सहकारीमा साढे ४५ लाख सर्वसाधारणको ६१अर्ब लगानी
१ खर्ब ७२ अर्ब बचत, १ खर्ब ५४ अर्ब ऋण परिचालन


तुलसी सुवेदी

sahakari-harekpal1

काठमाडौं, मंसिर २१ । सहकारीमा शेयर पूँजी दोब्बर वृद्वि भएको छ । अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर शेयर पूँजी वृद्वि भएको हो । सहकारीमा ४५ लाख सर्वसाधारणले ६१ अर्ब बढी लगानी गरेका छन् । त्यस्तै सहकारी क्षेत्रमै १ खर्ब ७२ अर्ब बढी बचत संकलन भएको छ भने १ खर्ब ५४ अर्ब ऋण परिचालन भएको छ ।

सहकारी विभागका अनुसार आर्थिक वर्ष २०७०/७१ मा सहकारीमा शेयर पूँजी ६१ अर्ब १८ करोड ६२ लाख १ हजार रुपैयाँ पुगेको विभागको तथ्यांकमा उल्लेख छ । जबकी, अघिल्लो आर्थिक वर्ष(आ.व २०६९/७०) मा सहकारीको ३८ अर्ब मात्रै शेयर पूँजी रहेको थियो ।
विभागका अनुसार सबभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाले शेयर पूँजी संकलन गरेका छन् । बचत तथा ऋण सहकारीमा ४६ अर्ब ९३ करोड ७६ लाख २५ हजार रुपैयाँ शेयर पूँजीको रुपमा संकलन भएको छ । यो १३ हजार ३ सय ६८ सहकारीको शेयर पूँजी हो । ती संस्थामा १ लाख ९ हजार ३ सय ७८ जना सञ्चालक छन् भने ती संस्थामा २४ लाख ६६ हजार ५ सय ५० जना सर्वसाधारण आबद्व भएका छन् ।

विभागका अनुसार बचत पछि सबभन्दा बढी शेयर पूँजी संक्लन गर्नेमा बहुउद्देश्यीय सहकारी छन् । चार हजार १ सय १४ सहकारीले ९ अर्ब ४४ करोड ७६ लाख २१ हजार शेयर पूँजी जम्मा गरेका छन् । बहुउद्देश्यीय सहकारीमा १० लाख २६ हजार ३ सय १३ जनाले लगानी गरेका छन् भने ३३ हजार २ सय ७५ जना सञ्चालक रहेका छन् । त्यस्तै कृषिमा ६ लाख ३९ हजार ४५ जनाले ३ अर्ब ४९ करोड ८१ लाख ७१ हजार रुपैयाँ शेयर पूँजीको रुपमा लगानी गरेका छन् । कृषिमा ११ हजार ५ सय ११ जना सञ्चालक रहेका छन् ।
त्यस्तै दूग्ध सहकारीमा १ लाख १२ हजार २८ जनाले ४५ करोड ७० लाख ६६ हजार लगानी गरेका छन् । दूग्ध सहकारीमा ११ हजार ५ सय ११ जना सञ्चालक छन् ।
त्यस्तै उपभोक्तामा ५५ हजार ९६ जनाले २७ करोड ६ लाख ६४ हजार, विद्युतमा २९ हजार ४ सय १४ जनाले ८ करोड ३३ लाख ४७ हजार शेयर पूँजी जम्मा गरेका छन् ।
त्यस्तै तरकारी तथा फलफूलमा ३३ हजार ९ सय १३ जनाले ५ करोड ५१ लाख ८२ हजार, चियामा ५ हजार ३ सय ८६ जनाले ३ करोड ९३ लाख ६० हजार शेयर पूँजी संकलन गरेका छन् । त्यस्तै कफीमा ४ हजार २ सय ७९ जनाले १ करोड २७ लाख ६७ हजार, जडिबुटीमा ४ हजार १ सय २९ जनाले २ करोड ४ लाख ३९ हजार, सञ्चारमा १२ हजार ६ सय ६३ जनाले १३ करोड २८ लाख ७४ हजार, स्वास्थ्यमा ९ हजार ८सय ८४ जनाले २६ करोड ३१ लख ९१ हजार, उखुमा २ हजार ३ सय ९९ जनाले ६१ लख ५९ हजार, जुनारमा १ हजार ४ सय १५ जनाले ९ लाख ८१ हजार लगानी गरेको सहकारी विभागको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै अन्य प्रकृतिका १ हजार १९ हजारमा १ लाख ४४ हजार २ सय ९ जना आबद्व भई ३९ करोड ९९ लाख ५६ हजार शेयर पूँजीको रुपमा सहकारीमा जम्मा गरेका छन् ।

नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ(नेफ्स्कुन)का महासचिव परितोष पौड्यालका अनुसार सहकारीमा शेयर पूँजी बढ्नु संस्थाको प्रगतीसँग जोडिएको बताउनुभयो । तर संस्थामा सन्तुलित विकास नभएमा त्यसले झन अफ्ठायरो पार्ने उहाँको भनाई छ ।
शेयर पूँजी सञ्चालक तथा शेयर सदस्यले नाफा या घाटा जे भएपनि बोर्होने शर्तमा राख्ने गर्छन् । महासचिव पौड्यालका अनुसार सहकारीले प्रगति नगर्ने तर शेयर पूँजी मात्र बढाएमा ठूलो संकतमा फस्न सक्ने उहाँको भनाई छ ।
विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले विगतका वर्षभन्दा पछिल्ला वर्षहरुमा सहकारीमा शेयर पूँजी बढ्नु सकारात्मक भएको बताउनुभयो । रजिष्ट्रार पौडेलका अनुसार सहकारीले शेयर पूँजी बढाउँदा संस्थालाई हित हुने बताउनुभयो । ‘धेरै शेयर पूँजी हुदाँ संस्थाले सजिलै काम गर्न सक्छ तर शेयर पूँजी बढी राखेर कुनै उत्पादनका काम नराख्दा संस्थाको प्रगति हुन सक्दैन्’ ।
त्यस्तै सहकारीले गत आर्थिक वर्षमा १ खर्ब ७२ अर्ब ५२ करोड ९३ लाख ५० हजार निक्षेप संकलन भई १ खर्ब ५४ अर्ब ४४ लाख ४९ लाख ३६ हजार ऋण परिचालन भएको छ ।
सहकारी विभागका कृषि विज्ञ विष्णु घिमिरेले सहकारीले पछिल्लो समयमा अपेक्षाकृतरुपमा लगानी गर्न नसकेको बताउनुभयो । ‘बचत हुनु मात्र राम्रो होइन, बचत परिचालन गर्न सकियो भने मात्र सहकारीले गति लिन सक्छ’ उहाँले भन्नुभयो । सहकारीले कुल ग्राहस्थ उत्पादनमा आफ्नो योगदान बढाउनका लागि कृषिलगायत उत्पादनशील क्षेत्रमा लगानी गर्नुको विकल्प नभएको उहाँको भनाई छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने