राप्ती बढ्दै कृषि सहकारी
अनुदानमा मात्र सीमित भएको आरोप


दाङ पुस १८ । राप्तीमा कृषि सहकारी दर्ता क्रम बढेको छ । कृषिक्षेत्रमा सामुहिक तबरले काम गर्ने हेतुले कृषि सहकारी दर्ता बढेको हो ।
राप्तीका पाँच जिल्लामध्ये दाङमा बढी कृषि सहकारी दर्ता भएका छन् । कृषि सहकारी दर्ता क्रम बढेसँगै कृषि सहकारीले आरोप खेप्न थालेका छन् । सरकारको अनुदान पाउने उद्देश्य राखेर कृषि सहकारी संस्था दर्ता गर्ने क्रम बढेको बताइन्छ । राजनीतिक दलको अगुवाइमा सहकारी दर्ता गरी अनुदानमा मात्र फोकस गर्ने गरेको डिभिजन सहकारी कार्यालय दाङले जनाएको छ । । दलविशेषले आफ्नो पार्टी सरकारमा पुगेको बेला ‘राजनीतिक पँहुचका आधारमा ती सहकारीलाई अनुदानसमेत दिलाउने गरेका छन् ।
‘पछिल्लो समय दर्ता भएका करीब २० प्रतिशत सहकारी राजनीतिक दलका कार्यकर्ता मिलेर गठन भएका छन्,’ डिभिजन सहकारी कार्यालय, दाङका पूर्वप्रमुख नारायण श्रेष्ठले भन्नुभयो, ‘वास्तविक रूपमा कृषिक्षेत्रमै काम गर्ने उद्देश्यसहित दर्ता भएका सहकारी राम्रैसँग सञ्चालन भएका छन् ।’
राजनीतिक दलको पहुँचका आधारमा अनुदान प्राप्त गर्न चाहनेहरू सीमित समयका लागि मात्र राम्रोसँग सञ्चालन हुने गरेको उहाँको भनाइ छ । सम्पूर्ण प्रक्रिया पूरा गरेर आउने भएकाले ती सहकारीलाई दर्ता हुनबाट रोक्न नसकिने श्रेष्ठको भनाइ छ ।
यद्यपि, राप्तीमा सरकारको अनुदान पाउन नसकेका कृषि सहकारीको अवस्था चिन्ताजनक देखिएको डिभिजन कार्यालयका कर्मचारी बताउँछन् । ग्रामीण क्षेत्रमा स्थापना भएका अधिकांश सहकारी अनुदानमा निर्भर भएको उनीहरूको भनाइ छ । सरकारको अनुदान नपाएका र अनुदानको मल विक्री गर्ने अवसर नपाएका कृषि सहकारीको अवस्था चिन्ताजनक रहेको उनीहरूले बताए ।
सहकारीलाई सरकारले अनुदान बढाउनुपर्ने कृषि सहकारी सङ्घका अध्यक्ष गोविन्द शर्माको भनाइ छ । ‘सङ्घमा आबद्ध सबैजसो सहकारी आत्मनिर्भर हुँदै छन्,’ उहाँले भन्नुभयो, ‘सबै सहकारी गलत नियतले दर्ता भएका छन् भन्न मिल्दैन ।’
राप्तीमा हालसम्म १ हजार १ सय ५९ ओटा सहकारी दर्ता भएका छन् । तीमध्ये ४ सय ६३ ओटा कृषि सहकारी भएको कार्यालयले बताएको छ । कार्यालयका अनुसार विषयगत २४, बचत ३ सय ८४, उपभोक्ता ९७, बहुउद्देश्यीय ६१ र ३६ ओटा सामाजिक उद्यमी सहकारी दर्ता भएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन