दाङमा फस्टाउँदै सहकारी


घोराही, माघ १८ । दाङमा केही वर्षयता सहकारी फस्उँदै गएका छन् । विगत ९ वर्षयता दाङका बचत तथा ऋण सहकारी संस्थाहरूको कारोबार करीब दुई गुणाले बढेको छ ।

९ वर्षपहिले मासिक करीब ३० करोड कारोबार हुने गरेकोमा अहिले मासिक करीब ६२ करोड ५० लाख कारोबार गर्ने गरेको दाङ बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष अञ्जनकुमार पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा बचत तथा ऋण सहकारी संस्थाहरूको सङ्ख्या भने साढे ११ गुणा वृद्धि भएको छ ।
२०६२ सालमा दाङमा १७ ओटा बचत तथा ऋण सहकारी संस्था स्थापना भएका थिए । हाल जिल्लामा १ सय ९८ ओटा बचत तथा ऋण सहकारी संस्था रहेको सङ्घले बताएको छ । ‘जिल्लामा अहिले आठओटा सहकारी निष्क्रिय अवस्थामा रहेका छन्,’ पौडेलले भन्नुभयो १ करोडभन्दा बढी शेयर पूँजी राखेका संस्था १० ओटा रहेका छन् ।’ २० लाखदेखि ५० लाखसम्म शेयर पूँजी भएका सहकारीको सङ्ख्या ३० ओटा भएको सङ्घले जानकारी दिएको छ ।
‘अन्य सहकारीहरूमा २० लाख रुपैयाँभन्दा कम शेयर पूँजी रहेको छ,’ पौडेलले भन्नुभयो ‘सङ्घमा हालसम्म ६० ओटा बचत तथा ऋण सहकारी आबद्ध छन् ।’ ९ वर्षअघिको तुलनामा सहकारीको कारोबार बढेपछि सङ्ख्याको अनुपातमा निकै कम कारोबार भएको देखिन्छ ।
१७ ओटा हुँदा मासिक करीब ३० करोड हुने गरेकोमा १ सय ९८ ओटा हुँदा ६२ करोड ५० लाखको कारोबार हुनु उत्साहजनक नभएको पौडेलको भनाइ छ ।
‘सहकारीमा कारोबार गर्ने आम व्यक्तिहरूको सङ्ख्या पनि बढेको छ,’ उहाँले भन्नुभयो ‘धेरै सहकारी संस्था स्थापना भएकाले कारोबार गर्ने ग्राहक पनि बाँडिएका छन् ।’ यहाँका बचत तथा ऋण सहकारीहरूले शहरी क्षेत्रमा व्यापारिक कर्जा र घरजग्गा व्यवसायमा केन्द्रित भएका छन् भने ग्रामीण क्षेत्रमा घरायशी कर्जामा केन्द्रित भएका छन् । उद्यम विकासका लागि भने सहकारी संस्थाहरूको लगानी निकै कम भएको पौडेलको भनाइ छ ।
दाङका सहकारीहरूले बचतमा न्यूनतम ४ देखि अधिकतम १४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । ऋणमा न्यूनतम १२ देखि अधिकतम २४ प्रतिशतसम्म ब्याज असुल गरिरहेको सङ्घले बताएको छ । धनी व्यक्तिहरूले सञ्चालन गरेका सहकारीमा पूँजी प्रशस्त भए पनि प्रतिफल कम देखिएको पौडेलले जानकारी दिए । ‘विपन्न वर्गका व्यक्तिहरूले चलाएको सहकारीमा पूँजीको अभाव भए पनि प्रतिफल कम छ,’ उनले भने, ‘विभिन्न सरकारी तथा दातृ निकायको सहयोगसमेत सम्पन्न सहकारीहरूमा केन्द्रित भएको छ ।’ सञ्चालकहरूमा सहकारीसम्बन्धी चेतना अभाव भएकाले पनि व्यवस्थित रूपमा सञ्चालन हुन नसकेको पौडेलको भनाइ छ । उहाँले  अब सहकारी संस्थाहरूमा मर्जरको आवश्यकता भएको बताउनुभयो । सघन अनुगमन र नियमन गर्न सकेको खण्डमा मात्र बचत तथा ऋण सहकारीहरू व्यवस्थित रूपमा सञ्चालन हुनसक्ने पौडेलको भनाइ छ । सहकारी संस्थाहरूमा प्राविधिक ज्ञान उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनचेतना साकोस नवलपुरको संस्थागत विकास तालिम
दोलखाका तीन साकोसबीच एकीकरण
खुसी खुसी साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न
चन्द्रागिरि साकोसको शुभतारा सेवाकेन्द्र उद्घाटन