आवेदकहरुका लागि साताव्यापी तालिम


व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले आफ्नो तेस्रो आह्वान अन्तर्गत सञ्चालित उपआयोजनाका व्यवस्थापकहरु तथा चौथो आह्वानमा प्रारम्भिक चरणको मुल्यांकनमा सफल भएका आवेदकहरुका लागि साताव्यापी तालिम आयोजना गरेको छ । सर्वसाधारणको सुविधालाई ध्यानमा राखी उनीहरुकै क्षेत्रमा तालिम आयोजना गरिएको मध्यमाञ्चलस्थित आयोजना कार्यान्वयन सहयोग समूहको कार्यालय (प्रिस्ट) हरिहर भवनका प्रमूख वासुदेव शर्माले बताउनुभयो । उहाँले फागुन १० गते महोत्तरीको वर्दिवास, ११ र १२ गते रौतहटको चन्द्रनिगाहापुर, १३ र १५ गते नारायणगढमा तालिम आयोजना गरिएको बताउनुभयो । तालिममा उपआयोजनाको लेखा व्यवस्थापन, अनुगमन तथा मुल्यांकन, पारदर्शिता तथा शुसासनको अभ्यास,सामाजिक तथा वातावरणीय सुरक्षा आदि विषयमा केन्द्रीत रही सम्बनिधत विषयका विज्ञहरुले सत्र सञ्चालन गरेका थिए ।
त्यस्तै आयोजनाको चौथो आह्वानमा आवेदन हाली प्राविधिक मुल्यांकन तथा स्थलगत प्रमाणीकरणमा सफल भएका आवेदकहरुका लागि पूर्ण आयोजना प्रस्ताव लेखन तालिम पनि आयोजना गरिएको छ । स्थानीय किसान तथा कृषि उद्यमीहरुले आफूले आयोजनामा हाल्ने प्रस्तावहरुलाई बढी आकर्ष बनाउन सकून् भन्ने हेतुले तालिम आयोजना गरिएको हो ।
प्याक्ट आयोजना नेपाल सरकारले विश्व बैंकको सहयोगमा सन् २००९ देखि ६ वर्षका लागि कार्यान्वयनमा ल्याएको हो । सुरुमा पूर्वाञ्चलबाहेक ४ विकास क्षेत्रका तराइका १५ र पहाडका १० गरी २५ जिल्लामा लागु गरिएको आयोजना सन् २०१२ मा विश्व बैंकले मध्यावधि मुल्यांकनमार्फत सहयोग रकम थप गर्ने निर्णय गरेपछि आयोजनाको कार्यक्षेत्र विस्तार गरी देशभर लागु गरिएको हो । त्यसैगरी आयोजनाको अवधि पनि बढाइ सन् २०१८ सम्म पु¥याइएको छ । आयोजनाले १० हजार अमेरिकी डलरदेखि एक लाख अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ पूरक अनुदान सेवाग्राहीलाई उपलब्ध गराई कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।
आयोजनाले राष्ट्रिय आयोजना निर्देशन समितिले तोकेका कृषि उपजहरुको मुल्यशृंखलामा आवद्ध कृषक समूह, कृषि सहकारी तथा कृषि उद्यमीको प्रतिष्पर्धात्मक क्षमता वृद्धि गर्ने लक्ष्य राखेको छ । १० हजार डलर बराबरको पूरक अनुदान सहयोग लघु अनुदानमा र बाँंकी दुई किसिमका अनुदान साना तथा मझौला अनुदानमा वर्गीकृत गरिएको छ ।

पाँचै विकास क्षेत्रमा बजेट तर्जुमा गोष्ठी
कृषि विकास मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटलाई बढी किसानमुखी बनाउन पाँचै विकास क्षेत्रमा २ दिने अन्तरक्रिया गोष्ठी आयोजना गरेको छ । फागुन १० देखि सुरु भएको गोष्ठी २६ गते सम्पन्न हुने मन्त्रालयको बजेट तथा योजना महाशाखाका प्रमूख योगेन्द्रकुमार कार्कीले बताउनुभयो । मन्त्रालयले १० र ११ गते सुदुर पश्चिमाञ्चलको धनगढीमा, १२ र १३ गते मध्यपश्चिमाञ्चलको नेपालगञ्जमा, १५ र १६ गते पश्चिमाञ्चलको पोखरामा गोष्ठी आयोजना गरिसकेको छ । पूर्वाञ्चल र मध्यमाञ्चलमा भने आगामी साता गोष्ठी आयोजना गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । गोष्ठीमा सम्बन्धित क्षेत्रका क्षेत्रीय प्रशासकहरु, कृषि विकास मन्त्रालयका वरिष्ठ अधिकारीहरु, विभागीय प्रमूखहरु, केन्द्रीयस्तरका निर्देशनालय तथा कार्यक्रमका प्रमूखहरु, सम्बन्धित क्षेत्रका कृषि तथा पशुसेवा निर्देशकहरु, सम्बन्धित क्षेत्रका जिल्ला कृषि विकास कार्यालय तथा जिल्ला पशुसेवा कार्यालयका प्रमूख तथा योजना अधिकृतहरु, किसानहरु तथा पत्रकारहरु एकै थलोमा बसी आगामी वर्षको बजेटबारे अन्तरक्रिया गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले यस पटकदेखि हरेक जिल्लालाई बढीमा ५ वटा बाली वस्तुमा केन्द्रीत गरी कृषि तथा पशुजन्य उत्पादनको व्यावसायिक विस्तारमा ध्यान दिन आफ्नो मातहतका कार्यालयहरुलाई निर्देशन पनि दिएको छ । त्यस्तै मुलुकलाई विभिन्न १५ क्षेत्रमा विभाजन गरी कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक उत्पादनलाई प्रवद्र्धन गर्ने पनि मन्त्रालयको योजना छ । त्यस्तै कृषि विकास, पशुसेवा तथा कृषि अनुसन्धानका क्षेत्रमा पहिलो वर्षमै २,२ वटा फार्म केन्द्रहरुलाई अत्याधुनिक सुविधायुक्त बनाइने पनि मन्त्रालयको योजना छ । यसैगरी सबै जिल्लाका कृषि विकास तथा पशुसेवा कार्यालयहरुलाई इन्टरनेट सुविधायुक्त बनाई स्काइपमार्फत भिडियो कन्फरेन्सिङका माध्यमबाट विभाग, क्षेत्रीय निर्देशनालय र जिल्ला कार्यालयहरुसँंग सम्पर्क सुत्र कायम गर्ने पनि योजना महाशाखाका प्रमूख कार्कीले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर