सहकारीले कृषिको व्यवसायीकरण जोड


काठमाडौं – साना किसान सम्मेलन २०७१ आइतबार सुरु भएको छ । साना किसान विकास बैंकको अगुवाईमा पहिलो पटक आयोजना गरिएको सम्मेलनको उद्घटान अर्थमन्त्री रामशरण महतले गर्नु भएको थियो ।

अर्थमन्त्री महतले साना किसानहरु आगामी दिनमा गरिवि न्युनिकरणमा मात्र केन्द्रित नभइ सम्पन्नता र आर्थिक समुन्नती तर्फ लम्किनुपर्ने बताउनुभयो । ‘नेपालमा ठूला किसानहरु विरलै छन्, जमिनको अंशवण्डाका कारण भएका ठूला किसान पनि साना हुँदै गइसके,’ उहाँले भन्नुभयो, ‘यो अवस्थामा साना व्यवसायी तथा किसानहरुले नै देशलाई आर्थिक सम्बृद्धि तर्फ लैजान सक्नुपर्छ ।’

साना किसानको शुरुवात नै नेपालबाट भएको बताउँदै उहाँले आगामी दिनमा यसलाई अझ बढी फराकिलो बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गर्नु भयो । ‘नेपालको नुवाकोट र धनुषा जिल्लाबाट साना किसानको शुरुवात भएको थियो,’ उहाँले भन्नुभयो, ‘विदेशीले नेपाली मोडललाई अवलम्बन गर्दै कृषि क्षेत्रमा ठूलो फड्को मारिसकेका छन् ।’ हाल सम्मेलनमा भएको उत्साहजनक सहभागिताले नेपालमा पनि साना किसानको दायरा बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।

नेपालको भु–बनोटका कारण विभिन्न प्रकारका खेतीको सम्भावना रहेको जानकारी दिँदै भौगोलिक विविधताका आधारमा कृषि खेतीमा लाग्नु पर्ने उहाँको भनाइ थियो । पछिल्लो समय नेपालबाट अलैची, अदुवा, कफी लगायतका कृषि उपज उल्लेख्य मात्रामा निर्यात भइरहेकोको बताउँदै आगामी दिनमा तुलनात्मक लाभका बस्तु उत्पादन तर्फ कृषिकहरु लाग्नु पर्ने बताउँनुभयो । ‘पछिल्लो समय सरकारले साना किसानलाई लक्षित गरी विभिन्न सहुलियतहरु ल्याएको छ,’ उहाँले भन्नुभयो, ‘सरकारले दिएको सुविधालाई किसानहरुले मेहनतका साथ कार्यान्वयनमा ल्याउन सक्नुपर्छ ।’ यस अघि सरकारले साना किसान विकास बैंकबाट मार्फत साना किसानलाई सहुलियत कर्जा उपलब्ध गराउँदै आएकोमा आगामी दिनमा जुनसुकै वाणिज्य बैंक मार्फत लिन सकिने उहाँले जानकारी दिनुभयो ।

कृषिलाई आधुनिकिकरण गर्न सरकारले नयाँ प्रविधि भित्र्याउन तथा मेशिन औजार किन्नका लागि किसानलाई ५० प्रतिशत सम्म नगद अनुदान दिइने समेत उहाँले जानकारी दिनु भयो । साथै, साना किसान सहकारी मार्फत गरिने कामलाई सरकारले अझ बढी प्राथमिकता दिने प्रतिवद्धता समेत गुर्नभएको थियो ।

आर्थिक समुन्नतिका लागि ग्रामीण क्षेत्रमा सरकारी संस्थाहरु स्थापना गरिनुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेलले बताउनुभयो । ‘साना किसानले गाउँ–गाउँमा राम्रो काम गरेका छन्,’ उहाँले बताउनुभयो, ‘तर, त्यसलाई उचित व्यवस्थापन गर्न सकिएको  छैन ।’ हाल कृषि क्षेत्रमा राम्रा तथा नराम्रो दुवै भएकाले आगामी दिनमा यसलाई नीतिगत रुपमै व्यवस्थित गरिनुपर्ने छ । गाउँ–गाउँमा बाझो जमिन रहेको बताउँदै आगामी दिनमा यसलाई किसान समक्ष पु¥याउनु नीतिगत रुपमै व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो । ‘हाल देशमा २३ प्रतिशत जनसंख्या गरिविको रेखामुनि रहेकोमा केही समय अघि भएको प्राकृतिक विपत्तिबाट भएको क्षतिलाई परिपुर्ति गर्न नसकिए उक्त प्रतिशत बढेर ३५ पुग्ने छ,’ उहाँले भन्नुभयो, ‘देशमा गरिविको संस्था घटाउनका लागि पनि सरकार लगायत विभिन्न सरोकारवाला निकायले दैविक प्रकोपबाट साना किसानमा पर्न गएको क्षतिलाई न्युनिकरण गर्नुपर्छ ।’

कार्यक्रममा सम्मेलन मुल आयोजक कमिटिका अध्यक्ष कृष्ण उपाध्यायले सरकारले नीति निर्माण र प्रणाली विकासमा सहयोग गर्नुपर्ने बताउनुभयो । ‘सरकारले साना किसानलाई अनुदान तथा सहुलियत कर्जा उपलब्ध गराउँदै आएपनि झण्झटिलो प्रक्रियाका कारण किसानहरु सहज रुपमा उक्त कर्जा पाउन सकेका छैनन्,’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा सरकारले सामान्य खालका किसानले पनि सहज रुपमा सहुलियत कर्जा लिन पाउने व्यवस्था गर्नुपर्छ ।’ कृषिमा व्यवसायीकरण गर्न पैसा भन्दा पनि खेती गर्ने तरिका सिकाउनु पर्ने भन्दै यसलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रमका विशेष अतिथि तथा नेपाल राष्ट्र बैंकका गर्भर्नर डा. युवराज खतिवडाले नेपालका ६० प्रतिशतभन्दा बढी कृषक निरक्षर रहेको बताउँदै आगामी दिनमा त्यस्ता किसानलाई पनि साक्षर बनाउनु पर्ने बताउनु भयो । ‘सरकारले साना किसानलाई विभिन्न शिर्षकमा अनुदान तथा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘निरक्षर भएकै कारण त्यस्ता किसानहरुले सरकारले उपलब्ध गराउँदै आएको अनुदान तथा सहुलियत कर्जा उपयोग गर्न सकेका छैनन् ।’ निरक्षर किसानलाई पनि उद्यमशिलता तथा वित्तिय साक्षरतामा अघि बढाउनु पर्ने उहाँको धारणा थियो । हाल ग्रामिण स्तरमा रहेका सरकारी, गैरसरकारी तथा स्थानीय संस्थाहरुलाई सही रुपमा कार्यान्वयनमा ल्याउनु पर्ने उहाँको सुझाव थियो ।

कार्यक्रममा अर्का विशेष अतिथि तथा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सामाजिक र आर्थिक विकास ग्रामीण क्षेत्रबाटै हुने बताउँदै यसमा साना किसानको भुमिका उल्लेख्य रहेको बताउँनुभयो । ‘नेपालमा भारतबाट सडेगलेमा कृषि उपज भित्रिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘तर, नेपालमा उत्पादन भएका राम्रा कृषि उपजहरु विभिन्न खालका ल्याव परीक्षण गर्नुपर्ने झण्झटिला प्रक्रियाका कारण स्वदेशमै कुहाएर फ्याल्नुपर्ने  वाध्यता छ ।’

कार्यक्रममा साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले पछिल्लो समय साना किसानहरु व्यवसायीकरणमा लागेको बताउँनुभयो । ‘आजभन्दमा २० वर्ष अघिसम्म साना किसानले कुनै उद्योग कारखाना खोल्न सक्ने अवस्था थिएन,’ उहाँले भन्नुभयो, ‘तर, अहिले साना किसानहरुले चिया कारखाना खोलेका छन् यो साना किसान विकास बैंकको देन हो ।’ केही समय अघि सम्म साना किसान विकास बैंकले कृषकमा गरेको लगानी उठ्ने अवस्था थिएन तर अहिले साना किसान समुहमार्फत लगानी गर्दा सहज रुपमा उठ्ने गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल स्थित इजरायली दूतावासका डेपुटी चिफ अफ मिसन (डिजिएम) जोनाथन लिबेलले नेपालको कृषिलाई व्यवसायीकरण गर्न आपूmहरुले सक्दो सहयोग गर्ने बताउनुभयो । ‘हाल इजरायलको कृषि प्रणालीलाई नेपालमा भित्र्याउनका लागि नेपाली कृषकलाई तालिम दिँइदै आएको छ,’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा यसको दयार अझ फराकिलो बनाइने छ ।’ वहाले इजरायलको कृषि प्रणालीलाई नेपालमा भित्र्याउन पाउँदा आपूmहरु खुशी रहेको बताउनुभयो । इजरायले थोरै जमिनमा खेती गरेर विश्वमा चर्चा कमाएको बताउँदै नेपालले पनि त्यसैगरी कृषिमा प्रगतिगर्नु पर्ने उहाँको आग्रह थियो ।

कृषि मन्त्रालयका निमित्त सचिव उदयचन्द्र ठाकुरले कृषिको आधुनिकिकरण र व्यवसायीकरण गर्न सहकारीमा आधारित कृषि प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताउँनुभयो । यस वर्ष मन्त्रालयले २ सय जना किसानलाई लक्षित गरि प्रविधि हस्तान्तरण गर्न व्यवसायीकरण गर्न सहयोग गर्नेछ,’ उहाँले बताउँनुभयो । हाल सरकारले नयाँ प्रविधि भित्र्याउन र मेशिन खरिद गर्न २५ देखि ७५ प्रतिशतसम्म अनुदान दिँदै आएको र उक्त अनुदान रकमलाई उपयोग गरि साना किसानहरु व्यवसायीक खेती तर्फ उन्मुख हुनुपर्ने उहाँको भनाइ थियो । साथै, प्राकृतिक विपत्तिबाट हुने क्षति न्युनिकरणको लागि सरकारले बीमाको अवधारण ल्याएको बताउँदै यस तर्फ आकर्षित हुन सकेत आग्रह गर्नुभयो । अघिल्लो बर्षसम्म सरकारले बीमाको प्रिमियमा ५० प्रतिशत रकम अनुदान दिँदै आएकोमा चालू आवको बजेटमार्फत अनुदान रकमलाई बढाएर ७५ प्रतिशत पु¥याएको वहाले बनाउनु भयो ।

कार्यक्रममा साना किसान महिला सहकारी संघ महारानी झोडा झापाकी अध्यक्ष मिना ढकालले महिलाहरुले संचालन गरेको सहकारीले कृषिलाई व्यवसायीकरण गर्न ठूलो सहयोग गरेको बताउँनुभयो । ‘हाल देशमा अर्वौ रकमको खाद्य सामग्री विदेशबाट भित्र्याइरहेको छ,’ उहाँले बताउँनुभयो, ‘यदि सरकारले साना किसानलाई सहयोग गरेमा विदेशबाट खाद्यान्न आयात गर्नुपर्ने बाध्यता हट्नेछ ।’

सम्मेलन मुल आयोजक कमिटिका उपाध्यक्ष तथा साना किसान विकास बैंकका अध्यक्ष खेमबहादुर पाठकले बैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्वदेशमै कृषि खेतीमा लाग्न आग्रह गर्नुभयो । ‘नेपाली युवाहरु १०–१५ हजार रुपैयाँमा लाखौं रकम लगानी गरेर वैदेशिक रोजगारीमा गइरहेका छन्,’ उहाँले बताउँनुभयो, ‘यदि स्वदेमै सोही अनुसारको परिश्रम खर्च गर्नेहो भने कृषिमा मासिक लाखौं रुपैयाँ आर्जन गर्न सकिनेछ ।’

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन