अर्थमन्त्री डा महतद्वारा फास्ट ट्रयाक र सफ्ट मोडलबाट काम गर्न एडीबीलाई आग्रह


काठमाडौं, माघ १९ । अर्थमन्त्री डा रामशरण महतले नेपालमा सञ्चालित आयोजनाहरुको कार्यान्वयन छिटो हुने ढंगले नयाँ मोडल बनाउन एसियाली विकास बैंकलाई आग्रह गर्नुभएको छ । अर्थमन्त्री डा महतले नेपाल भ्रमणमा रहनुभएका बैंकका अध्यक्ष ताकेहिको नाकाओसँग अर्थमन्त्रालयमा भएको कुराकानीका क्रममा सो आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो, लामो प्रक्रियाका कारण परियोजनाको कार्यान्वयनमा ढिलाई हुने गरेको छ । बैंकद्वारा सञ्चालित आयोजनाहरुको कार्यान्वयनलाई तिब्रता दिन फास्ट ट्रयाक र सफ्ट मोडलबाट काम गर्न आवश्यक छ यसले छिटो नतिजा आउनेछ ।
सो अवसरमा उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम छिटो हुनुपर्नेमा जोड भन्नुभयो, नेपालमा पर्यटक आगमनको संख्या बढ्न थालेको छ । तर विमानस्थल अत्यन्तै साँघुरो भएको छ । यसलाई छिटो स्तरोन्नति गर्नु आवश्यक छ । सरकार जुनसुकै मोडलबाट काम गर्न तयार छ । सरकार, दातृसंस्था र निजीक्षेत्र मिलेर पनि स्तरोन्नतिको काम गर्न हामी तयार छौं ।
जलविद्युतमा पछिल्लो समयमा राम्रो प्रगति भएको जानकारी दिदै उहाँले भन्नुभयो, बैंकको समेत सहयोगमा सञ्चालित तनहुँ जलविद्युत आयोजनाको काम अगाडि बढिसकेको छ । अव अन्य आयोजनाहरुको काम पनि हामी अगाडि बढाउन चाहन्छौं । उहाँले पछिल्लो समय आर्थिक परिसूचकहरु सकारात्मक रहेको उल्लेख गर्दै निकासीमा अझै पनि सुधार हुन नसकेको बताउनुभयो । लगानीको वातावरणमा सुधार भैरहेको छ । अर्थमन्त्री डा महतले भन्नुभयो, जलविद्युत आयोजनाहरु समयमा पूरा हुन सकेमा उर्जाको नियमित आपूर्ति भै उद्योग क्षेत्रको विकास हुन सक्ने र निर्यातमा पनि बृद्धि हुन सक्नेछ । उर्जा, पर्यटन र सिमेन्ट उद्योगमा लगानी बढेको उल्लेख गर्दै उहाँले केही बर्षपछि सिमेन्टको निर्यात हुने जानकारी दिनुभयो ।
भैरहवाको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढिसकेकोले यसले बढ्दो पर्यटक आगमनलाई मद्दत पु¥याउने आशा व्यक्त गर्नुभयो । सो विमानस्थल बैंकको सहयोगमा निर्माण शुभारम्भ भैसकेको छ । अर्थमन्त्री डा महतले भन्नुभयो, लुम्बिनीमा गौतम बुद्धभन्दा पनि अघिका पुरातात्विक महत्वका बस्तुहरु भेटिएका छन । यसले विमानस्थलको निर्माणसँगै पर्यटन क्षेत्रलाई अझ थप सहयोग पु¥याउनेछ ।
नेपालले आगामी सन २०२२ सम्ममा कम विकसितबाट विकासशील मुलुकको दाँजोमा पुग्ने संकल्प गरेको स्पष्ट पार्दै यसका लागि नेपालले ठूलो स्तरमा लगानी गरी उच्च आर्थिक वृद्धि हासिल गर्नुपर्ने बताउनुभयो । सो अवसरमा बोल्दै बैंकका अध्यक्ष नाकाओले आर्थिक विकासका लागि राजनीतिक स्थिरता आवश्यक हुने बताउनुभयो । स्थिति अनुकूल भएकोले ठूलो लगानीको लक्ष्य राख्न सुझाउदै उहाँले भन्नुभयो, पूर्वाधारको क्षेत्रमा लगानी बढाउनुपर्ने जरुरी छ । उहाँले नेपालमा बैंकका धेरै परियोजनाहरु भएको जनाउँदै तिनलाई घटाएर प्राथमिकताप्राप्त ठूला परियोजनामा केन्द्रित हुन सकिने बताउनुभयो । अध्यक्ष नाकाओले बैंकको नेपालस्थित मिसन कार्यालयलाई बढी अधिकार प्रत्यायोजन गरी छिटो काम गर्न निर्देश गरेको पनि स्पष्ट पार्नुभयो ।
त्यस्तै भेटघाटका अवसरमा सचिव सुमनप्रसाद शर्माले त्रिभुवन विमानस्थलको स्तरोन्नतिको काम छिटो सक्नुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्रालयमा भएको भेटघाट तथा छलफल कार्यक्रममा सहसचिव मुधकुमार मरासिनी तथा मन्त्रालयका अधिकारीहरु र बैंकको नेपालस्थित कार्यालयका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
अध्यक्ष नाकाओले नेपालमा रहँदा प्रधानमन्त्री सुशील कोइराला, योजना आयोगका पदाधिकारीहरुका साथै अन्य सरकारी उच्च अधिकारीहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जागिरे दवाब छोडेर किसानी कमाल
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
उद्यम विकास साकोसको साधारणसभा सम्पन्न