सहकारी अभियानलाई वामपन्थीकरण हुनबाट जोगाउने हाम्रो प्रयास रहनेछ


राममान सिंह
संयोजकः नेशनल कोअपरेर्टस एलाइन्स क्षेत्र नं १०
१. तपाई एक सफल व्यवसायी हुनुहुन्छ , के देखेर लाग्नुभयो सहकारी क्षेत्रमा ?
म एक सफल व्यवसायी त पक्कै हुँ, तर म व्यवसायीक हुनुमा कुनै न कुनै रुपमा सहकारीकै भूमिका छ । सहकारीकै माध्यमबाट धेरै मानिसहरु मजस्तै व्यवसायीक हुनुभएको उदाहरण हामीकोमा प्रशस्तै छन् । मैले भन्न खोजेको मुख्य कुरा के हो भने केही गर्ने क्षमता, सीप र इच्छाशक्ती भएका तर पुँजीको अभाव भएका धेरै मानिसहरुले सहकारीमा आवद्ध भएर उदाहरणीय व्यवसाय संचालन गर्नुभएको छ ।
२. व्यवसायीक व्यक्तिहरुको प्रत्येक सेकेण्डको महत्व हुन्छ क्यारे , कसरी व्यस्थापन गर्नुहुन्छ समय ?
तपाईले भन्नुभएको कुरा एकदमै मुनासिव हो , चाहना हुँदाहँदै पनि जति समय सहकारी क्षेत्रमा दिनुपर्ने हो त्यती दिन सकिराखेको छैन तर पनि विगत लामो समय देखी यस क्षेत्रमा आवद्ध रहेर आएकाले सहकारी अभियानमा आफ्नो तर्फबाट केही योगदान पुगोस् भनेर नै हरसम्भव मैले समय दिईरहेको छु । समय व्यवस्थापन गर्न सक्छु भनेर नै यस भिजन किर्तिपुर वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदको जिम्मेवारी लिएको छु साथसाथै नेशनल कोअपरेर्टस एलाईन्स क्षेत्र नं १० को संयोजकको जिम्मेवारी पनि लिएको छु । एउटा जिम्मेवार व्यक्तिको हैसियतले मैले केही समय दिएर सहकारी अभियानमा एउटा ईटा थपिन्छ भने किन नगर्ने भन्ने सिद्धान्त लिएर अघि बढेको छु ।
३.सहकारी अभियानमा नेशनल कोअपरेर्टस एलाईन्सको भूमिका के हुनेछ ?
यो हामी प्रजातान्त्रिक विचारधाराका सहकारीकर्मी साथीहरुको संस्था हो । यसले प्रथम त सहकारीकर्मी साथीहरुलाई एकढिक्का बनाउन मद्धत पुराउँछ । साथसाथै वर्तमान अवस्थामा सहकारीको आधारभूत मूल्य र मान्यता विपरित बगिरहेको तीतो यथार्थलाई मनन गर्दै सहकारी अभियानलाई वामपन्थीकरण हुनबाट जोगाउने हाम्रो प्रयास रहनेछ । प्रस्ट भन्दा यसको प्रमुख उदे्श्य भनेको सहकारी अभियानलाई आफ्नो. मूल धारमा ल्याउनु नै हुनेछ ।

४.भनेपछि तपाईहरु अब सहकारी अभियानलाई प्रजातान्त्रिक धारमा ल्याउन चाहनुहुन्छ होइन त ?

मेरो भनाइको मतलब त्यो होइन् ,हामी सहकारीलाई यो धार त्यो धार भन्दा पनि सहकारीको जुन आधारभुत मूल्य र मान्यता छन् त्यसैअनुरुपको यसैको आफ्नै मौलिक धारमा अगाडि बढोस भन्ने हाम्रो मान्यता हो ।
५.अहिले सहकारी ऐनको संशोधनको विषयमा जुन चर्चा परिचर्चा भईरहेको छ , तपाईको विचारमा यो कत्तिको सान्दर्भिक छ ?
सान्दर्भिक छ भन्नुपर्छ । परिवर्तन समयको माग हो । हिजो र आजको सामाजिक, आर्थिक, राजनैतिक परिवेश फरक छ, तसर्थ बदलिँदो परिवेशलाई मध्यनजर गरेर अगाडि बढनु नै बुद्धिमानी हुनेछ । आजभन्दा २३ वर्ष पहिले बनेको ऐनले निश्चय पनि आजको परिवेशलाई समेटन सकेको छैन् । आज सङख्यात्मक रुपमा तीस हजारभन्दा बढी सहकारीहरु छन् । यो वृद्धि सँगसँगै सहकारीहरुमा विभिन्न किसिमका विकृतीहरु देखापरेका छन् । ती विकृतीहरुलाई न्युनिकरण गर्ने, विभिन्न खराब सहकारीमा फसेका सर्वसाधारणको निक्षेपलाई कसरी सम्बोधन गर्ने जस्ता कुराहरु स्पष्ट रुपमा ऐनमा उल्लेख नहँुदा सहकारी अभियानले सोचेजति उचाइ पाउन सकिरहेको छैन् । यस मानेमा पनि सहकारी ऐेनको संशोधन अपरिहार्य छ जस्तो लाग्छ मलाई । प्रस्तुतीः माधव गौतम


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर