नेपाल अडिटर्स एशोसिएशन (अडान) को तेस्रो राष्ट्रिय परिषदकोे तयारी पूरा


पोखरा, फागुन ८ । मुलुकभरका लेखापरीक्षकहरुको साझा पेशागत संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) को तेस्रो राष्ट्रिय परिषद (८–९ फागुन २०७१, पोखरा) तयारी पुरा भएको छ । आज अडानले पोखरामा पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो । मुलुकभरका ३०० भन्दा प्रतिनिधिहरुको सहभागितामा सम्पन्न हुने राष्ट्रिय परिषद दुई दिनसम्म चल्नेछ ।

राष्ट्रिय परिषदले तत्काल संविधानको सुनिश्चिततासहित विद्यमान राजनीतिक संक्रमणको अन्त्य गरी सामाजिक एवम् आर्थिक समृद्धिको कार्यदिशालाई अगाडि बढाउनुपर्ने आवश्यकतावोध तमाम नेपाली जनताले गरिरहेको सन्दर्भमा सामाजिक सुशासन र आर्थिक अनुशासन कायम गर्ने सन्दर्भमा लेखापरीक्षकहरुको जिम्मेवारीलाई सम्वैधानिक र नीतिगत रुपमा स्पष्ट रुपमा सम्वोधन गराउनेजस्ता विषयहरुलाई प्राथमिकतासाथ उठाउनेछ । परिषदले लेखापरीक्षण गराउनुपर्ने निकायहरुको संख्याको तुलनामा लेखापरीक्षक जनशक्तिको संख्या पर्याप्त नभएको सन्दर्भमा एक व्यक्ति एक पेशा नीति तत्काललाई पर सार्न, लेखापरीक्षण रकमसीमा समयानुकुल वृद्धि, सरल वर्गवृद्धि, क्षमतावान आरएहरुलाई चार्टर्ड एकाउण्टेन्सी (सिए) मा सहज प्रवेश, क्षमता एवम् गुणस्तरीता अभिवृद्धि, आइक्यान परिषदमा आरएहरुको संख्या र भूमिका वृद्धिलगायत विषयहरुमा छलफल गर्नेछ ।

परिषदले एक व्यक्ति एक पेशा नीतिलाई केही समय पर सार्न, आरएहरुलाई सिएमा सहज प्रवेश गराउने र सदस्यहरुवीच अडानको आचारसंहिता कडाइपूर्वक लागु गर्ने र अनुशासन समितिलाई प्रभावकारी रुपमा क्रियाशिल बनाउने छलफल गर्नेछ ।

अडानको तेस्रो राष्ट्रिय परिषद मूल तयारी समितिका संयोजक विष्णुहरि तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा अडानका प्रथम उपाध्यक्ष एवम् आइक्यान पार्षद मोहन सुवेदी, केन्द्रीय उपाध्यक्ष एवम् आइक्यानका पूर्वपार्षद कृष्ण पौडेल, केन्द्रीय उपाध्यक्षहरु दिनकरमानसिंह प्रधान, गोपाल पाण्डे, सल्लाहकार प्रा. डा. दुर्गानन्द चौधरी, अडान पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष केशबहादुर केसी र कास्की अध्यक्ष चन्द्र सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।

अडान अध्यक्ष मोहनराज रेग्मीको अध्यक्षतामा हुने परिषदको उदघाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले पोखरा जिरो किमीस्थित न्यू एरा पार्टीप्यालेसमा उदघाटन गर्नुहुने परिषदमा व्यवस्थापिका संसदका विकास समितिका सभापति रविन्द्र अधिकारी, माननीय सभासदहरु, क्षेत्रीय प्रशासक दिनेश थपलिया, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे, कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, आइक्यानका अध्यक्ष सिए. नरेन्द्र भट्टराई, बिमा समिति अध्यक्ष प्रा. डा. फत्तबहादुर केसी, धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठलगायत विशिष्ट अतिथि तथा अतिथि महानुभावहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय परिषदबाट प्राप्त हुने सुझाव र लेखापरीक्षक प्रतिनिधिहरुको भावनालाई सम्वोधन गर्दै पोखरा घोषणापत्रसमेत जारी गर्ने कार्यक्रम रहेको छ । यसअघि बिहान ८ बजे चिप्लेढुंगाबाट सहभागी हुने प्रभातफेरीमा लेखापरीक्षकहरु सहभागी हुनेछन ।

आजै अडान पश्चिमाञ्चल क्षेत्रीय समितिको दोस्रो परिषद सम्पन्न भएको छ । क्षेत्रीय अध्यक्ष केशबहादुर केसीको अध्यक्षतामा सम्पन्न परिषदमा अडानका प्रथम उपाध्यक्ष मोहन सुवेदी, केन्द्रीय उपाध्यक्ष एवम् आइक्यानका पूर्वपार्षद कृष्ण पौडेल, केन्द्रीय उपाध्यक्षहरु दिनकरमानसिंह प्रधान, गोपाल पाण्डे, सल्लाहकार प्रा. डा. दुर्गानन्द चौधरीलगायतको उपस्थिति रहेको थियो । परिषदले अध्यक्ष केसी, सचिव शिवहरि शर्मा र कोषाध्यक्ष नारायण शर्माको प्रतिवेदन सुझावहित पारीत भएको छ । क्षेत्रीय परिषदले पोखरामा हुन लागिरहेको तेस्रो राष्ट्रिय परिषदलाई भव्य बनाउने निर्णयसमेत गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले