कृषि कर्जा सहज बन्नेगरी निर्देशिका चाँडै आउँदैछ ः अर्थमन्त्री डा महत


अर्थमन्त्री डा रामशरण महतले कृषि कर्जा प्राप्तिलाई सरलीकरण गरी कृषि कर्जा निर्देशिका ल्याउन लागिएको बताउनुभएको छ । चितवनमा आयोजना गरिएको पशुपालन तथा दुग्ध उत्पादन व्यवसायको संभावना र चुनौती विषयक राष्ट्रिय कार्यशालामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
आफू पहिला पनि उमेरको सीमा बढी हुनुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, विभिन्न पार्टी, कर्मचारी, राष्ट्र बैंक सबैले उमेरको सीमा ४५ बर्षसम्म राख्न सुझाव दिए । तर म किसानको उमेरलाई उसको काम गर्ने सक्रियतासँग जोड्न चाहन्छु । सक्रिय किसानलाई कर्जा दिनुपर्छ र यसमा उमेरको सीमा बढाउनुपर्छ । अहिले सुझाव दिने सबैलाई यस कुराको महसूस भएको बताउँदै उहाँले चाँडै नै मन्त्रिपरिषदमा लगेर यसलाई स्वीकृत गरिने जानकारी दिनुभयो । उहाँले कर्जा रकमको सीमालाई भने कर्जा उपभोगको स्थितिलाई हेरेर गर्न सकिने बताउनुभयो ।
राष्ट्रिय व्यवसायिक पशुपालक तथा दुग्ध उत्पादक कृषक समाज केन्द्रीय तदर्थ समितिले आयोजना गरेको उक्त कार्यक्रममा अर्थमन्त्री डा महतले कृषि तथा पशुपालनमा अहिले बिगतमा कहिल्यै नदिइएको सुविधा दिइएको बताउनुभयो र किसानहरुलाई त्यसको सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँको भनाई थियो, कुनै समस्या भए समाधान गर्न सरकार तत्पर छ । निर्वाहमूखीको सट्टा व्यवसायिक कृषि तथा पशुपालन गर्नुहोस । चालु आर्थिक बर्षको बजेटमा कृषि तथा पशुपालनको लागि बिगतमा कहिल्यै नदिइएको सुविधा घोषणा गरिएको छ । थप सुविधा आवश्यक परेपनि सरकार सधै सकारात्मक सोचका साथ अगाडि बढ्न तयार छ ।
परम्परागत कृषि होइन, अव यसलाई व्यवसायिक बनाउनुहोस । अर्थमन्त्री डा महतले भन्नुभयो, दक्षिण एसियाको ठूलो बजार हामीले प्राप्त गर्न सक्छौं । यसका लागि हाम्रा कृषि उत्पादनहरु गुणस्तरीय हुनुपर्छ । गुणस्तरीय भएमा अन्य देशमा समेत निर्यात हुन सक्छ । उहाँले केही नेपाली कृषि उपजले अहिले पनि विश्व बजारमा प्रतिस्पर्धा गरिरहेको जानकारी दिदै भन्नुभयो, कसले सोचेको थियो, कफी निर्यात हुन्छ । अलैची निर्यात हुन्छ । अदुवा निर्यात हुन्छ ।
नेपालको सीमित भूगोलमा यति धेरै विविधता दुर्लभ भएको चर्चा गर्दै अर्थमन्त्री डा महतले भन्नुभयो, जस्तोसुकै कृषि उपज उत्पादन हुनसक्छ, जुनसुकै किसिमको पशुपालन संभव छ । त्यसैले कृषि क्षेत्रलाई बढावा दिन सरकारले उच्च प्राथमिकताका साथ बजेटमा अनुदान लगायत आवश्यक सुविधाहरु घोषणा गरेको छ । उहाँले बजेटमा घोषणा भएका सुविधा दिन कसैले अप्ठेरो बनाएको छ भने आफूलाई जानकारी दिन पनि आग्रह गर्नुभयो । वाणिज्य बैंकहरुले कृषि कर्जा दिन आलटाल गरेको भन्दै उहाँले लगानीका नयाँ नयाँ क्षेत्र खोज्ने हो भने कृषिमा पनि लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, वाणिज्य बैंकहरुले सजिलै कर्जा प्रवाह नगर्लान कि भनेर नै सरकारले विकास बैंकहरु र लघुबित्त संस्थाहरुमार्फत पनि कृषि कर्जा पाउन सकिने व्यवस्था मिलाउन लागेको जानकारी दिनुभयो ।
उहाँले प्रशोधित कृषि उपज, कफी, चिया, अलैची, गेडागुडी, बीउबिजन तथा अर्गानिक कृषि उपज निर्यात हुन सक्ने भएकोले यतातर्फ लाग्न कृषकहरुलाई आग्रह गर्नुभयो । भारतमार्फत दक्षिण एसियाली मुलुकमा मात्र होइन रसुवा केरुङबाट उत्तरतिर पनि निर्यात गर्न सकिने ढोका खुलिसकेको उहाँले जानकारी दिनुभयो ।
नेपाल आर्थिक समृद्धि प्राप्तिको नयाँ चरणमा प्रवेश गरेको बताउदै उहाँले भन्नुभयो, उर्जाका क्षेत्रमा ठूलो लगानी आइरहेको छ । पर्यटनमा यसैगरी लगानी आइरहेको छ । भैरहवा र पोखरामा क्षेत्रीयस्तरका विमानस्थल बन्दैछन भने निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । नयाँ नयाँ जहाज कम्पनीहरुले सेवा शुरु गर्दैछन । होटलमा लगानी आइरहेको छ । कृषिमा सरकारले नै उच्च प्राथमिकताका साथ कार्यक्रमहरु ल्याएको छ । अव यिनै क्षेत्रको प्रगतिबाट मुलुकले समृद्धि प्राप्त गर्नेछ ।
सो अवसरमा राष्ट्रिय व्यवसायिक पशुपालक तथा दुग्ध उत्पादक कृषक समाज केन्द्रीय तदर्थ समितिका अध्यक्ष आनन्द निउराले बजेटमा घोषित कृषि सम्वन्धित सुविधाहरुलार्इं छिटो कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै केन्द्रीय दुग्ध उत्पादक संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले सरकारले आयकरमा केही छुट दिनुपर्ने माग गर्नुभयो । पशुपालनका क्षेत्रमा देखिएका समस्याहरुका बारेमा छलफल गरी समाधानका उपाय निकाल्न चितवनमा देशभरका पशुपालक तथा दुग्ध उत्पादक कृषकहरु भेला भएका छन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जागिरे दवाब छोडेर किसानी कमाल
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
उद्यम विकास साकोसको साधारणसभा सम्पन्न