दोस्रो साकोस शिखर गोष्ठी शुरु
सहकारीबिना देशले आर्थिक प्रगति गर्न सक्दैन ः उपप्रधान तथा गृहमन्त्री गौतम
काठमाडौं, २३ माघ उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले सहकारीबिना देशले आर्थिक प्रगति गर्न नसक्ने बताउनुभएको छ । उदार आर्थिक नीति र राज्य नियन्त्रीत आर्थिक नीति अपनाएका देशहरु असफल भएको उल्लेख गर्दै उहाँले आर्थिक प्रगतिका लागि सहकारीलाई बलियो खम्बा बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रियसहकारी संघ (नेफ्स्कून) को आयोजनामा शुक्रबारबाट राजधानीमा सुरु भएको दोस्रो साकोस शिखर गोष्ठी उद्घाटन गर्दै गौतमले सहकारी बलियो भएमा राज्यले छिटो आर्थिक प्रगति गर्ने बताउनुभयो । ‘सहकारीबिना देशले आर्थिक प्रगति गर्न सक्दैन्’ उहाँले भन्नुभयो, ‘आर्थिक विकासका लागि सहकारीलाई बलियो खम्बा बनाउनुपर्छ ।’
संविधानपछि आर्थिक सम्वृद्धि द्रुतगतिमा अघि बढ्ने दावी गर्दै उहाँले सहकारीमैत्री संबिधान बनेमात्र देशको अर्थतन्त्र शक्तीशाली बन्ने बताउनुभयो ।
नेफ्स्कूनले बचत तथा ऋण सहकारीको अनुगमन र एकीकरणमा जोड दिनुपर्ने गृहमन्त्री गौतमले जोड दिनुभयो । ‘अब सहकारीले उत्पादनमा जोड दिनुपर्छ । उत्पादनबिना देश विकास सम्भव छैन्’ उहाँले भन्नुभयो । सहकारीले कृषि, उद्यमशीलता, स्वरोजगार र गरिबी उन्मुलनमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
सहकारी तथा गरीबी निवारण मन्त्रालयका निमित्त सचिव सुरेश प्रधानले सहकारीले राष्ट्र मजबुद बनाउन सहयोग पुर्याएको बताउनुभयो । ‘यसले प्रविधि, शिप, पुँजी र बजार भए मात्र गरीबी निवारण गर्न सकिन्छ । यसमा सहकारीको भूमिका महत्वपूर्ण छ’ उहाँले भन्नुभयो । सहकारी नीतिको माध्यमबाट सहकारीको सवल, सक्षम र प्रभावकारी बनाउन एक्सन प्लान बनाउने काम भइरहेको उहाँको भनाई थियो । सहकारी नियमनमा प्रभावकारी बनाउन क्रियाशील रहेको उहाँले बताउनुभयो । ‘सहकारीमा विसंगती पनि छ, विसंगति नियन्त्रण गर्न साकोस समिटले रचनात्मक नयाँ मार्गदर्शन गर्न सक्नुपर्छ । ’उहाँले भन्नुभयो ।
सहकारी विभाग रजिष्टार विष्णुहरि पौडेलले सहकारीको पूर्ण व्यवसायिक विकासका लागि नेफ्स्कूनले सुरु गरेको राष्ट्रिय मापदण्ड (प्रोवेसन) लागु गर्न आफूहरु तयार रहेको बताउनुभयो । ‘सहकारीमार्फत अघि बढाउनु विभाग कटिवद्ध रहेको छ । यसले संस्थाको क्षमता अभिवृद्धिमा टेवा पुग्ने छ ।’ रजिष्टार पौडेलले संस्थाहरुको मर्जका लागि पहल गर्न आग्रह गर्नुभयो ।
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडालले सहकारी अनुशासित र व्यवस्थित सहकारी अहिलेको आवश्यकता भएको बताउनुभयो । ‘सहकारीले अर्थतन्त्रलाई गतिवान बताउन थप टेवा पुगेको छ, अझै सहकारीको पहुँच र बिस्तारमा जोड दिन आवश्यक छ’ उहाँले भन्नुभयो । सहकारी निजी कम्पनी भन्दा फरक रहेको र यसले समाजिक व्यवसायमा जोड दिने उहाँको भनाई थियो । सामाजिक न्याय र उत्पादनमा सहकारी सक्षम रहेकाले सहकारीबाट नै आर्थिक सम्भव हुने उहाँले बताउनुभयो । अध्यक्ष बडालले व्यापार घाटा कम गर्नमा सहकारीले सहकारीले भूमिका खेल्ने उल्लेख गनुभयो ।
नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेले सहकारी सुशासनमा बस्न अत्यावश्यक भएको बताउनुभयो । बचत तथा ऋण सहकारीका लागि छुट्टै ऐन बनाउन सके व्यवस्थित ढंगले सहकारी सञ्चालन हुने बताउनुभयो । सहकारी सुरक्षित बनाउन नेफ्स्कुनले एकीकृत साकोस प्रणालीमा जोड दिएको बताउनुभयो ।
५ सय भन्दा बढी सहकारीकर्मीको उपस्थित रहेको गोष्ठीमा एकृकित साकोेस प्रणाली, साकोसमार्फत वित्तीय समावेशीकरण र युवा तथा महिला सशक्तिकरणका मुद्दा, साकोस एकिकरण, वित्तीय साक्षरतालगायतका विषयमा कार्यपत्र प्रस्तुती र छलफल हुनेछ । गोष्ठीको दोस्रो दिन शनिबार छलफलका विषयवस्तु समेटेर काठमाडौं घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको नेफ्स्कूनले जनाएको छ ।
नेफ्स्कून नेपालका बचत तथा ऋण सहकारीहरुको केन्द्रीय छाता संगठन हो । संघमा हाल देशभरका करिब २३ सय संघसंस्था आवद्ध रहेका छन् । संघले सहकारीहरुको क्षमता अभिवृद्धीका विभिन्न कार्यक्रम संचालन गर्दै आएका छ ।