महिलाहरुमा सहयोग र सहकार्यको भावना प्रचुर छ


– अमरावती महर्जन
कार्यकारी अध्यक्ष
उपसना बचत तथा ऋण सहकारी संस्था
सितापाइला, काठमाडौं ।
१. नेपाली परिवेशमा सहकारीको नेतृत्वमा आउन महिलालाई के कस्तो चुनौती छन् ?
नेपाल पितृसत्तात्मक मुलुक हुनाले यहाँ सदियौंदेखि महिलालाई दोस्रो दर्जामा राख्ने गरिन्छ । तर, त्यसो भन्दैमा महिलाहरु अझै पनि घरमै सिमित छन् भन्ने होइन । एक्काइसौं शताब्दीमा आएर धेरै महिलाहरु निर्णायक भूमिकामा आइसकेका छन् , मानिसहरुको सोचाईमा पनि धेरै परिवर्तन आएको छ । पुरुष दाजुभाइहरुले सहयोग गरेर नै धेरै महिला दिदीबहिनीहरु अगाडि बढ्नु भएको छ,  तर पनि महिलालाई हेर्ने सामाजिक र राष्ट्रिय दृष्टिकोण नै अलि पक्षपाती छ हामीकहाँ ।  सहकारी भनेको सहकार्यमा चल्ने संस्था भए तापनि धेरैले महिलालाई कम प्रतिभाशाली र कमजोर रुपमा लिई असहयोग गर्ने भएकाले महिलाको लागि अलि कठिन नै छ  ।  तर पनि चुनौतीभित्र समाधान खोज्ने काम गर्नसके एकदिन अवश्य सफल भइन्छ ।
२. महिलाहरुले मात्र सहकारी सञ्चालन गर्दा हुने सरल र अप्ठ्यारो पक्षहरुबारे बताइदिनुहोस न !
सरल पक्षको चर्चा गर्नुपर्दा महिला दिदीबहिनीहरुसँग काम गर्दा सहज वातावरणमा काम गर्न सकिने मैले पाएँ । अधिकांश महिलाहरुमा सहयोग र सहकार्यको भावना प्रचुर मात्रामा पाएको छु । साथसाथै पुरुष साथीहरुभन्दा अलि बढी नै लचिलोपना र सहयोगी भावना पाइन्छ । यो सरल पक्ष हो । तर कतिपय अवस्थामा हाम्रो सामाजिक परिवेशमा महिलालाई दोस्रो दर्जाको नागरिकका रुपमा व्यवहार गरिने गरेको र त्यो जब्बर मानसिकता अझै पनि हटिनसकेको हुँदा केही अप्ठ्यारो पर्ने गरेको छ ।
३. तपाईले काठमाडौं क्षेत्र नं. ८ को नेशनल को-अपरेर्टस एलाइन्सको पनि नेतृत्व गरिरहनु भएको छ, के गर्छ एन.सि.ए. ले ?
यो देशैभरिका सहकारीकर्मीको संगठन हो र काठमाडौं क्षेत्र नं. ८ भित्रको नेतृत्व मैले लिएको छु ।  यसले सहकारीैमा आबद्ध व्यक्तीहरूको क्षमता अभिबृद्धि गर्ने, नेतृत्व विकास गर्ने र  सहकारीको क्षेत्रमा देखिएका राजनीतिक हस्तक्षेपलगायतका विभिन्न विकृति र विसंगतिहरु सामुहिक रुपमा न्युनीकरण गर्ने काम गर्छ ।
???????????????????????????????४. सहकारी संघको नेतृत्वमा जान कत्तिको इच्छुक हुनुहुन्छ ?
इच्छा त नहुने कुरै भएन । तर इच्छा भन्दा पनि क्षमताको कुरा हो । यदि सहकारीकर्मीहरुले मसँग क्षमता देख्नुहुन्छ र नेतृत्वको लागि अघि सार्नुहुन्छ भने म सदैव तयार छु ।
५. तपाईले सहकारी क्षेत्रमा लागेर पाएका र गुमाएका कुराहरु केके हुन् ?
मैले गुमाएको केही पनि छैन । धेरै कुरा पाएको छु । सबैभन्दा ठूलो कुरा यो क्षेत्रमा लागेर मैले आत्मसन्तुष्टी पाएको छु ।
र अन्त्यमा म के पनि भन्न चाहन्छु भने हाम्रो समाजमा महिलाले नै महिलाको खेदो खन्ने जुन प्रवृत्ति छ, यो आम प्रवृत्तिका रुपमा देखिएको छ । यो पक्ष राम्रो होइन । अब हरेक महिलाले आफैंबाट यो प्रवृत्तिको अन्त्य गर्ने प्रयत्न गरौं । एकदिन हामी अवश्य यस अभियानमा सफल हुनेछौं । महिलाले महिलाको इज्वत गर्न सकेमात्र सुन्दर समाजको परिकल्पना गर्न सकिन्छ । यही अभियानमा लागौं भन्ने मेरो आम महिलालाई सन्देश छ ।

प्रस्तुती: माधव गौतम


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

को अपरेटिभ म्यानेजमेन्ट कोर्ष निर्माणका लागि सम्झौता
सहकारी क्षेत्रलाई अग्र पंक्तिमा राख्दै बुस्टर खोप उपलब्ध गराइने
काभ्रेली सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
बागमती प्रदेश सहकारी संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न