरण बनेकाले लगानीकर्ताको आत्मविश्वास जित्नु अहिलेको आवश्यकता भएको बताए । नीतिगत सुधार गर्दै अघि बढेमा नेपालको भविष्य आफूले उज्ज्वल देखेको उनको भनाई थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले