विश्व बैंकलाई उर्जा क्षेत्रमा लगानी गर्ने वातावरण बनेको छ ः अर्थमन्त्री डा महत


अर्थमन्त्री डा रामशरण महत र नेपाल भ्रमणमा रहेकी विश्व बैंक अन्तर्गत दक्षिण एसिया हेर्ने उपाध्यक्ष एनेट डिक्सनबीच अर्थमन्त्रालयमा सोमबार भेटघाट तथा छलफल भयो ।

सो अवसरमा अर्थमन्त्री डा महतले नेपालको समग्र आर्थिक अवस्था सन्तोषजनकरुपमा अगाडि बढिरहेको जानकारी दिनुभयो । नेपालको आवश्यकता, योजना र प्राथमिकता अनुसार सहयोग गर्ने बैंकको चार बर्षे रणनीतिका बारेमा सन्तुष्टि व्यक्त गर्दै उहाँले आगामी दिनमा बैंकलाई उर्जा तथा पूर्वाधार क्षेत्रमा सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
नेपालले सन २०२२ सम्ममा विकासशील मुलुकको दाँजोमा पुग्ने संकल्प गरेको उल्लेख गर्दै उहाँले यसका लागि नेपाललाई पूर्वाधारका क्षेत्रमा ठूलो लगानी आवश्यक भएको बताउनुभयो । उहाँको भनाई थियो, नेपालले सामाजिक क्षेत्र र आर्थिक संवेदनशीलताका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेपनि प्रतिव्यक्ति आम्दानीका दृष्टिले अझै धेरै काम गर्नुपर्ने आवश्यकता छ ।

विश्व बैंक समूहले नेपालको उर्जा क्षेत्रमा लगानी गर्ने चासो र गम्भीरता देखाएकोमा प्रशंसा गर्दै अर्थमन्त्री डा महतले हालै भारतसँग भएको विद्युत व्यापार सम्झौता र सार्क सम्मेलनताका भएको प्रसारण लाइन जोड्ने सम्झौताले नेपालमा लगानी गरी उत्पादन हुने बिजुलीको दक्षिण एसियाको बजार सुरक्षित भएको र यसमा मूठी खोलेर लगानी गर्न सकिने वातावरण सिर्जना भएको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री डा महतले नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अगाडि बढिरहेको जानकारी पनि दिनुभएको थियो ।
सो अवसरमा बोल्दै बैंकका दक्षिण एसियाका उपाध्यक्ष डिक्सनले ऋण भुक्तानीसम्वन्धी नेपालको क्षमता बढेको कारणले अनुदान घटेको स्पष्ट पार्नुभयो । उहाँको भनाई थियो, तर नेपालले विश्व बैंकबाट प्राप्त गर्ने सहुलियतपूर्ण ऋणको आकार बढ्ने भएकोले समग्रमा बढी रकम पाउने र ऋण लिएको मिति तथा भुक्तानी मितिबीचको पैसाको मूल्य हिसाव गर्दा अझ बढी लाभ पुग्नेछ । उपाध्यक्ष डिक्सनले नेपालको आर्थिक सुधार कार्यक्रमबारे पनि जिज्ञासा राख्नुभएको थियो ।
सो अवसरमा अर्थमन्त्रालयका सचिव सुमनप्रसाद शर्माले उर्जाको अभाव नेपालको सबैभन्दा ठूलो समस्या भएको उल्लेख गर्दै यस क्षेत्रमा हुने सहयोग विनियोजनलाई छिटो कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । त्यसैगरी नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय प्रतिनिधि जोहानेस जुटले नेपालले अहिले प्राप्त गर्ने सहुलियतपूर्ण ऋण अन्तर्गत पनि ५५ प्रतिशतसम्म अनुदानको हिस्सा हुने जानकारी दिनुभएको थियो ।

कार्यक्रममा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले कार्यक्रम तर्जुमा गर्दा अनुदानमा तर अहिले कार्यान्वयन गर्दा ऋणमा भएकोले सौर्यउर्जाको परियोजनामा केही अप्ठेरो भएको बताउनुभएको थियो ।
तीन दिन अघि नेपाल आएकी उपाध्यक्ष डिक्सनले बैंकको सहयोगमा सञ्चालित केही परियोजनाहरुको स्थलगत अवलोकन पनि गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले