अर्थमन्त्री डा महतद्वारा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं तराई द्रुत राजमार्गको अवलोकन
अन्तर्राष्ट्रिय विमानस्थल र द्रुत राजमार्ग उच्च प्राथमिकतामा ः अर्थमन्त्री डा महत


काठमाडौं, पुस २० । अर्थमन्त्री डा रामशरण महतले शनिबार बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं तराई द्रुत राजमार्गको अवलोकन गर्नुभयो ।

विकास निर्माणलाई रफ्तारमा लैजाने सोचका साथ उहाँले आयोजनाहरुको स्थलगत भ्रमणको सिलसिला शुरु गर्नुभएको हो । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटनमा र काठमाडौं तराई द्रुत राजमार्गको निर्माणले माल सामान ढुवानीमा क्रान्तिकारी सुधार ल्याउने भन्दै उहाँले बजेटमा यी दुवै आयोजनालाई उच्च प्राथमिकतामा राख्नुभएको थियो । चालु आर्थिक बर्षको बजेटमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूर्वका काम पूरा गर्न र बस्ती स्थानान्तरणका लागि ५० करोड रुपैयाँ बिनियोजन गरिएको छ । त्यस्तै काठमाडौं तराई द्रुत राजमार्गको निर्माणलाई पनि उच्च प्राथमिकतामा राखी निर्माण शुरुवात यसै बर्ष गर्ने उद्घोषका साथ निर्माण पूर्वका काम सक्न २५ करोड रुपैयाँ छुट्याइएको छ ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि गढीमाई नगरपालिकामा पर्ने टाँगीबस्तीलाई स्थानान्तरण गर्नुपर्ने हुन्छ । यो द्रुतमार्गलाई निर्माण, सञ्चालन र हस्तान्तरण बूट प्रक्रिया अन्तर्गत निर्माण गर्न बोलपत्र आह्वान गरिसकिएको छ र अहिले प्राविधिक प्रस्ताव स्वीकृत भै छनौट भएका दुबैको आर्थिक प्रस्तावलाई अन्तिम रुप दिने तयारी भैरहेको छ ।
स्थानीय पार्टी नेता तथा कार्यकर्ताहरुलाई आश्वस्त पार्दै उहाँले यी दुबै आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको र जुनसुकै हालतमा निर्धारित समयभित्रै निर्माण हुने बताउनुभएको थियो ।
यसैबीच जीतपुरस्थित सञ्जिवनी बाटिका बृद्धाश्रममा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै अर्थमन्त्री डा महतले विमानस्थल, द्रुतमार्ग र विशेष आर्थिक क्षेत्रको निर्माणपछि यसक्षेत्रको विकासले फड्को मार्ने बताउनुभयो । बिमानस्थल र द्रुतमार्ग निर्माणका लागि अन्तर्राष्ट्रिय लगानीकर्ताहरुले चासो देखाएको उल्लेख गर्दै उहाँले लगानी जुटेन भने सरकार आफैले पनि यी आयोजनालाई समयमै सम्पन्न गर्ने बताउनुभयो ।
विमानस्थलका लागि जग्गा अधिग्रहणको काम शुरु गरिहाल्न आफूले सम्वन्धित मन्त्रालयका सचिवहरुलाई मन्त्रालयमा बोलाएर निर्देशन दिइसकेको उहाँले स्पष्ट पार्नुभयो । उहाँको भनाई थियो, बजेटको अभाव हुँदैन, छुट्याएको बजेटबाट काम थालिहाल्नुहोस भनेर भनिसकेको छु ।
उहाँले विकास निर्माणका काममा एकदिन पनि ढिलाई हुन नहुने कुरा बताउँदै दिनरात लागेर काम गर्न कर्मचारीहरुलाई निर्देश गर्नुभयो । उहाँको भनाई थियो, विकास निर्माणमा एकदिनको ढिलाई पनि आर्थिक अपराध हो । सोही अवसरमा उहाँले नेपालको सुनखानीभन्दा पनि महंगो पानी सित्तैमा खेर जानु पनि आर्थिक अपराध हो भन्दै यसको प्रयोगमा हुने बाधा अवरोधहरु सरकारलाई असह्य हुने बताउनुभयो ।
कर छुट दिएर लगानीलाई प्रोत्साहित गरिएको र अहिले लगानीकर्ताहरु आउन थालेको बताउँदै अर्थमन्त्री डा महतले स्थानीय उद्योगपति व्यापारीहरुलाई पनि निर्धक्क भै लगानी गर्न आग्रह गर्नुभयो ।
करका समस्याहरुको समाधानका लागि पुस मसान्तभरी मिसम्याच समस्याको हकमा आयकरमा २ प्रतिशत र भ्याटमा ३ प्रतिशत रकम चुक्ता गरी फरफारक गर्न अवसर दिइएको उल्लेख गर्दै उहाँले यो मौकाको फाइदा लिन उद्योगपति व्यापारीहरुलाई आग्रह गर्नुभयो ।
युवाहरुले स्वदेशमै कामका प्रशस्त अवसर पाउँने स्थिति सिर्जना भएको भन्दै अर्थमन्त्री डा महतले अन्य देशहरुको विकास निर्माण र देशको रक्षाको लागि बगाएको खून, पसिना र उर्जा देश निर्माणमा लगाउन आग्रह गर्नुभयो । संबिधान निर्माणबारे बोल्दै उहाँले भन्नुभयो, चुनावमा जनतासमक्ष जाँदा घोषणापत्रमा गरेको बाचा अनुरुप मत अभिव्यक्त भएको छ । त्यसै अनुरुप अव प्रक्रियामा गएर भएपनि संबिधानको मस्यौदा जारी गर्नैपर्छ । कानून र बिधिलाई मिचेर संबिधानसभाबाहिर बलमिच्याई गरेर अवरोध गरिनुहुँदैन । कांग्रेसले बिधिलाई तोड्ने काम कहिल्यै गर्दैन ।
सो अवसरमा उहाँले गढिमाई नगरपालिकका बृद्ध बृद्धाहरुलाई सम्मानस्वरुप माला लगाउनुभयो र एक एक वटा कम्मल बितरण गर्नुभयो । त्यसैगरी उहाँले सञ्जिवनी बाटिका बृद्धाश्रमलाई सहयोग गर्ने दाताहरुदलाई पनि सम्मान तथा कदरपत्र प्रदान गर्नुभएको थियो ।
सो अवसरमा पूर्वमन्त्री फरमुल्लाह मन्सुरले बारा र पर्शाका जनप्रतिनिधिहरुले एकसाथ र एक आवाज निकालेर विमानस्थल तथा द्रुतमार्ग निर्माणमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले