लेखापरीक्षकहरुको समस्या र मांगप्रति सरकार गम्भीर बन्न आगह्र


पोखरा, फागुन ८ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले नेपालका लेखापरीक्षकहरुको मांग र समस्याहरुप्रति नेपाल सरकार गम्भिर रहेको बताउनुभयो । आज मुलुकभरका लेखापरीक्षकहरुको साझा पेशागत संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) को तेस्रो राष्ट्रिय परिषदको पोखरामा उदघाटन गर्दै अधिकारीले उक्त कुरा बताएका हुन । एउटा व्यक्तिले गरेको खराव कामले सम्वद्ध सबैलाई बदनाम बनाउने भएकोले लेखापरीक्षण क्षेत्रका बेथितिहरुलाई अन्त्य गर्न अधिकारीले आग्रह गर्नुभयो । लेखापरीक्षकहरुले राजस्व आयवृद्धि, सामाजिक सुशासन र आर्थिक अनुशासन कायम गर्ने भूमिकामार्फत राष्ट्रनिर्माणमा गरिरहेको योगदानको अधिकारीले प्रशंशा गर्नुभयो । लेखापरीक्षकहरुले कुनै पनि प्रभावमा नपरी पेशागत आचरण र मर्यादाको आधारमा काम गर्न जरुरी रहेको बताउदै अधिकारीले अधिकार खोजिरहदा आफनो कर्तव्य नबिर्सन सचेत गराउनुभयो ।

कार्यक्रममा बोल्दै व्यवस्थापिका संसदका विकास समितिका सभापति रविन्द्र अधिकारीले पेशारत लेखापरीक्षकहरुको क्षमता अभिवृद्धि गरेर अहिलेको आवश्यकता पुरा गर्नुपर्ने बताउनुभयो । लेखापरीक्षकहरुलाई अनुशासित, जिम्मेवार र अध्यावधिक बनाउने दायित्व राज्यको पनि भएको बताउदै अधिकारीले त्यसका लागि सरकारले आवश्यक नीति र बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

परिषदमा बोल्दै अडान अध्यक्ष मोहनराज रेग्मीले नेपालको आर्थिक अनुशासन र सामाजिक सुशासनमा लेखापरीक्षकहरुले गरेको योगदानको कदर गर्न र लेखापरीक्षकहरुको हकहित र क्षमतावृद्धिमा राज्य र नियामक निकायलाई गम्भिर हुन आग्रह गर्नुभयो ।

परिषदमा सभासद भरत साउद, क्षेत्रीय प्रशासक दिनेश थपलिया, नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) का अध्यक्ष नरेन्द्र भट्टराई, बिमा समितिका अध्यक्ष प्रा. डा. फत्तबहादुर केसी, धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठ, पेशागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल, अडानका संस्थापक अध्यक्ष कमल खरेल, आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा, टे«ड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुंवर, अखिल नेपाल ट्रेड युनियन महासंघका राजेन्द्र न्यौपानेलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण महासचिव केदारनाथ पौडेल, स्वागत तेस्रो राष्ट्रिय परिषदको मूल व्यवस्थापन समितिका संयोजक विष्णुहरि तिमिल्सिना र धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद अधिकारीले गर्नुभएको थियो ।

दुई दिनसम्म चल्ने परिषदमा ६५ जिल्लाका ३२५ प्रतिनिधिहरुले भाग लिई रहेका छन । राष्ट्रिय परिषदले तत्काल संविधानको सुनिश्चिततासहित विद्यमान राजनीतिक संक्रमणको अन्त्य गरी सामाजिक एवम् आर्थिक समृद्धिको कार्यदिशालाई अगाडि बढाउनुपर्ने आवश्यकतावोध तमाम नेपाली जनताले गरिरहेको सन्दर्भमा सामाजिक सुशासन र आर्थिक अनुशासन कायम गर्ने सन्दर्भमा लेखापरीक्षकहरुको जिम्मेवारीलाई सम्वैधानिक र नीतिगत रुपमा स्पष्ट रुपमा सम्वोधन गराउनेजस्ता विषयहरुलाई प्राथमिकतासाथ उठाउनेछ । परिषदले लेखापरीक्षण गराउनुपर्ने निकायहरुको संख्याको तुलनामा लेखापरीक्षक जनशक्तिको संख्या पर्याप्त नभएको सन्दर्भमा एक व्यक्ति एक पेशा नीति तत्काललाई पर सार्न, लेखापरीक्षण रकमसीमा समयानुकुल वृद्धि, सरल वर्गवृद्धि, क्षमतावान आरएहरुलाई चार्टर्ड एकाउण्टेन्सी (सिए) मा सहज प्रवेश, क्षमता एवम् गुणस्तरीता अभिवृद्धि, आइक्यान परिषदमा आरएहरुको संख्या र भूमिका वृद्धिलगायत विषयहरुमा छलफल गरी पोखरा घोषणापत्र जारी गर्नेछ ।

यसअघि बिहान पोखराको चिप्लेढुंगाबाट बाजागाजासहित लेखापरीक्षकहरुको वृहत प्रभातफेरी मुख्य बजार परिक्रमा गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चौथो समूहको सातौं PALM कार्यशाला सम्पन्‍न
नेफ्स्कूनले महिलाद्वारा सञ्चालित साकोसहरुका लागि चैत मसान्तसम्म निःशुल्क प्रविधि सेवा उपलब्ध गराउने
साकोस व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम (CUMCC) शुरु
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा एक दिने महिला गोष्ठी सम्पन्न