प्रौढ शिक्षामा लगानी गर्दै सहकारी


पोखरा, माघ २ । रोयल सहकारी संस्थाले सहकारी शिक्षा प्रदान गर्ने उद्देश्यले प्रौढ शिक्षामा लगानी गरेको जनाएको छ । हाल सञ्चालित प्रौढ शिक्षा साक्षरता तालिममा ४० वर्षदेखि ७६ वर्ष उमेर समूहका आमाहरु अध्ययनरत रहेको संस्थाले जनाएको छ ।
सहकारीले पाखुरिकोट गुरुङ समाज पोखराका ४५ जना निरक्षर महिलाहरुका लागि प्रौढ शिक्षा कार्यक्रम शुरु गरेको हो । आइतबार शुरु भएको प्रौढ शिक्षा कार्यक्रम चैत २० गतेसम्म जारी रहने संस्थाले जानकारी दिएको छ । सामान्य कार्यक्रमबाट निरक्षर महिलाहरु अक्षर र अंक चिन्न सफल हुने सहकारीको विश्वास छ ।
आफ्नो नाम लेख्न, समूहमा बसेर अन्तरक्रियामा सहभागी बन्न प्रौढ शिक्षामा सहभागी महिलाहरु सक्षम बन्ने सहकारीले अपेक्षा लिएको छ ।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङले सहकारीले निरक्षर महिलाहरुलाई साक्षर बनाएर समाज परिवर्तनमा टेवा पु¥याएको बताउनुभयो । प्रवन्ध निर्देशक भीमबहादुर गुरुङले प्रौढ शिक्षा किन र के लागि भन्ने विषयमा उपस्थित महिलाहरुलाई जानकारी दिनुभयो । ‘सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम विगत ७ वर्षदेखि गर्दै आएको छ,’ गुरुङले बताउनुभयो , ‘कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन्छौं ।’
आमा समूहका अध्यक्ष सीतादेवी गुरुङले सहकारीको कार्यक्रम निकै उपयोगी भएको बताउँदै निरक्षर महिलाहरुको आखा खुल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष पञ्चमान गुरुङले समाजमा रहेका निरक्षर महिलाहरुलाई खोजीखोजी साक्षर बनाउने काम राज्य गर्न नसकेको बताउँदै सहकारीप्रति आभार व्यक्त गर्नुभयो । संस्थाका प्रवन्धक मीलन ढकालले चैत २० गतेसम्म जारी रहने प्रौढ शिक्षा कार्यक्रम आवश्यकता परेमा एक महिना थप गर्न सकिने बतताउनुभयो ।
प्रौढ कक्षा सञ्चालनको लागि सानु गुरुङ र धरा गुरुङलाई शिक्षिका नियुक्त गरिएको छ । हालसम्म संस्थाले ४ सयजना भन्दा बढी निरक्षर महिलाहरुलाई साक्षर बनाइसकेको ढकालले जानकारी बताउनुभयो ।
कास्की, स्याङजा, तनहुँ र लम्जुङ ४ जिल्ला कार्यक्षेत्र रहेको सहकारीको प्रधान कार्यालय बुद्धचोक पोखरामा छ । सदस्य सेवा केन्द्र महेन्द्रपुल र लेखनाथको भण्डारढिक रहेको सहकारीले ३० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
सहकारीले ३ हजार २ सय २३ जना सदस्यमार्फत कारोबार सञ्चालन गरिरहेको प्रवन्ध निर्देशक भीम गुरुङले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७१÷७२ को मंसिर मसान्तसम्ममा सहकारीको चुक्ता पुँजी ७ करोड ३३ लाख, जगेडा कोष २ करोड ३४ लाख, अन्य कोषहरु १ करोड, स्थिर सम्पत्ती २ करोड ८० लाख बैंक तथा नगद मौज्दात ११ करोड ७० लाख छ । सहकारीको कर्जा लगानी ७५ करोड ७ लाख, निक्षेप ७२ करोड ८३ लाख, कूल कारोवार ९० करोड ३४ लाख छ । सहकारीले १ करोड ४० लाख नाफा गर्न सफल भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन