आयोजना व्यवस्थापन कार्ययोजना गोष्ठी सम्पन्न


काठमाडौं, माघ २८ । व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले मध्यमाञ्चल क्षेत्रका कृषि विकास तथा पशुसेवा क्षेत्रमा कार्यरत अधिकृतहरुका लागि आयोजना व्यवस्थापनसम्बन्धी कार्यशाला गोष्ठी आयोजना गरेको छ । गोष्ठीमा मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय तथा पशुसेवा निर्देशनालयसहित उक्त क्षेत्रका १९ जिल्लाहरुका जिल्ला कृषि विकास कार्यालय तथा जिल्ला पशुसेवा कार्यालयमा कार्यरत प्याक्टका लागि तोकिएका फोकल पर्सनहरु सहभागी थिए । सहभागीहरुले गोष्ठी जानकारीमूलक भएकाले यसको अवधी बढाएर कम्तिमा पनि एक साता पु¥याइनुपर्ने माग गरेका थिए । तीन दिन सञ्चालित गोष्ठीमा आयोजना व्यवस्थापनका विभिन्न पक्षहरु जस्तै अनुगमन तथा मुल्यांकन,आयोजनाको लेखा व्यवस्थापन, आयोजनाको लैंगिक,सामाजिक तथा वातावरणीय सुरक्षालगायतका विषयहरुमा सम्बन्धित विषयका विज्ञहरुले सत्र सञ्चालन गरेका थिए । आयोजनाको समापन सत्रलाई बुधबार अपरान्ह सम्बोधन गर्दै प्याक्टका आयोजना निर्देशक योगेन्द्रकुमार कार्कीले सबै अधिकृतहरुले सिकेका पाठहरुलाई आआफ्नो कार्यक्षेत्रमा लागू गरी बढी भन्दा बढी सर्वसाधारणलाई सेवा प्रदान गर्ने आशा व्यक्त गर्नुभयो । उहाँले सरकारले नियमित कार्यक्रम तथा आयोजनाहरुमार्फत कृषि क्षेत्रको व्यवसायीकरणमा जोड दिएको बताउनुभयो ।
पूरक अनुदान प्रदान गरिएका उपआयोजनाहरुको अनुमगन तथा मुल्यांकनका लागि सम्बन्धित क्षेत्रका जिल्ला कृषि विकास तथा जिल्ला पशुसेवा कार्यालयका एकजना अधिकृतलाई फोकल पर्सनका रुपमा लिइने व्यवस्था छ । ती अधिकृतहरुको क्षमता अभिवृद्धि गरीसम्बन्धित जिल्लाहरुमा सञ्चालित उपआयोजनाहरुको उनीहरुमार्फत अनुगमनमा गराउने व्यवस्था गरिएको आयोजनाले जनाएको छ ।
व्यवसायिक कृषि तथा व्यापार आयोजना, नेपाल सरकारले विश्वबैंकको सहयोगमा सन् २००९ देखि ६ वर्षका लागि कार्यान्वयनमा ल्याएको हो । सुरुमा पूर्वाञ्चलबाहेक ४ विकास क्षेत्रका तराइका १५ र पहाडका १० गरी २५ जिल्लामा लागु गरिएको आयोजना सन् २०१२ मा विश्व बैंकले पहिलो मध्यावधि मुल्यांकनमार्फत सहयोग रकम थप गर्ने निर्णय गरेपछि आयोजनाको कार्यक्षेत्र विस्तार गरी देशभर लागु गरिएको हो । त्यसैगरी आयोजनाको अवधि पनि बढाइ सन् २०१८ सम्म पु¥याइएको छ । आयोजनाले १० हजार अमेरिकी डलरदेखि एक लाख अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ पूरक अनुदान सेवाग्राहीलाई उपलब्ध गराई कार्यक्रम सञ्चालन गर्ने गरेको छ । १० हजार डलर बराबरको पूरक अनुदान सहयोग लघु अनुदानमा र बाँंकी दुई किसिमका अनुदान साना तथा मझौला अनुदानमा वर्गीकृत गरिएको छ ।

आयोजनाले राष्ट्रिय आयोजना निर्देशन समितिले तोकेका कृषि उपजहरुको मुल्यशृंखलामा आवद्ध कृषक समूह, कृषि सहकारी तथा कृषि उद्यमीको प्रतिष्पर्धात्मक क्षमता वृद्धि गर्ने लक्ष्य राखेको छ ।
हाल आयोजनाको दोस्रो मध्यावधी मूल्यांकन जारी छ । दात्रृ निकाय विश्व बैंकले आयोजनामार्फत कृषिको व्यवसायिकरणका लागि थप आर्थिक सहयोग दिने जनाइसकेको छ ।
आयोजनाले पहिलो आह्वान अन्तर्गत पूरक अनुदानमार्फत सञ्चालनमा ल्याएका ४९ र दोस्रो आह्वानमार्फत सञ्चालित २०४ मध्ये १३० उपआयोजनाहरु सम्पन्न भइसकेका छन् । बाँंकी केही महिनाभित्र सम्पन्न हुने अवस्थामा छन् । ती उपआयोजनामार्फत करिव ६३ हजार मानिसले प्रत्यक्ष लाभ लिएका छन् । यसरी लाभ पाउने मध्ये करिव ४४ प्रशित महिला छन् । तेस्रो आह्वान अन्तर्गत पूरक अनुदानका लागि छनोट भएका २६७ उपआयोजनाहरु कार्यान्वयनमा आएका छन् भने चौथो र पाँचौं आह्वान अन्तर्गत माग गरिएका आवेदकहरुको स्थलगत प्रमाणीकरण जारी छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन