अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण भूमिका–उपराष्ट्रपति


 विराटनगर, पुस १ । उपराष्ट्रपति परमानन्द झाले सबल अर्थतन्त्र निर्माणमा सहकारीको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । सहकारीले नै आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याउनसक्ने उहाँको भनाई थियो । राष्ट्रिय सहकारी बैंक लिमिटेडको ११औँ वार्षिक साधारणसभाको अवसरमा बोल्दै झाले सहकारी जनताप्रति उत्तरदायी हुन अपरिहार्य भएको बताउनुभयो । सहकारीको माध्यमबाट प्रशस्त रोजगारी सिर्जना गर्न सकिने भन्दै त्यसतर्फ भूमिका खेल्न बैंकसँग उहाँको आग्रह थियो । युवा रोजगारका लागि विदेश पलायन भइरहेकाले सहकारीमार्फत स्वरोजगारको व्यवस्था, सहज ढङ्गले निमुखा वर्गलाई ऋण उपलब्ध गराएर आत्मनिर्भर बनाउने तर्फ जोड दिनुपर्ने उहाँको भनाई थियो । उपराष्ट्रपति झाले ग्रामीण जनताले पनि आफ्नो उन्नतिका लागि सहकारीमार्फत आर्थिक क्रियाकलाप गर्ने भएकाले सहकारीलाई बढीभन्दा बढी ग्रामीणमुखी हुनुपर्नेमा जोड दिनुभयो । नेपाल राष्ट्र बैंकका गर्भनर डा युवराज खतिवडाले सामाजिक र आर्थिक क्षेत्रमा क्रान्तिकारी रुपान्तर ल्याउनमा सहकारी अगाडि बढिरहेको भए पनि राष्ट्रिय सहकारी बैंकमा अर्बौं रुपैयाँको निक्षेपको सदुपयोग हुन नसकेको बताउदै यसको कार्यदिशा स्पष्ट बनाउन छुट्टै कानुन बनाउनुपर्ने बताउनुभयो । राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष एवम् सभासद् केशव बडालले सहकारीको दर्शन, मूल्यमान्यता विपरीत कार्य गर्ने र बढी ब्याजको प्रलोभन दिने सहकारीमा रकम जम्मा नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले प्रतिवेदन प्रस्तुत गर्दे मुलुकमा ३१ हजार सहकारी संस्थाका माध्यमबाट ३०० अर्बको कारोबार भएको र यस बैंकको सेयर पुँजी ६६ करोड पुगेको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उच्च स्तरीय पर्ल्स अनुगमन तालिम सञ्चालन
कृषि ऋणमा व्याज अनुदान सम्झौता
चमेली कल्याणकारी साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न
११ औं वार्षिक साधारण सभा सम्पन्‍न