अर्थमन्त्री डा. महतद्वारा पुँजीगत खर्च बढाउन निर्देशन


काठमाडौं, पुस १० ।अर्थमन्त्री डा रामशरण महतले गत बर्षको तुलनामा खर्चको बृद्धि राम्रो भएपनि सन्तोषजनक नभएको भन्दै बढाउन अर्थमन्त्रालय अन्तर्गतका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
अर्थमन्त्रालय अन्तर्गतको बजेट समीक्षा बैठकमा बोल्दै उहाँले सो निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, खर्चको बृद्धि प्रतिशत गत बर्षको तुलनामा विकास खर्च ३६ प्रतिशत र साधारण खर्च २० ले बढेको छ । यो बृद्धि प्रतिशत गत बर्षको तुलनामा राम्रो हो । तर हामीले चालु आर्थिक बर्षको विकास बजेट ११७ अर्ब खर्च गर्नुपर्छ । यो बार्षिक लक्ष्य अनुसार त कम नै छ । त्यसैले कामहरु छिटो गर्नुहोस । उहाँले नीतिगत अप्ठेराहरु केही छन भने समाधानका लागि तुरुन्त फाइल पेस गर्न निर्देशन दिनुभयो ।
कुनैपनि कामसँग सम्वन्धित फाइलहरु रोकेर नराख्नुहोस । उहाँले भन्नुभयो, तुरुन्त निर्णय गर्नुहोस । अर्थमन्त्री डा महतले चालु आर्थिक बर्षलाई नीतिगत सुधारको बर्ष भनेर घोषणा गरियो तर काम सुस्त भैरहेको भन्दै आर्थिक सुधारसँग सम्वन्धित कानूनहरुका सम्पूर्ण मस्यौदाहरु अव दुईहप्ताभित्रमा मन्त्रिपरिषदमा प्रस्तुत गर्न निर्देशन दिनुभयो । अर्थमन्त्री डा महतले भन्नुभयो, विकास निर्माण कार्यलाई सहयोग पु¥याउन र लगानीकर्ताहरुलाई आकर्षित गर्न बजेटमा घोषणा गरिएको हो । त्यसैले आर्थिक सुधारसँग सम्वन्धित कानूनहरुको मस्यौदा पेस गरिहाल्नुहोस । हिउँदे अधिवेशनमा पेस गर्नुपर्छ । कतिपय अत्यावश्यक छन भने अध्यादेशबाट ल्याउनुपर्ने हुन सक्छ । यो सरकारले निर्णय गर्नेछ । तर मस्यौदाहरु पेस गरिहाल्नुहोस । अर्थमन्त्री डा महतले यस्ता कानूनहरुका मस्यौदाका सम्वन्धमा अन्य मन्त्रालयहरुले राय माग गरेमा पनि तत्काल दिइहाल्न भन्नुभयो ।
छलफलका क्रममा बोल्दै अर्थमन्त्री डा महतले गैर आवासीय नेपालीहरुलाई सेयर बजारमा लगानी गर्न दिने र विदेशीलाई नेपालमा अपार्टमेन्ट खरिद गर्न दिने कानूनहरुको मस्यौदा तयारीमा भैरहेको ढिलाईबारे पनि प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, विदेशी बिनिमय नियन्त्रण गर्ने ऐन र विदेशमा लगानी प्रतिवन्ध लगाउने ऐनमा संशोधनका लागि राष्ट्र बैंकलाई आवश्यक सुझाव दिन सुझाउनुभयो ।
फाइल अड्काएर रोक्ने प्रबृत्तिलाई पूरै निरुत्साहित गर्न उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँको भनाई थियो, करदातालाई आवश्यक सम्मान गर्नुहोस । कर तिरेपछि उनीहरुले उचित सम्मान पाउनुपर्छ । अनावश्यकरुपमा उनीहरुका फाइलहरु कसैले पनि अड्काएर नराख्नुहोस । छिटो निर्णयहरु गर्नुहोस । अर्थमन्त्री डा महतले ६ प्रतिशत व्याजमा कृषि कर्जाको व्यवस्था बजेटमा घोषणा गरिएको र सरकारको यो महत्वपूर्ण कार्यक्रम भएको चर्चा गर्दै भन्नुभयो, ६ प्रतिशत व्याजमा कृषि ऋण पाउने व्यवस्थालाई छिटो कार्यान्वयन गर्नुहोस र उमेरको सीमा पनि बढाउनुहोस । मुख्य कुरा काम गर्ने जाँगरमा युवाको जस्तो जोस चाहिएको हो । उमेरको सीमा र बन्धन होइन । अवैध च्यानलबाट सुन आयात भएको हुन सक्ने आशंका गर्दै उहाँले यसमा कडा निगरानी राख्न र विदेशी मुद्रालाई औपचारिक च्यानलबाट भित्र्याउने सम्वन्धमा केही प्रोत्साहनका प्याकेज राख्न केन्द्रीय बैंक र अर्थमन्त्रालयका विभागहरुलाई निर्देशन दिनुभयो ।
ठूलो खर्च गर्ने क्षमता सरकारको नै रहेको चर्चा गर्दै उहाँले निर्धारित कार्यक्रमहरुमा जाने अर्थमन्त्रालयको खर्च बढाउन पनि निर्देशन दिनुभयो । अर्थमन्त्री डा महतले बिगुलमा प्राप्त जनगुनासोहरुलाई तत्काल सम्बोधन गर्न पनि निर्देशन पनि दिनुभएको थियो ।
कार्यक्रममा योजना आयोग, राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा समिति, निक्षेप तथा कर्जा सुरक्षण निगम, मन्त्रालय अन्तर्गतका सहसचिव तथा विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा स्वर्णिम वाग्लेले सन २०२१ सम्ममा नेपाल कम विकसितबाट विकासोन्मुख मुलुकको सूचीमा पुग्ने उल्लेख गर्दै भन्नुभयो, प्रतिव्यक्ति आम्दानीमा बृद्धिविनाको स्तरोन्नति भरपर्दो हुँदैन । उहाँले पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी अर्थसचिव सुमनप्रसाद शर्माले सेवा प्रवाहमा चुस्तता र पारदर्शिता ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले पुँजीगत खर्च बढाउन सक्रिय भूमिका निर्वाह गर्न कर्मचारहरुलाई निर्देशन दिनुभयो । त्यस्तै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेले पुँजीगत खर्च नबढेकोले सरकारको खातामा पैसा बढी हुँदै गएको र पुँजीगत खर्च कम भएपछि बैकिङ प्रणालीमा अधिक तरलता भएको जानकारी दिनुभयो ।
सो अवसरमा अर्थमन्त्रालय अनुगमन महाशाखाका प्रमुख कृष्णप्रसाद देवकोटाले गतबर्षको लक्ष्यभन्दा बढी भएपनि अर्थमन्त्रालयले अन्तर्गतको पुुँजीगत रकम बढी भएकोले खर्च बढाउनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले