अनुदान पाएपछि कृषकमा छायो खुशी


1काठमाडौं, माघ १८ ।“अब भने हाम्रा सेयर धनीले दुधको मुल्य अलि बढी पाउने आशा बढ्यो”, बारा भोडाहाका पुरनवेदप्रसाद रौनियारले भन्नुभयोे । उहाँ स्थानीय साना किसान कृषि सहकारीका अध्यक्ष हुनुहुन्छ । शनिबार आयोजित संस्थाको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै रौनियारले यस्तो खुशी व्यक्त गर्नुभएको हो ।
आफ्नै छिमेकमा दुध संकलन केन्द्र बन्ने निश्चित भएपछि भोडाहाका किसानहरु हौसिएका छन् । “संकलित दुध प्रशोधन गरी बढी नाफा कमाउने आशा छ”, सहकारी सदस्य सुरस्वती देवीले भन्नुभयो । सात सय सेयरधनी रहेको यस संस्थामा महिलाको संख्या साढे चार सयभन्दा बढी रहेको उहाँले बताउनुभयो । संस्थाको खरीद समितिका सदस्य नुरमहम्मद अंसारीले यस वर्ष पशुपालनका लगानी बढाउने तयारीमा रहेको जानकारी गराउनुभयो । यस्तो लगानीमा संस्थाले ९ प्रतिशत ब्याज लिन्छ ।
दुध संकलन गरेर प्रशोधन गर्न सके बढी मुल्य पाइने बुझेका त थिए तर सर्वसाधारणले गरेको लगानी निर्माणमा लगाउँंदा ढुकुटी नै रित्तिने त्रास थियो उनीहरुलाई । सहयोगी संस्थाको खोजी गर्दै आएका बेलामा उनीहरुलाई सरकारी सहयोगको बाटो खुल्यो । उनीहरु पनि संस्थाबाट केही रकम जोहो गर्न सफल भए । हाल उनीहरु व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) बाट करिव २६ लाख रुपैयाँको आंशिक अनुदान पाउन सफल भएका छन् । त्यस रकममा संस्थाका तर्फबाट करिव १८ लाख रुपैयाँ भन्दा बढी लगानी गरी करिव साढे ४३ लाख रुपैयाँ लागतमा दुध संकलन, प्रशोधन तथा बजारीकरण उपआयोजना सञ्चालनमा छ । यसबारे सर्वसाधारणलाई उनीहरुले जानकारी पनि दिई सकेका छन् भने कार्यक्रममा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौड्याल तथा प्याक्टका आयोजना निर्देशक योगेन्द्रकुमार कार्कीबाट संयक्त रुपमा उनीहरुले संस्थाको भवनको शिलान्यास पनि गराए । “कृषि क्षेत्रको व्यवसायीकरणले हाम्रो अर्थतन्त्रलाई टेवा दिन्छ”, सोही क्षेत्रका सभासद् समेत रहेका मन्त्रीले भन्नुभयो । उहाँले संविधान निर्माणको पक्कापक्की भएको बताउनुभयो । “कारखाना भवन बनेपछि स्थानीय क्षेत्रमा उत्पादन हुने दुधलाई प्रशोधन गरी ठूला बजारसम्म पु¥याउने बाटो खुल्छ”, आयोजना निर्देशक कार्कीले आशा व्यक्त गर्नुभयो । ६ सय ६० वर्गफिट क्षेत्रफलमा फैलिने काराखनाले दैनिक दुई हजार लिटर दुध संकलन गरी प्रशोधन गर्नसक्छ । यसका लागि उनीहरुले दुईवटा चिलिङभ्याट खरीद गर्नेछन् । ३० केभी एम्पियर क्षमताको जेनेरेटर खरीद गरी निरन्तर विद्युत उत्पादन गर्ने योजना रहेको अध्यक्ष रौनियारले बताउनुभयो । त्यस्तै मिल्क एजालाइजर खरीद गरी किसानले उत्पादन गरेको दुधमा पाइने पौष्टिक तत्व तथा पानीको मात्रा खुट्याउने पनि सहकारीको योजना छ । स्थानीय क्षेत्रमा वातावरण संरक्षण गर्दै उत्पादित दुधको स्वच्छता कायम गर्न जनचेतना कार्यक्रम पनि सञ्चालन गरिने संस्थाले जनायो । “नयाँ सदस्यलाई पशुपालनसम्बन्धी तालिम तथा प्राविधिक सहयोग पनि दिन्छौं,”सुरस्वतीले भन्नुभयो । आठ वर्षअघि एउटा कोठामा बाल्टी राखेर दुध संकलन गर्न सुरु गरेकोमा हाल दुध कारखाना भवन निर्माणसमेत गर्ने अवस्थामा पुग्दा खुशी लागेको उहाँले बताउनुभयो ।
प्याक्ट आयोजना नेपाल सरकारले विश्व बैंकको सहयोगमा सन् २००९ देखि ६ वर्षका लागि कार्यान्वयनमा ल्याएको हो । सुरुमा पूर्वाञ्चलबाहेक ४ विकास क्षेत्रका तराइका १५ र पहाडका १० गरी २५ जिल्लामा लागु गरिएको आयोजना सन् २०१२ मा विश्व बैंकले मध्यावधि मुल्यांकनमार्फत सहयोग रकम थप गर्ने निर्णय गरेपछि आयोजनाको कार्यक्षेत्र विस्तार गरी देशभर लागु गरिएको हो । त्यसैगरी आयोजनाको अवधि पनि बढाइ सन् २०१८ सम्म पु¥याइएको छ । आयोजनाले १० हजार अमेरिकी डलरदेखि एक लाख अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ पूरक अनुदान सेवाग्राहीलाई उपलब्ध गराई कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।
आयोजनाले राष्ट्रिय आयोजना निर्देशन समितिले तोकेका कृषि उपजहरुको मुल्यशृंखलामा आवद्ध कृषक समूह, कृषि सहकारी तथा कृषि उद्यमीको प्रतिष्पर्धात्मक क्षमता वृद्धि गर्ने लक्ष्य राखेको छ । १० हजार डलर बराबरको पूरक अनुदान सहयोग लघु अनुदानमा र बाँंकी दुई किसिमका अनुदान साना तथा मझौला अनुदानमा वर्गीकृत गरिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक