राजनीतिको अखडा बन्दै केन्द्रिय सहकारी संघ


तुलसी सुवेदी
काठमाडौं, २० माघ । सहकारीका केन्द्रिय संघहरु राजनीति गर्ने अखडा मात्र बनेका छन् । राजनीति गर्नका लागि र आफ्नो दुनो सोझ्याउनका लागि केन्द्रिय संघ बनाउनेको लहर नै चलेको छ भन्दा फरक पर्दैन ।
पछिल्लो समयमा राजनीतिक अभिष्ट पूरा गर्नका लागि केन्द्रिय संघ बनाउने क्रम ह्वात्तै बढेको छ । सहकारी विभागका अनुसार २० भन्दा बढी केन्द्रिय संघ दर्ता भएका छन् । दर्ता भएका केन्द्रिय संघहरुमध्ये बित्तीय, बहुउद्देश्यीय, सेवामूलक, उपभोक्ता एवम् कृषि उत्पादन प्रकृतिका छन् । दर्ता भएका २० मध्ये एक दर्जन बढी केन्द्रिय संघहरु कृषि उत्पादनसँग सम्बन्धीत छन् ।
पछिल्लो समयमा सहकारी आफ्नो कब्जामा ल्याउन खोज्ने प्रवृति देखा परेको छ । सहकारीमा राजनीति हुनुहुदैंन, गर्नुहुदैँन भन्ने गरिए पनि खुलेआम सहकारीमा राजनीति हुने गरेको छ । यसकै परिणाम स्वरुप राजनीति गर्नकै लागि केन्द्रिय संघहरु खुल्ने क्रम बढेको छ ।
कृषिसँग सम्बद्व दर्जन केन्द्रिय संघ खुलेपनि कृषिको आशातीत प्रगति हुन सकेको छैन । नेपाल कृषि प्रधान देश भएतापनि सहकारीहरुले कृषिमा पर्याप्त लगानी गर्न सकेका छैनन् ।
कृषिका दर्जन केन्द्रिय संघ दर्ता भएपनि कुनै पनि एउटा संघ बलियो बन्न सकेको अवस्था छैन । अधिकांश केन्द्रिय संघहरु कार्यालय व्यवस्थापनका लागि समेत सरकारसँग अनुदानका लागि भीख माग्दै हिडेँको पाइन्छ । उनीहरुले आफ्ना सदस्य सहकारीको क्षमता अभिवृद्वि गर्न तथा व्यवसाय प्रवद्र्वन गर्न सक्षम केन्द्रिय संघ कुनै पनि छैनन् । कृषिसँग सम्बद्व अधिकांश केन्द्रिय संघहरुको अवस्था दयनीय नै छ ।
पछिल्लो समयमा पशुपालन केन्द्रिय सहकारी संघ दर्ता भएको छ । संघका अध्यक्ष बाबुराम अधिकारी दुध सहकारी केन्द्रिय संघका उपाध्यक्ष समेत हुन् । तपाई दूग्ध उत्पादन सहकारीको उपाध्यक्ष पशुपालन केन्द्रिय सहकारी संघको किन आवश्यकता देख्नुभयो भन्ने प्रश्नमा उनी भन्छन्– ‘दुध सहकारीले मासुजन्य सहकारीलाई समेट्न नसक्ने भएकाले हामीले छुट्टै केन्द्रिय संघ दर्ता गरेका हौं ।’
पशुपालन केन्द्रिय संघमा ३३ सहकारी आबद्व भएको उनले बताए । पशुपालन सहकारी भनेर देशभर ९५ वटा सहकारी दर्ता भएको बताइन्छ । त्यस्तै उता दुध केन्द्रिय सहकारीमा भने ८ सय ५५ सहकारी सदस्य भएका छन् । देशभर दुध सहकारी १ हजार ८ सय छन । संघका अध्यक्ष अधिकारीले सहायक जिम्मेवारीभन्दा प्रमुख जिम्मेवारीमा रहदाँ धेरै फरक अनुभूति गरेको जानकारी दिए । आवश्यकता भएर नै पशुपालन केन्द्रिय सहकारी संघ दर्ता दर्ता गरिएको उनको भनाई थियो ।
कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेम पाठकले सबै कृषि सम्बद्व केन्द्रिय संघ मर्ज गरेर बलियो कृषि संघ बनाउन सकिने बताए । कृषिका विभिन्न प्रकृतिका केन्द्रिय संघ दर्ता गर्ने चलन बढेकाले आफूहरुले पनि साना किसान सहकारीबाहेक कृषिकै अन्य प्रकृतिकै सहकारीलाई सदस्यता नदिइएको उनले बताए ।
‘यसमा कृषिकै अन्य प्रकृतिको सहकारीलाई सदस्यता दिदाँ किन राखिएको, किन सदस्य भन्ने प्रश्न आउँछ, त्यसकारण हामीले साना किसान सहकारीबाहेक अन्य सहकारीलाई सदस्यता दिदैंनौं’ उनले भने । तर कृषिका केन्द्रिय संघलाई मर्ज गरेर बलियो संघ बनाउन सकिने उनको भनाई थियो ।
पशुपालन संघका अध्यक्ष एवम् दुध केन्द्रिय संघका उपाध्यक्ष अधिकारीले साना किसान सहकारीका रुपमा कृषि भएपनि सारमा बचत तथा ऋण प्रकृतिका भएको आरोप लगाए । ‘उहाँहरुको कार्यक्षेत्र गाविसको प्रत्येक वडामा हुनैपर्ने प्रावधान छ तर अरु सहकारी एउटै वडा मात्र कार्यक्षेत्र बनाए पुग्छ, अन्य केही नियमहरु समेत भिन्न छन्’ उनले भने ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन