रुकुममा आगामी आर्थिक बर्षका लागी सवा २ अर्व बजेट प्रस्ताव


-धनवीर दाहाल-

रुकुम
रुकुमको जिल्ला परिषदमा आगामी आर्थिक बर्षका लागी सवा २ अर्व बजेट प्रस्ताव गरिएको छ । परिषदमा २ अर्व, ९ करोड, ७५ लाख १७ हजार बजेट प्रस्तुत गरिएको छ । बिभिन्न बिषयगत समितीहरुबाट छलफल गरी जिल्ला परिषदमा प्रस्तुत गरिएको बजेटमा रुकुमको पर्यटन विकास, सरसफाई, उर्जा, सिचाई, शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, सञ्चार तथा सुशासन तर्फ बढी जोड दिइएको छ । यसै गरी खाद्य सुरक्षा, वन तथा वातावरण, सडक र खानेपानीलाई पनि प्राथमिकतामा राखिएको जिल्ला विकास समिती रुकुमका स्थानिय विकास अधिकारी भरतकुमार शर्माले बताउनुभयो ।
रुकुम जडिबुटीको प्रचुर संभावना रहेको जिल्ला भएकोले त्यसको पहिचान, उत्पादन, संकलन, प्रशोधन, निकासी तथा संरक्षण गर्ने कार्यलाई प्रभावकारी बनाउन जोड दिइने तथा जिल्ला यातायात गुरु योजना अनुसार जिल्ला जोड्ने क्रम सडक, जिल्ला सदरमुकामबाट गाबिस भवन सम्म पुग्ने सडक, जिल्ला सडक मुख्य सञ्जालको प्राथमिकताकरणमा रहेका सडक आयोजनाहरुको निमार्णलाई प्राथमिकता दिइने निति तथा कार्यक्रममा राखिएको छ । यस्तै आकस्मिक विपदबाट हुने क्षतिलाई न्युनिकरण गर्न निमार्ण पुर्व विपद न्युनिकरण हुने खालका डिजाइन स्टमेट तथा निमार्ण भइरहेको अवस्थामा समेत गुणस्तरिय कार्य गर्न विल्डीङ कोड लाई अनिवार्य बनाइने पनि बताइएको छ । गाविसहरुमा विपद व्यवस्थापन योजना बनाइने तथा सर्वसाधारणलाई पनि चेतनामुलक कार्यक्रम गरिने उल्लेख गरिएको छ । रुकुमलाई निरक्षर मुक्त जिल्ला बनाइने कुरा पनि प्राथमिकतामा राखिएको छ । यसै गरी अस्पताल तथा गाँउका स्वास्थ्य चौकीहरुमा आवश्यक जनशक्ति तथा उपकरणहरु थप गरिने र जिल्ला अस्पताल रुकुमलाई ५० शैया बनाइने पनि प्रतिबद्धता जनाइएको छ । बिगतको द्धन्द्धबाट क्षति भएका भौतिक पुर्वाधारको पुर्ननिमार्ण गरिने र जिल्लामा उत्पादन भएका कृषि तथा तरकारीलाई व्यवस्थित गरिने लगाएतका योजनाहरु प्राथमिकतामा राखिएको छ । केही ठुला आयोजनाहरुलाई केन्द्रीय निकायमा माग गर्ने पनि निर्णय पनि गरिएको छ । मध्य पहाडी लोकमार्गको कालोपत्रे तथा पुल निमार्ण, सानो भेरी र ठुलो भेरीबाट जलबिद्युत आयोजना निमार्ण, जिल्लालाई उत्तर दक्षिण जोड्ने बाटो निमार्ण, जिल्लामा तरकारी विउ उत्पादन कारखानाको स्थापना, यार्चागुम्वा लगाएत अन्य जडिबुटीको व्यवस्थापन, जिल्लामा प्राबिधिक एवं व्यवसायिक क्याम्पसको निर्माण लगाएतका आयोजनालाई केन्द्रीय निकायबाट पहल गर्न माग गरिएको छ ।
आठौं जिल्ला परिषदलाई व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितीका सभापति तथा रुकुम क्षेत्र नं २ का सभाषद जनार्दन शर्माले उद्घाटन गर्नुभएको हो । जिल्ला परिषद उद्घाटन गर्दै पुर्व शान्ति मन्त्री समेत रहनुभएका रुकुम क्षेत्र नं २ का सभाषद जनार्दन शर्माले रुकुमको समग्र विकासका लागी परिषदले समेट्न नसकेका योजनाहरुलाई केन्द्रबाट पहल गरिने बताउनुभयो । परिषदमा रुकुम क्षेत्र नं १ का सभाषद गणेशमान पुन, सभाषद मिठु मल्ल, दलजित सिरपाली, पुर्व राज्यमन्त्री गोपालजीजंग शाह, नेकपा एमालेका केन्द्रीय सदस्य खेममान खड्का लगाएतले जिल्लाको विकास निमार्णमा परिषदले समेट्न नसकेका योजनाहरु केन्द्रबाट पहल हुनुपर्ने बताउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी विभागका रजिष्ट्रार अधिकारीद्वारा पदबहाली
नेफ्स्कूनको ५औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला
मिलिजुली साकोस प्रोवेसनमा आवद्ध
कैलालीमा उच्चस्तरीय लेखा व्यवस्थापन तालिम शुरु