सहकारीको प्रबद्र्वन गर्न नै मेरो ध्यान जानेछ


केदार मानन्धर
सञ्चालक– राष्ट्रिय सहकारी विकास बोर्ड
तपाई राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्त हुनुभएको छ, के छन् तपाईका एजेन्डा ?
सहकरी विकास बोर्डमा सरकारले मसहित अरु सहकारीकर्मीहरुलाई पनि बोर्डको सञ्चालकमा नियुक्त गरेको छ । मेरो मुख्य एजेन्डा भनेको सहकारीको प्रवद्र्वन गर्ने हो । सहकारीका समस्याहरु कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा मेरो ध्यान जानेछ । बोर्डमा मसहित सबै विकास क्षेत्रका साथीहरु पनि रहेकाले बोर्डलाई सहकारी प्रवद्र्वनतर्फ अझ अग्रसर बनाउने मेरो भूमिका हुनेछ । त्यसका लागि सहकारीका समस्याहरु पहिचान गर्नुप¥यो, निराकरणका लागि ध्यान जानेछ । सहकारी ऐनको मस्यौदा मन्त्रालयमा पुगेको छ । ऐन छिटो पारित गरी ल्याउनका लागि जोड दिनेछु । kedar manandar
सहकारी ऐन निर्माणमा किन ढिलाई भएको जस्तो लाग्छ तपाईलाई ?
निश्चित रुपमा सहकारी ऐन मस्यौदा बनाउने क्रममा सहकारीकर्मीबीच कम छलफल भएको र केही बिमती रहेको पाइयो । सहकारी ऐन २०४८ कोे भावना नमर्नेगरी सहकारी ऐन ल्याउनुपर्छ भन्ने हाम्रो मान्यता हो । २०४८ को सहकारीले सहकारीको प्रबद्र्वनमा टेवा पु¥याएको छ । केही साथीहरुको विमती छन् भने सहकारी आन्दोलनका साथीहरुलाई एकीकृत गरी उहाँहरुको भावना समेट्ने गरी बोर्डमा तथा मन्त्रालयमा छलफल गरेर हामी अघि बढ्ने छौं ।
विकास बोर्डले २० वर्षे सहकारी विकास रणनीति निर्माण गर्न थालेको छ । कस्तो रणनीति बनाउने तयारीमा हुनुहुन्छ ?
सहकारी ऐन २०४८ पछि सहकारी दर्ता क्रम च्याउजस्तै बढे । यति धेरै मानिस सहकारीमा आबद्व भए तर सहकारीको गन्तव्य नै निश्चित भइसकेको छैन् । सहकारी आन्दोलन कहाँसम्म पुग्छ भन्ने नै निश्चित छैन । ऐन बनाउने बेला सहकारी अभियान यत्रो मुमेन्ट होला भन्ने नै परिकल्पना नै गरिएको थिएन । अब २० वर्षको रणनीति बनाएर प्रत्येक पाँच पाँच वर्षमा के के गर्ने भन्ने हामीले रणनीति बनाउन लागेका हौं । सहकारीको आन्दोलनबाट आर्थिक सक्षम सबल बनाउछौं भन्ने तयारीका साथ रणनीति बनाउन लागेका हौं ।
अधिकांश सहकारी बचत तथा ऋणमा मात्र केन्द्रित भए, अब सहकारीलाई उत्पादनशील क्षेत्रमा कसरी लैजान सकिएला ?
मेरो विचारमा सहकारीको अन्तराष्ट्रिय अभ्यास हेरौं । बचत तथा ऋण भन्दा उपभोक्ता तथा उत्पादनशील क्षेत्रका काम सहकारीले गरेका छन् । तर जुनसुकै सहकारीलाई अघि बढाउन पूँजीको आवश्यकता छ । अहिले पूँजी सही ठाउँमा छ । किनभने बचत तथा ऋण सहकारीले पैसाको किनबेच मात्र गर्ने होइन । धेरै सहकारीको संचित कोषमा रहेको पैसा जोड्दा निकै ठूलो पूँजी बन्छ । अब त्यो पैसा सदस्यहरुले उपभोग गर्ने भन्दा पनि कृषि, हाइड्रोे, उपभोक्ता सहकारी तथा सेवामूलक काममा लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्दछ । हामी त्यसैको अभियानमा लागेका छौं ।
अब कसरी सहकारी उत्पादनशील क्षेत्रमा जालान् ? पैसाको किनबेच गर्न अरु काम भन्दा सजिलो छ । सहकारीले नै उत्पादनशील क्षेत्रमा लगानी गर्ने कि, सहकारीका सदस्यहरुले उत्पादनशील क्षेत्रमा लगानी गर्ने हो ?
सहकारीमा बचत भएको सदस्यकै पैसा हो । ऐन परिमार्जन गरेर विशेष किसिमको सहकारी खोलेर उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिन्छ । सहकारी सहकारी मिलेर हाइड्रो, अस्पताल खोल्न सकिने प्रावधान ल्याउन जरुरी छ । सहकारीबाट ठूला उद्योगहरु आउन सकिरहेको छैन् । अस्पतालमा भने सहकारीले लगानी गर्न थालेका छन् । मनमोहन, महेन्द्रनारायण निधी मेमोरिअल, गणेशमान सिंह मेमोरिअल लगायतका अस्पतालमा सहकारीले लगानी गरेका छन् । त्यस्तै अब कृषि र उद्योगमा पनि सहकारीले लगानी गर्न सक्छन् ।

kedar edit

कतिपय सहकारीले निक्षेप फिर्ता गर्न सकेका छैनन् । सहकारीविरुद्व सडक आन्दोलन पनि गरिए, सहकारीका त्यस्ता समस्या कसरी सामाधान गर्न सकिन्छ ?
निश्चित रुपमा सहकारीबाट ११ अर्ब निक्षेपकर्ताले निक्षेप पाउन नसकेको भनियो । यसमा नियमन, अनुगमन पक्षको कमजोरी रहेकोको भन्नेमा त दुईमत नै छैन । दुर्भाग्य के छ भने राष्ट्र बैंकबाट अनुमतीप्राप्त शेयर मार्केट, गोरखा विकास बैंकबाट नेपाली जनताको सय अरब जति रकम डुबेको छ । तर बैंकमा राखिएको पैसा सर्वसाधारणको भन्दा धनाढ्य वर्गको डुबेकाले खासै प्रभाव परेन होला । सहकारीमा पसल थाप्ने, सामान्य मजदुरी गर्नेको पनि पैसा हुन्छ । त्यसकारण सहकारीले निक्षेप फिर्ता गर्न नसकेको कुरा चर्चामा आएको हो । सहकारीको समस्या समाधान गर्न एकदमै सजिलो छ । सरकारले उनीहरुको सम्पत्ति भ्यालुएसन गर्ने, सहकारी अभियानबाट सुक्ष्म अध्ययन गर्ने हो भने सहकारीको समस्या समाधान गर्न खासै समस्या छैन् । आयोग बनाएर मात्र हुदैँन । सुक्ष्म ढंगले अध्ययन गरी निचोडमा पुग्न सकियो भने सामान्य जनताको पैसा फिर्ता गराउन सकिन्छ ।
सहकारीका समस्या समाधान गर्न सहकारी ऐनमा केही बुँदा थपेर सम्पत्ति व्यवस्थापन समिति गठन गर्ने भनिएको थियो । यसो हुन सकेमा सहकारीका समस्या समाधान होलान् ?
सहकारी विकास बोर्डमा हामी सबै सहकारीकर्मी छौं । संघमा सहकारीमा लागेका व्यक्ति भन्दा राजनीतिमा लागेका व्यक्ति नियुक्ती गर्ने परिपाटी थियो । त्यसो हुनाले सहकारीका समस्याहरु उहाँहरुलाई पहिचान नै भएन । र अहिले हामी आफैं प्रारम्भीक सहकारी संस्था चलाउँछौं । त्यसको पीरमर्का थाहा छ । आगामी दिनमा हुन सक्ने जोखिम पनि थाहा छ । त्यसले गर्दा छिट्टै ऐन परिमार्जन गरेर हामी सहकारीका समस्या समाधान गर्न जोड दिन्छौं ।
सहकारी स्वनियमनमा चल्ने संस्था भएपनि अधिकांश सहकारी स्वनियमनमा चल्न सकेको पाइदैँन, नियामक निकायको पनि बलियो उपस्थिति देखिदैँन, यस्तो अवस्थामा सहकारीलाई कसरी व्यवस्थित गर्न सकिएला ?
सहकारी भनेको स्वनियमनमै चल्ने संस्था हो । सहकारी बिग्रदै जानुमा नियामक निकाय कमजोर भएर नै हो । यसको अर्थ सरकारी नियामक निकाय सक्रिय हुनुपर्छ भन्ने हो । तर सहकारीमा हस्तक्षेप हुनुहुदैँन । सहकारीमा हस्तक्षेप हुदाँ पञ्चायत कालका साझा सहकारीको जस्तो हुन्छ । स्वनियमनमा चलाउनका लागि सदस्यबीच मात्र कारोबार गर्नुपर्छ । सदस्यलाई तालिम, शिक्षाको खाँचो छ । सबै सदस्यलाई तालिम, शिक्षा दिन सक्यो भने स्वनियमनको अभ्यासलाई व्यवहारमा उतार्न सकिन्छ । यसो गर्दा सहकारीका सदस्यको जोखिम न्यून हुन्छ ।
सहकारीका शेयर सदस्य क्रियाशील नै नभएको पाइन्छ, यसले सहकारी व्यवस्थित हुन नसक्नुमा भूमिका खेलेको हो कि ?
सहकारीका शेयर सदस्य क्रियाशील नहुनु नै अहिलेको मुख्य समस्या हो । सहकारीका सदस्य क्रियाशील हुन नसक्दा नै सहकारीमा समस्या बढेको छ । सहकारीलाई बैंकको रुपमा चलाउन खोजियो । सहकारीलाई फाइनान्स भनियो । सहकारी सदस्यकेन्द्रित रुपमा नै सञ्चालन गर्न सकियो भने सहकारीका धेरै समस्या समाधान हुनेछन् । हामीले त्यो प्रयास गर्न जरुरी छ ।

kedar 2
पछिल्लो समयमा नेशनल कोअपरेटर्स एलाईन्स गठन भएको छ, यसले सहकारी क्षेत्रमा कस्तो भूमिका खेल्छ ? सहकारी क्षेत्रमा यसको प्रभाव के रह्यो ?
राष्ट्रिय रुपमै नेशनल कोअपरेटर्स एलाईन्स गठन भएको छ । यसलाई प्रजातान्त्रिक विचारधाराका सहकारीकर्मीहरुको संगठन भनियो । यसभन्दा अगाडि विभिन्न ठाउँबाट सहकारीमा राजनीतिकरण गर्ने कोशिस गरियो । यसलाई शुद्विकरण गर्न हामीले एलाईन्स गठन गरेका हौं । एलाईन्समार्फत राष्ट्रिय संघदेखि प्रारम्भिक तहसम्मका सहकारीलाई सुरक्षित गर्ने वातावरण तयार गरेका छौं ।
काठमाडौं जिल्ला सहकारी संघको चुनाव नजिकिदैं छ, अबको नेतृत्व कस्तो आउनुपर्छ ?
निश्चितरुपमा काठमाडौं भनेको सहकारीको सबैभन्दा ठूलो कारोबार हुने ठाउँ हो । सहकारी आन्दोलन काठमाडौंबाट नेतृत्व भइरहेको छ । त्यसकारण हिजोको सदस्यता १८ सय २० सदस्य बनाएर मात्र पुग्दैन् । अबको नेतृत्वले सहकारी व्यवस्थित गर्नेतर्फ ध्यान दिनु पर्छ । सहकारीे अभियानलाई दिशानिर्देश गर्न सक्ने टिमले सहकारी संघको अबको नेतृत्व लिनु पर्छ । त्यस्तै नयाँ ढंगले सहकारी सञ्चालन गर्न सक्ने युवापुस्ता र अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात गर्न सक्ने नेतृत्वको खाँचो छ । काठमाडौंमा सञ्चालन भएका कतिपय सहकारी संघमा आबद्द छैनन्, तीनलाई आबद्द गराउन जरुरी छ र आबद्द भएकालाई आवश्यक सेवा दिनेतर्फ अब संघले सोच्नुपर्छ ।
अन्य जिल्लामा पनि अधिकांश सहकारीका संघहरुले सीमित सहकारी बोकेर हिडेको पाइन्छ । यसलाई चिर्दै बढी भन्दा बढीलाई संघहरुमा आबद्वता गराउन के गर्नुपर्ला ?
साना साना सहकारी बनाउने, झोलामा राख्ने र आफ्नो स्वार्थ पूरा गर्ने परिपाटि सहकारीका विभिन्न संघहरुमा छ । अब सक्षम प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिले नै जिल्ला संघ हाँक्नुपर्छ र हाक्नेछन् । त्यस्ता सहकारीलाई गोलबन्द गरेर हामी अघि बढ्छौं ।
पछिल्लो समयमा तपाईहरु सहकारीमार्फत स्वास्थ्य क्षेत्रमा क्रियाक्रिल हुनुभएको छ ? सहकारीले सञ्चालन गरेको अस्पताल अरुभन्दा कसरी फरक हुन्छ ?
हामीले सहकारीमार्फत गणेशमान सिंह मेमोरिअल अस्पताल सञ्चालनमा ल्याएका छौं । निजी क्षेत्रले सञ्चालन गरेको अस्पतालमा सर्वसाधारणको पहुँच पुग्दैन् । त्यस्तै सरकारी हस्पतालमा पनि कोटा कम हुने भएकाले उपचार पाउन सक्दैनन् । तर सहकारीले चलाएको अस्पतालमा सर्वसाधारणको सहजै पहुँच पुग्नेछ ।

 प्रस्तुतीः तुलसी सुवेदी


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?
‘बिपी चिन्तन र सहकारी’ विषयक विमर्श सम्पन्न
उपासना सहकारीद्वारा एएके खाद्य उद्योगको उद्घाटन सम्पन्न
“संकट अघि र पछिको सहकारी भुमिका”