अध्यागमन इकाईको उद्घाटन


उद्योगमन्त्री महेश बस्नेतले आज उद्योग विभागमा अध्यागमन इकाईको उद्घाटन गर्नुभएको छ । एकै थालोबाट स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई सेवा सुविधा प्रदान गर्ने पद्धति, एकद्वार प्रणाली अन्तरगत उद्योग विभागले विदेशी लगानीकर्ताहरुलाई विभागबाटै भिषा लगायतका सेवा सुविधा प्रदान गर्न अध्यागमन इकाईको शुभारम्भ गरेको छ ।

मन्त्री बस्नेतले आजै एक कार्यक्रमकाबीच चार जना विदेशी लगानी कर्ता (जापानी र अमेरिकी नागरीक)लाई भिषा प्रदान गर्नुभयो । उहाँले अध्यागमन इकाईको स्थापनासँगै विदेशी लगानी कर्तालाई सुलभ र सरलरुपले नेपालमा लगानी गर्ने वातावरणको शुरुवात भएको बताउनुभयो । उहाँले एकद्वार प्रणालीको शुरुवातबाट विदेशी लगानी कर्ताको नेपालमा लगानी गर्ने अभिरुची बढ्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले नेपाललाई लगानी मैत्री गन्तव्यका रुपमा चिनाउन मन्त्रालयले विद्यमान ऐन कानुनमा रहेका बाधा, व्यवधानहरु हटाउन र नयाँ लगानी मैत्री ऐन, कानुन छिट्टै जारी गर्न लागेको उल्लेख गर्नुभयो । उहाँले मुलुकलाई सम्बृद्धि बनाउनका लागि सरकारले उद्योगमन्त्रालयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने जिकिर गर्नुभयो ।

“नीतिगत भ्रष्टाचार मन्द विष हो । यसले हाम्रो समाजलाई नराम्ररी गाँजेको छ । माथिल्लो र तल्लो तहमा हुने भ्रष्टाचार समेत रोकौँ” मन्त्री बस्नेतले भन्नुभयो । उहाँले खानी, मदिराजन्य उद्योग लगायतका क्षेत्रमा रहेका विविध खालका सिन्डिकेट रहेको र त्यसको अन्त्यका लागि उद्योगमन्त्रालयसँग एकताबद्ध हुन सबै सरोकारवाला पक्षलाई आह्वान गर्नुभयो । उद्योगमन्त्री बस्नेतले उद्योगमन्त्रालय र यस अन्तरगतका सबै निकाय विस्तारै एकद्वार प्रणाली, वान स्टप सिस्टम हुँदै अनलाइन प्रणालीमा जोडिन थालेको बताउनुभयो । उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले स्वदेशी तथा विदेशी लगानी कर्तालाई आकर्षित गर्न विभागले एकद्वार प्रणाली अन्तरगत अध्यागमन इकाईको स्थापना गरेको जानकारी दिनुभयो ।

उहाँले विभागले औद्योगिक बौद्धिक सम्पत्तिको डिजिटल अभिलेखिकरण गर्ने प्रक्रिया समेत अगाडी बढाएको बताउनुभयो । कार्यक्रममा उद्योगमन्त्रालयका सचिव उत्तमकुमार भट्टराई, अध्यागन विभागका महानिर्देशक, उद्योग विभागका अधिकारी, कर्मचारी र पत्रकारको उपस्थिति रहेको थियो । फोटो क्यापसनः उद्योगमन्त्री महेश बस्नेतले उद्योग विभाग अन्तरगतको अध्यागमन इकाईको उद्घाटन गर्नुहुँदै । तस्विरः उद्योगमन्त्री निजी सचिवालय, सिंहदरवार, काठमाडौँ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले