जनताको जीवनस्तर माथि उकास्न आर्थिक पुनर्जागरण ः अर्थमन्त्री डा महत


बिराटनगर, पुस १६ । अर्थमन्त्री डा रामशरण महतले जनताको जीवनस्तर माथि उकास्न र मुलुकको द्रुततर आर्थिक विकास गर्न आर्थिक पुनर्जागरण आवश्यक भएको बिचार व्यक्त गर्नुभएको छ । बिराटनगरमा आयोजित पूर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रममा बोल्दै उहाँले सो बिचार व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, कुनैपनि बाहनामा बन्द वा अवरोधका गतिविधिहरु हुनुहुँदैन । मुलुकलाई बर्षौ पछि धकेल्ने यस्ता गतिविधिहरुलाई पूर्णरुपमा अस्वीकार गर्नुपर्छ ।
विकासका एजेण्डा र आर्थिक एजेण्डालाई सबैले प्राथमिकतामा राख्नुपर्छ, उहाँले कार्यक्रममा भन्नुभयो, संसारको एजेण्डा नै आर्थिक हो । आर्थिक एजेण्डामा ध्यान नदिने हो भने संसारभन्दा हामी धेरैपछि पर्छौ । गुणस्तरीय उत्पादनका लागि अहिले संसारको बजार प्राप्त गर्न सकिने उल्लेख गर्दै अर्थमन्त्री डा महतले भन्नुभयो, आर्थिक हिसावले हामी अहिले सिमानारहित संसारमा छौं । गुणस्तरीय उत्पादनले संसारको बजार लिन सक्छ । यसका लागि निजीक्षेत्रलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग उपलब्ध गराउन सरकार तयार छ ।
दक्षिण एसिया स्वतन्त्र व्यापार क्षेत्रमा प्रवेश गरिसकेकोले नेपालमा लगानी गरेर यस क्षेत्रको ठूलो बजार प्राप्त गर्न सकिने उल्लेख गर्दै अर्थमन्त्री डा महतले भन्नुभयो, मैले चीनका मन्त्रीहरुसँग नेपालमा लगानी गरेर दक्षिण एसियाको ठूलो बजार प्राप्त गर्न सकिने संभावनाबारे भनेको छु । त्यतिमात्र होइन, नेपालमा उत्पादित बस्तुले युरोप अमेरिका लगायतका देशहरुमा समेत भन्साररहित प्रवेश पाउँछन । नेपालमा लगानी गरेर चीनले विश्व बजारको पहुँच पाउँछ । यसले नेपालमा उत्पादित बस्तुलाई विश्व बजारमा प्रतिस्पर्धी हुन मद्दत गर्छ । चीनका मात्र होइन अहिले भारतका लगानीकर्ताहरु पनि नेपालमा लगानी गर्न उत्साहित छन ।
सरकारले आर्थिक विकासलाई अगाडि बढाउनकै लागि दूरगामी महत्वका निर्णयहरु गरिरहेको जानकारी दिदै अर्थमन्त्रीले लगानीको वातावरण विथोल्ने प्रयास कही कतैबाट नहुने हो भने नेपालले आर्थिक विकासमा छिटै ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको छिमेकीहरुसँगको व्यापारघाटा धेरै भएको उल्लेख गर्दै नेपालले जलविद्युतको उत्पादन गरी निर्यात नगरुन्जेलसम्म भारत र चीनले समेत विशेष सुविधा दिनुपर्ने कुरा पनि आफूले त्यहाँका नेताहरुसँगको भेटमा राखेको स्मरण गर्नुभयो । सो अवसरमा उहाँले यो सरकार बनेपछि लगानीको वातावरणमा ठूलो सुधार आएको बताउनुभयो र भन्नुभयो, जलविद्युतका क्षेत्रमा ठूलो लगानी आएको छ । त्यस्तै पर्यटन क्षेत्रमा पनि ठूलो लगानी आएको छ । होटल, विमान कम्पनीहरु समेत खुलिरहेका छन । लगानी बोर्डले झण्डै ५० अर्ब रुपैयाँ बराबरको सिमेन्ट उद्योग खोल्ने रिलायन्सको प्रस्तावलाई हालै स्वीकृत गरिसकेको छ । आगामी दिनमा थप लगानी आउने तयारी भैरहेको छ ।
सन १९९६ को नेपाल भारत वाणिज्य सन्धिपछि नेपालको भारत निर्यात बढेको तर सन्धिको केही बर्षपछि संशोधन भएकोले नेपालको भारत निर्यातमा प्रतिकूल असर परेको उहाँको भनाई थियो । नेपालको भारतसँगको व्यापारघाटा धान्न नसकिने अवस्थामा पुगेको भन्दै उहाँले भारतसँग यसमा नेपाली बस्तुको निर्यातमा सदासयी व्यवहारको अपेक्षा गरेको बताउनुभयो । अर्थमन्त्री डा महतले भन्नुभयो, नेपालबाट निर्यात बढाउनका लागि सरकारले केही प्रोत्साहन बढाउने तयारी गरिरहेको छ । यसमा निजीक्षेत्रका केही सुझाव छन भने शीघ्र उपलब्ध गराउनुहोस । सरकारले सकेसम्म सम्बोधन गर्नेछ । निर्यातलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन जस्तोसुकै सुविधा दिन सरकार तयार छ । तर सुविधा दिएपछि निर्यात बढ्नुपर्छ र नेपालको व्यापारघाटा घट्नुपर्छ ।
आर्थिकरुपले मुलुक विभाजित हुन नसक्ने भन्दै उहाँले भन्नुभयो, आर्थिकरुपले मुलुक एउटै र एकीकृत हुनुपर्छ । पहाड र तराईको आर्थिक सम्वन्धलाई तोडेर संघीयतामा जानु हुँदैन । कतिपय राजनीतिक मुद्दामा दलीय स्वार्थभन्दा माथि उठेर निर्णय गर्नुपर्नेमा जोड दिदै अर्थमन्त्री डा महतले आर्थिक विकासलाई संविधानको बन्धक बनाउन नहुने बताउनुभयो । संविधानका बारेमा बोल्दै उहाँले भन्नुभयो, मूलकुरा सहमतिमा जानुपर्छ । सहमति नभएका बिषयहरुलाई प्रक्रियामा लगेर टुंग्याउनुपर्छ । अझ विवाद रहेमा तिनलाई थाती राखेर भएपनि संविधान जारी गर्नुपर्छ ।
सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले सरकारले पुँजी खर्च बढाउनुपर्ने माग गर्दै आर्थिक विकासका लागि सरकारी काममा हुने गरेको ढिलासुस्ती हटाउनुपर्ने सुझाव दिनुभयो । महासंघका उपाध्यक्ष किशोर प्रधानले पूर्वाञ्चलको विकासको लागि कोशी किमाथांका सडक शीघ्र बन्नुपर्ने उल्लेख गर्नुभयो । सो अवसरमा पूर्वाञ्चल उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष टंक दुलालले करसम्वन्धी मुद्दाहरुको छिनाफानो गर्न कर फछा्र्योट आयोग शीघ्र गठन गरिनुपर्ने माग गर्नुभयो । कार्यक्रममा संघका पूर्व कार्यबाहक अध्यक्ष राजेन्द्र राउत, इटहरि उद्योग वाणिज्य संघका अध्यक्ष रोहित शर्मा, मोरङ्ग व्यापार संघका अध्यक्ष पवन शारडा लगायतका वक्ताहरुले बोल्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले