समस्याग्रस्त सहकारीको समस्या सम्बोधन गर्न अख्तियारको ध्यानाकर्षण
काठमाडौं, पुस २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समस्याग्रस्त सहकारीको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सहकारीमा जम्मा गरेको रकम फिर्ता गराउनका लागि सरकारले विशेष कदम चाल्न सरकारलाई निर्देशन दिएको हो ।
ओरियण्टल लगायतका सहकारी संस्थाहरुमा सञ्चित सर्वसाधारणहरुको रकम उच्च जोखिममा परेको भन्दै अख्तियारले शुक्रबार मुख्यसचिव लीलामणि पौडेलको ध्यानाकर्षण गराएको थियो । सहकारीका विषयमा सुझाव दिए पनि कार्यान्वयन नभएपछि अख्तियारले पुनः सरकारको ध्यानाकर्षण गराएको अख्तियारका प्रेस सल्लाहकार भवानी सुवेदीले बताउनुभयो ।
पुनरावेदन अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित समितिले दिएको सुझावसहितको प्रतिवेदन कार्यान्वयन गरिनुपर्ने उहाँको भनाई थियो ।
दीर्घकालीन र प्रभावकारी नीति नहुँदा सहकारी सस्थाको अनुगमन चुस्त हुन नसकेको बताउँदै सुवेदीले सर्वसाधारण नागरिकहरुको सञ्चितीको सुरक्षा प्रत्याभूति गर्न र सहकारीको उद्देश्य परिपूर्ति हुने गरी सहकारीको गठन, सञ्चालन एवं तिनको अनुगमन र नियमनलाई प्रभावकारी बनाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको बताइएको छ ।