आर्थिक विकासलाई अवरोध गर्नेहरु प्रतिगामी हुन ः अर्थमन्त्री डा महत


चितवन, पुस १ । अर्थमन्त्री डा रामशरण महतले वर्तमान सरकार जनतालाई राजनीतिक अधिकार दिन र जनताको जीवनस्तर माथि उकास्न प्रयत्नशील रहेको बताउनुभएको छ । चितवन उद्योग वाणिज्य संघको ४८ औं वार्षिक साधारणसभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

आर्थिक विकास नगरीकन जनताको जीवनस्तर माथि जान सक्दैन, उहाँले भन्नुभयो, वर्तमान सरकार जनताको जीवनस्तर माथि उकास्न साहसिक निर्णय गर्दै अगाडि बढिरहेको छ । आर्थिक उन्नतिका लागि बजारका संयन्त्रहरुलाई प्रभावकारी बनाउनै पर्छ ।
अर्थमन्त्री डा महतले जनताको जीवनस्तर माथि उठाउन सकिएन भने कुनै पनि व्यवस्था टिक्न नसक्ने बताउनुभयो । सो कार्यक्रममा उहाँले भन्नुभयो, अव आर्थिक क्रान्ति गर्नुपर्छ । आर्थिक क्षेत्रलाई अगाडि बढ्न नदिनेहरु प्रतिगामी हुन र आर्थिक एजेण्डालाई लिएर अगाडि बढ्नेहरु अग्रगामी हुन । जनताले पनि अव राम्ररी छुट्याउनुपर्छ ।
भोटेकोशी जलविद्युत आयोजनामा राजनीतिक दलहरुको अवरोधप्रति आक्रोश पोख्दै उहाँले भन्नुभयो, यस्तो विकासप्रतिको यस्तो कामले नेपालीलाई पछि धकेल्ने काम मात्र गर्छ । स्थानीय जनताका मागहरु पूरा गर्न सरकार प्रतिवद्ध छ । तर यस्तो विरोधले लगानीकर्ताहरु निरुत्साहित भै आर्थिक विकास नै अवरुद्ध हुन्छ । उहाँको भनाई थियो, अमेरिका मेहनतले बनेको हो र त्यहाँ यस्तो आन्दोलन हुँदैन । सिंगापुर जन्मेदेखि नै आन्दोलन भएको छैन । तर नेपालमा विभिन्न किसिमका अवरोधहरु र सानातिना मुद्दामा पनि आन्दोलन गर्नाले विकासमा अवरोध हुन पुगेको हो ।
मेहनत नगरी नहुने रहेछ भन्ने देखेर अहिले विदेशबाट फर्किएका युवाहरुले नमूनायोग्य कामहरुको शुरुवात गरेको भन्दै उहाँले तिनको प्रशंसा गर्नुभयो र अगाडि भन्नुभयो, आर्थिक गतिविधिहरुलाई बढाउने काममा युवाहरुले प्रभावकारी भूमिका निर्वाह गर्न थालेका छन । व्यवसायी बन्न थालेका छन । उहाँले आर्थिकरुपमा मुलुक अगाडि बढिसकेको उल्लेख गर्दै अवरोध नगर्न आग्रह गर्नुभयो र भन्नुभयो, यो जनतामाथिको घात हो र यसो गर्नु हुँदैन ।
आर्थिकरुपले धान्न सकिनेगरी संविधानमा संघीयताको व्यवस्था गरिने उल्लेख गर्दै उहाँले भन्नुभयो, संघीयता भनेको दूध र भात खाएजस्तो स्वादिलो हुँदैन । प्रशासनिक खर्च प्रशस्त हुन्छ र त्यसलाई धान्न जनतालाई नै करको बोझ थप्नुपर्ने हुन्छ । त्यसैले आजको अपरिपक्व निर्णयले फेरि पछि संघीयतालाई असफल बनाउनु हुँदैन । आर्थिकरुपले धान्न सकिनेगरी सीमित प्रान्तहरु हुनुपर्छ ।
धर्म निरपेक्षता भनेको धार्मिक स्वतन्त्रता भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, डर, धाक, धम्की र आर्थिक प्रलोभन देखाएर धर्म परिवर्तन गर्न पाइदैन । यो कानूनीरुपमा अपराध हो । कसैले धर्म परिवर्तनका लागि भन्दै हिडेको छ भने सरकारले कुटनीतिक च्यानलबाट त्यस्तो काम बन्द गर्न लगाउनेछ ।
सो कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण जोशीले चितवनको विकासका लागि कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा तथा सिर्जनात्मक पुँजी निर्माणका २२ वटा बूँदाहरु प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी सो अवसरमा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानवहादुर विसुरालले निजीक्षेत्रलाई बढावा दिने सरकार र अर्थमन्त्री भएकोले अर्थतन्त्रले गति लिने आशा व्यक्त गर्नुभयो । सो अवसरमा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुले पनि बोल्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले