जिल्ला बहुउद्देश्यीय संघको साधारणसभा
एक करोडसम्म कारोबार गर्ने सहकारीलाई कर छुट दिइनुपर्नेमा जोड
काठमाडौं, फागुन १ ।जिल्ला बहुउद्देश्यीय सहकारी संघको साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीमार्फत रचनात्मक काम गर्नुपर्ने मा जोड दिएका थिए ।
राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेंलले एक करोड रुपैंयासम्म कारोबार गर्ने सहकारीलाई कर छुट गरिनुपर्ने बताउनुभयो। कडेंलले नगर तथा ग्रामिण क्षेत्रमा संचालित सहकारीलाई कर छुट गर्नुपर्ने बताउनुभएको हो । ‘केही सहकारीहरु नियतबस रुपमा समस्या उत्पन्न भएका हुन् ।’ उहाँले भन्नुभयो– ‘हाल देखिएको समस्यालाई समाधान गर्न सहकारी ऐन परिमार्जन गर्नु आवश्यक छ ।’ ऐन परिवर्तनका लागि राष्ट्रिय संघले बारम्बार लविङ गर्दै आएको उहाँको भनाई थियो । त्यस्तै कार्यक्रममा काठमाडौं जिल्ला उपभोक्ता सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाईले अधिकांश बहुृद्देश्यीय सहकारी संघले बचत तथा ऋणको कारोबार गरेको बताउँदै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सुझाव दिए । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष तुलसीप्रसाद सापकोटाले बहुउद्देश्यीय सहकारीलाई रोजगारी मुलक क्षेत्रको पहिचान गरी योजना बनाई कार्यान्वयन गर्न सुझाव दिए । संघले उत्पादन र रोजगारी मुलक कार्ययोजना बनाई कार्यान्वयन समेत गरिने सापकोटाको भनाई थियो ।