अर्थमन्त्री डा. महतद्वारा दक्षिण कोरियालाई पूर्वाधारका क्षेत्रमा लगानी बढाउन आग्रह


काठमाडौं, पुस ९ । अर्थमन्त्री डा रामशरण महत र दक्षिण कोरियाका राष्ट्रिय सभाका अध्यक्ष सुङ हि सुको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीबीच अर्थमन्त्रालयमा द्विपक्षीय हितका बिषयमा छलफल भयो ।

सो भेटघाटका अवसरमा अर्थमन्त्री डा महतले दक्षिण कोरियाको आर्थिक क्षमता राम्रो भएकोले नेपाललाई सहयोग बढाउन आग्रह गर्नुभयो । कोरियाले एक्जिम बैंकमार्फत नेपाललाई उपलब्ध गराउदै आएको सहयोग सानो भएको उल्लेख गर्दै उहाँले एउटा शुभेच्छुकका हैसियतले कोरियाले नेपाललाई सहयोग बढाउनुपर्ने बिचार राख्नुभएको थियो । अहिले नेपालले छिटो प्रतिफल दिने परियोजनाहरुमा सहयोगलाई सदुपयोग गर्न चाहेको बताउँदै अर्थमन्त्री डा महतले नेपालको प्राथमिकताका आयोजनाहरुमा सहयोग बढाउन कोरियािलाई आग्रह गर्नुभएको थियो । नेपालले विशेषगरी सडक, उर्जा र जलविद्युत जस्ता पूर्वाधारका क्षेत्रमा लगानी बढाइरहेको र यही क्षेत्रमा बढी साधन र स्रोतको खाँचो भएको पनि उहाँले बताउनुभएको थियो ।
उहाँले नेपालले कृषि, पर्यटन र जलविद्युतको द्रुत विकास गरी विकासशील मुलुकको दाँजोमा पुग्नेगरी यी क्षेत्रमा लगानी बढाइरहेको जानकारी दिनुभएको थियो । सो अवसरमा अर्थमन्त्री डा महतले छलफलमा सहभागी कोरियाका लगानीकर्ताहरुलाई नेपाल सरकारले ठूलो महत्वका साथ अगाडि सारेको निजगढको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लगानी गर्न आग्रह गर्नुभएको थियो । उहाँको भनाई थियो, नेपालले विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्ने नीति लिएको छ । त्यसैले तपाईहरुमार्फत म कोरियाका लगानीकर्ताहरुलाई पनि नेपालको विद्युत उत्पादन तथा विमानस्थल जस्ता पूर्वाधारका क्षेत्रमा लगानी गर्न आग्रह गर्न चाहन्छु । कोरियामा सफल कम्पनीहरुले नेपालमा अन्य उत्पादन तथा सेवा क्षेत्रमा लगानी गरेर पनि लाभ लिनसक्ने प्रचूर संभावना रहेको छ । सो अवसरमा नेपालमा हिन्दु र बौद्धको नमूना सम्मिलन भएको र नेपाल पर्यटकीय दृष्टिले आकर्षक गन्तब्यस्थल भएको चर्चा गर्दै अर्थमन्त्री डा महतले नेपाल भ्रमण गर्न पनि आग्रह गर्नुभएको थियो ।
सो अवसरमा दक्षिण कोरियाको राष्ट्रिय सभाका अध्यक्ष सुले हिमाली दृश्यावलोकन गरेको र नेपाल संसारमै सुन्दर मुलुक रहेको आफूले पाएको उल्लेख गर्नुभयो । नेपालले पर्यटन क्षेत्रको विकासबाट लाभ लिने विश्वास व्यक्त गर्नुभयो । कोरियाली लगानीकर्ताहरु नेपालको विकास निर्माणका क्षेत्रमा आउन चाहेको उल्लेख गर्दै उहाँले दुबै पक्षलाई लाभ पुग्ने क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिनुभयो । कोरियाले साठीको दशकमा लागू गरेको योजनावद्ध विकासले संसारको १२ औं ठूलो अर्थतन्त्रको रुपमा उदाएको जानकारी दिदै उहाँले नेपालले पनि योजनावद्ध विकास गरी छिटै समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । यसका लागि संसारमा नाम चलेका र कामले सिद्ध भएका परामर्शदाताहरुको सहयोग लिनुपर्ने उहाँको सुझाव थियो । छलफलका अवसरमा कोरियाका लगानीकर्ताहरुले नेपालमा लगानीका आकर्षक क्षेत्रका बारेमा जिज्ञासाहरु राखेका थिए । भेटघाट तथा छलफलका अवसरमा अर्थमन्त्रालयका सहसचिव तथा अर्थमन्त्रालयका अन्य कर्मचारीहरु र भ्रमण टोलीमा संलग्न कोरियाली लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले