बचत संघ धनुषाको अध्यक्ष यादव निर्विरोध निर्वाचित


जनकपुर,चैत्र १ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष ऋषिराज घिमिरेले बचत तथा ऋण सहकारी अभियानको उपलव्धिलाई संस्थागत गर्दै जोखिमलाई न्युनीकरण र नियमनलाई प्रभावकारी बनाउन छुट्टै बचत तथा ऋण सहकारी ऐन तथा नियमावलीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । आज जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाको पांचौं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै उक्त कुरा बताउनुभएको हो । मुलुकभरका सहकारीहरुको सञ्चालनलाई व्यवस्थित र एकरुपता दिनका लागि एकीकृत साकोस प्रणाली लागु गर्ने तयारी नेफ्स्कूनले गरिरहेको घिमिरेले बताउनुभयो । घिमिरेले सदस्य संघसंस्थाहरुको हित र क्षमता अभिवृद्धिका लागि नेफ्स्कून प्रतिवद्ध रहेको बताउदै सहकारी सुशासन र अनुशासनका लागि सहकारीकर्मीहरुलाई जिम्मेवार हुन आग्रह गर्नुभयो ।

राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक केबी उप्रेतीले सहकारी क्षेत्रको प्रवद्र्धन र विकासमा आफुहरु क्रियाशिल रहेको बताउदै राज्यले सहकारी क्षेत्रको प्रवद्र्धन र व्यवस्थापनमा नीतिगत र कार्यक्रमिक सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक रामचन्द्र सिंह कुशवाहा, नेपाल पर्यटन केन्द्रीय सहकारी संघका अध्यक्ष लक्ष्मण यादव, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालकहरु कृष्ण पौडेल र दीपक पनेरु, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगाना, प्रहरी उपरीक्षक गणेश थापा, नेपाली कांग्रेसका अर्जुन यादव, एकीकृत माओवादीका झल्कु यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका परमेश्वर साह, मधेशी जनअधिकार फोरमका सञ्जय चौधरी, सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे, पांचथरका नरेन्द्रकुमार राई, सिराहाका सञ्जय महतो, सप्तरीका सचिव तोया पोखरेल, डिभिजन सहकारी कार्यालय धनुषाका प्रमुख रविन्द्र यादव र सिराहाका प्रमुख एकनाथ पौडेललगायतले बोल्नुभएको थियो ।

उदघाटन समारोहपछि वन्द सत्रले प्रतिवेदनहरु पारीत गर्दै नयां सञ्चालक समिति र लेखा समिति गठन गरेको छ । अध्यक्षमा पुनः ध्रुवनारायण यादव निर्विरोध निर्वाचित हुनुभएको छ । समितिमा उपाध्यक्ष मुकेश थापा, सचिव सञ्जय साह, कोषाध्यक्ष सुर्यनारायण यादव, सदस्यहरु सत्तेन्द्र निधि, सुर्यकलादेवी साह, सुधिर पाण्डे, विजय महतो, लक्ष्मी महतो र राजेन्द्र किरण र प्रमोद सिटानलगायत रहेका छन । त्यसैगरी लेखा समितिमा संयोजक रामानन्द ठाकुर र सदस्यहरु गंगा बलमपाखी र सुरेश साह निर्वाचित भएका छन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक