सहकारी एकीकृत सञ्चालन प्रणाली र एकीकरण प्रक्रियामा जानुपर्नेमा जोड


सिमरा,  पुस १९  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले मुलुकको सहकारी अभियानलाई विकृतिरहित र गुणात्मक बनाउन एकीकृत सञ्चालन प्रणाली र एकीकरण प्रक्रियामा लैजानु जरुरी रहेको बताउनुभयो ।

आज बाराको कलैयास्थित धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको छैटौं र ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभामा बोल्दै पौडेलले उक्त कुरा बताउनुभएको हो । पौडेलले शहर र विकसित समाजमा बचत तथा ऋण सहकारी संस्थाहरुको संख्या धेरै भएर अनि अस्वस्थ प्रतिस्पर्धा, व्याजदर र सञ्चालन प्रणालीमा अनेकता देखिएकोले समस्याहरु देखा परेका छन । कतिपय गांऊमा सहकारी संस्थाहरुको प्रभाव पुग्न सकेको छैन । सहकारीहरुलाई गुणात्मक र जोखिमरहित बनाउन नेफ्स्कूनले नीतिगत केन्द्रीयता र सञ्चालन स्वायत्तताको अवधारणा प्रस्तुत गरेको पौडेलले बताउनु भयो । सहकारी संस्थाहरु सामुदायिक संस्था भएकोले त्यसको सञ्चालन र व्यवस्थापनमा सञ्चालकहरु जिम्मेवार हुनुपर्ने र नागरिक समुदायले सहभागिता र खवरदारी गर्न जरुरी रहेको पौडेलले बताउनुभयो ।

धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेश राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, डिभिजन सहकारी कार्यालयका प्रमुख कुलोत्तम पोखरेल, बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरी, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव सत्तेन्द्र ठाकुरलगायतले बोल्नु भएको थियो । संस्थाका उत्कृष्ट सदस्यहरुलाई नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेल र संस्थाका अध्यक्ष राजेश राय यादवले सम्मान गर्नु भएको थियो ।

उदघाटन समारोहपछि आयोजित बन्दसत्रले राजेश राय यादवको अध्यक्षतामा नयां सञ्चालक समिति गठन गरेको छ । सञ्चालक समितिको उपाध्यक्ष सञ्जय गुप्ता, सचिव निवेश तिमल्सेना, कोषाध्यक्ष श्याम खेतान र सञ्चालकहरु राजकुमार साह, सन्तुप्रसाद साह र श्री निवास राउत सर्वसम्मत रुपमा चयन गरेको छ । त्यसैगरी लेखा समितिमा संयोजक राजकुमारप्रसाद साह र सदस्यहरु मुक्ताक अन्सारी र भोला राय प्रसाद यादव चयन हुनुभएको छ । छ वर्षअघि स्थापना भएको संस्थामा हाल छ सय सदस्यहरुवीच चार करोडको कारोवार भई रहेको छ ।

त्यस्तै रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभाले उमेशचन्द्र यादवको अध्यक्षतामा नयां सञ्चालक समिति गठन गरेको छ । तीन वर्षअघि स्थापना भएको रिद्धिसिद्धी बचत तथा ऋण सहकारी संस्थामा दुई सय सदस्यहरुले एक करोडको कारोवार गरिरहेका छन ।

आजै निजगढमा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतमको प्रमुख आतिथ्यतामा नवतारा बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुशिलराज मैनालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने