म्याग्दीका सहकारीमा निक्षेप बढ्यो, लगानी हुन सकेन


म्याग्दी, पुस २ । म्याग्दीका सहकारीमा निक्षेप संकलन गर्नेक्रम बढेको छ । सहकारीले निक्षेप संकलन गरेपनि उचित तबरले गर्न नसक्दा समस्यामा पर्न थालेका छन् ।
म्याग्दीको ग्रामीण क्षेत्रमा रहेका सहकारी संस्था लगानी गर्न नसकेर समस्यामा परेका हुन् । निक्षेप संकलन गर्न समस्या नभएपनि गाउँगाउँमा सहकारी खुलेसँगै लगानी गर्ने वातावरण बन्न नसकेपछि सहकारीमा रकम थुर्पिएको हो । सर्वसाधारणको बचत गर्ने गरेपनि निक्षेप परिचालन हुन नसक्दा सहकारीमा तरलता बढ्दै गएको छ ।
ताकम, बिम, सिंगा तातोपानी, दरबाङ, बाबियाचौर, भुरुङ तातोपानीलगायत ग्रामीण क्षेत्रमा सञ्चालित सहकारी संस्थाले लगानीको सीमित क्षेत्र हुँदा समस्या भएको बताइएको छ । २२ लाख ३५ हजार रुपैयाँ सेयर पुँजी रहेको ताकमको अन्नपूर्ण व्यावसायिक कृषि सहकारी संस्थाले गत आर्थिक वर्षमा रु ४८ लाख ६० हजार निक्षेप, रु ५० लाख ४७ हजार लगानी गरेको थियो भने २० लाखको हाराहारीमा लगानी नभई संस्थामै थुर्पिएको छ ।
यसैगरी गत आर्थिक वर्षमामात्र रु पाँच करोड ३६ हजार निक्षेप सङ्कलन गरेको ताकम बहुउद्देश्यीय सहकारी संस्थाले रु दुई करोड २४ लाख १२ हजारमात्र लगानी गर्न सकेको थियो ।
कृषि, पशुपालन, व्यापार व्यवसाय र वैदेशिक रोजगारीमा लगानी हुने गरेको बताउँदै गाउँमा धितो राखिने घर जग्गाको मूल्याङ्कन कम हुनाले जोखिम बढी हुने गरेको ताकम बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक गोपाल आचार्यले गाउँका केही सहकारीले पेन्सनपट्टा धितो राख्ने गरे पनि असुरक्षाका कारण सुन धितो राखेर कर्जा प्रवाह गर्न सकेका बताउनुभयो । बैंकमा भन्दा बढी ब्याज पाइने भएकाले सर्वसाधारणले सहकारीमा पैसा बचत गर्न आकर्षित भएका छन् ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक समितिका सदस्य रामबहादुर जिसीले ग्रामीण क्षेत्रका सहकारीले लगानीको नयाँ क्षेत्र पहिचान र विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।
विशेष गरेर तरकारी, फलफूल खेती, पशुपालन र उद्यम व्यवसायमा कर्जा प्रवाह गराउन प्राथमिकता दिएमा रोजगारी सिर्जनाको साथमा गाउँमा आर्थिक गतिविधि बढ्ने जिसीको भनाइ छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने