बिन्धावासिनी सहकारीको २१ औं साधारणसभा सम्पन्न
सहकारीमार्फत दुर्तगतिमा आर्थिक विकास गर्न सकिने अर्थमन्त्रीको विश्वास


काभ्रे, पुस १३ । अर्थमन्त्री डा रामशरण महतले सहकारीमार्फत दुर्तगतिमा आर्थिक विकास गर्न सकिने बताउनुभएको छ । उहाँले सहकारीमार्फत कृषि र जलस्रोतमा हात हाल्न सके आर्थिक विकास हुन कुनै समय नलाग्ने बताउनुभएको हो ।
बनेपास्थित बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारण सभाको उद्घाटनका क्रममा उहाँले सो बिचार व्यक्त गर्नुभएको हो ।उहाँको भनाई थियो, सुनखानी त उत्खनन् गरेर झिक्दै जाँदा सकिन्छ । तर नेपालको पानीको अटुट स्रोत कहिल्यै सकिदैन । यसको उपयोग गर्नेमा कसैबाट अवरोध हुनुहुँदैन । पानीको सदुपयोगबाटै नेपालले विकासमा फड्को मार्नेछ ।
अहिले सरकारले जलस्रोतको चौतर्फी सदुपयोगमा जोड दिएको पनि उहाँले बताउनुभयो । अर्थमन्त्री डा महतले सरकारले दीर्घकालिन महत्वका साहसिक निर्णयहरु गरी जलविद्युतको विकासलाई अगाडि बढाइरहेको जानकारी दिनुभयो । मुलुकभित्रै संभावना धेरै भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, बिगतमा यसको उपयोग रोकिएको थियो । अहिले धमाधम निर्णयहरु भैरहेका छन । उहाँले नेपालको जलस्रोत, पर्यटन र कृषिमा युवाहरुलाई रोजगारी दिने शक्ति भएको र सरकारले युवाहरुलाई यी क्षेत्रमा सक्रिय गराउने अनुकूल नीतिहरु ल्याएको चर्चा गर्नुभयो । उहाँले जलविद्युतका क्षेत्रको प्रवद्र्धनका लागि विदेशी सहयोग र निजीक्षेत्रको लगानी ल्याउने प्रयास भैरहेको स्पष्ट पार्नुभयो । अहिले ठूलो मात्रामा यस क्षेत्रमा लगानी भैरहेको छ ।

binda basini
कृषि क्षेत्रको विकासबारे चर्चा गर्दै उहाँले भन्नुभयो, ६ प्रतिशत ब्याजमा कृषि कर्जाको व्यवस्था गरिएको छ । जुनसुकै वाणिज्य बैंकहरुबाट यस्तो कर्जा लिन सकिन्छ । उमेरहद पनि अहिले बढाइएको छ । यो एउटा मौका हो र यसलाई युवाहरु मात्र होइन सक्रिय जीवन बिताउने तथा युवा जोस जाँगर भएका बढी उमेरका किसानहरुले पनि सदुपयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
युवाहरु विदेश जान तयार छन तर स्वदेशमा मेहनत गर्न तयार छैनन भन्दै उहाँले अगाडि थप्नुभयो, संसारका कुनै देश पनि मेहनत नगरी अगाडि बढेका छैनन् । अहिले विदेश गएका र हालै स्वदेश फर्किएका युवाहरुले विदेशमा मेहनत गरेको सिकेर स्वदेशमा पनि कृषि तथा पशुपालन गर्न थालेका छन । सहकारी संस्थाहरुले कृषि क्षेत्रमा लागेर उत्पादन बढाउनुपर्नेमा जोड दिदै उहाँले भन्नुभयो, यसले मात्र बढ्दो आयात व्यापारलाई रोक्नेछ । व्यापारघाटा घटाउने मद्दत गर्नेछ । किसानले आफ्नो कृषि उपजको उचित मोल नपाएको र उपभोक्ताले पनि बढी मूल्य तिर्नुपरिरहेको गुनासो आफूले सुन्ने गरेको चर्चा गर्दै उहाँले सहकारीहरुले बजारहरुको निर्माण गरी कृषि उपज बजारीकरणमा ठोस भूमिका निर्वाह गर्न सक्ने र बिचौलिया प्रबृत्तिलाई निरुत्साहित गर्न सक्ने भएकोले यतातिर पनि ध्यान दिन आग्रह गर्नुभयो । कृषि क्षेत्रमा लाग्न प्रोत्साहन मिलोस भनेर यस क्षेत्रका सहकारीहरुलाई करमुक्त गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री डा महते सहरका केही सहकारी संस्थाहरुमा बिकृति देखापरेकोले सहकारीहरुको नियमनका लागि कानून निर्माण भैरहेको उहाँले जानकारी दिनुभएको थियो ।
सो अवसरमा सहकारी विभागका पूर्व रजिष्टार तथा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेले सदस्यहरुको नियन्त्रणमा भएका सहकारीहरुले राम्रो गरिरहेको र केही व्यक्तिको नियन्त्रणमा भएका सहकारीहरु मात्र अप्ठेरोमा परेको जानकारी दिनुभयो । उहाँले कृषिमा लागेर सहकारी संस्थाहरुले उत्पादन बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी सहकारी बोर्डका सहअध्यक्ष शरदकिशोर शर्माले आन्तरिक उत्पादन बढाएर शहकारी संस्थाहरुले आयात प्रतिस्थापन गर्न सक्ने धारणा राख्नुभयो । कार्यक्रममा अर्का वक्ता बचत तथा ऋण केन्द्रीय सहकारी संस्थाका अध्यक्ष ऋषिराज घिमिरेले सहकारी संस्थाहरुलाई लाग्ने करमा केही कमी ल्याउनसके असूली बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रदीप थापाले सदस्यहरुको बढ्दो आवश्यकतालाई दृष्टिगत गरी सामूहिक व्यवसायमा जोड दिएको सहायक कृषि सहकारी स्थापना गरी कृषि क्षेत्रमा काम गर्न थालिएको जानकारी दिनुभएको थियो भने सचिव रामशरण भण्डारीले सस्थाले चालु आर्थिक बर्षमा रु एक अर्ब १३ करोड बचत संकलन गर्ने लक्ष्य राखेको जानकारी दिनुभएको थियो । सो अवसरमा दिइएको जानकारी अनुसार यस संस्थामा करिब २३ हजार सदस्य रहेको र झण्डै आधाजसो महिला सदस्य रहेका छन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नुवाकोट सहकारी संघ मन्त्रालयमा दर्ता
प्रतिबिम्ब साकोसको आयोजनामा दोस्रो पाम वर्कशप सम्पन्‍न
वित्तीय साक्षरता तालिम सम्पन्‍न
हिमचुली साकोस गोरखाको रजत महोत्सव सम्पन्न