उपासना महिला साकोस र काठमाडौँ जिल्ला एलाईन्सद्वारा नारी दिवस कार्यक्रम
नेशनल कोअपरेटर्स एलाईन्स नेपाल, काठमाडौँ जिल्ला समिति र उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि. ले आज १०५ औँ नारी दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरे । ‘लैङ्गिक विभेदको अन्त्य: समान सहभागिताको सुनिश्चितता’ भन्ने नाराका साथ काठमाडौँको सितापाईलामा सम्पन्न कार्यक्रममा सहकारी क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरिनुको साथै अभिभावकहरुलाई बालबालिकासँग गरिनुपर्ने व्यवहार बारे सचेतना समेत दिईयो । उक्त कार्यक्रममा हालै सम्पन्न जिल्ला सहकारी संघ लि., काठमाडौँमा निर्वाचित हुनेहरूलाई बधाई दिँदै सम्मान गरियो ।
कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय सहकारी संघका उपाध्यक्ष एवम् संविधानसभाका सभासद् ओमदेवी मल्लले नारीहरूले अवसरका लागि आफूलाई अगाडि ल्याउनु पर्ने भन्दै अगाडि आउन चाहने महिलाका लागि प्रशस्तै अवसरहरू रहेको र त्यसका लागि पुरुषहरू बाधक नभइ सहयोगीकै रूपमा आउने अहिलेको परिवेश रहेको धारणा राख्नुभयो । नेशनल कोअपरेटर्स एलाईन्स नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द शर्मा पौडेलले अहिलेको अवस्थामा नारी र पुरुष विचको विभेद कम हुँदै गएको भन्दै अवसर प्राप्तिका लागि नारीहरूले पनि थप प्रयत्न गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । नेशनल कोअपरेटर्स एलाईन्स नेपालका अध्यक्ष दीपक बास्कोटाले बैदिककालमा नारीहरू नै सत्तामा रहेको भन्दै देबीका रूपमा पुजिने लक्ष्मी, सरस्वती र काली त्यस बेलाको अर्थ, शिक्षा र गृह तथा रक्षा मन्त्रालय सम्हालेको प्रतीकका रूपमा हेर्नुपर्ने बताउनुभयो । बास्कोटाले ज्ञानको उज्यालो बालेर नारीहरूले आफूमा निहित शक्तीलाई पहिचान गरे लक्ष्यमा पुग्न सहज हुने सुझाव दिनुभयो । राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक एवम् एलाईन्सका जिल्ला अध्यक्ष केदार मानन्धरले एलाईन्सले प्रारम्भिक संस्थाहरूसँग सहकार्य गरि सहकारी क्षेत्रमा रचनात्मक काम गर्ने बताउनुभयो ।