७० प्रतिशत सहकारी सफल, अधिकांशले तरकारी र बिउबिजनको काम गर्दै


काठमाडौं, वैशाख ८ । कृषिक्षेत्रमा लामोसमयदेखि काम गर्दै आएको सिप्रेडले सहयोग गरेका अधिकांश सहकारीहरु सफल देखिएका छन् । सिप्रेडले कृषिको काम गर्ने सहकारीलाई विभिन्न सहयोग गर्दै आएको छ ।
सिप्रेडका अनुसार उसले सहयोग गरेका करिब ७० प्रतिशत बढी सहकारी सक्षम दरिएका छन् । बाँकी ३० प्रतिशत सहकारी पनि सक्षमताको बाटोमा लम्किएको बताइएको छ । सिप्रेडेले पाँच सय ५८ सहकारीलाई सहयोग गर्र्दै आएको छ । २५ वर्षदेखि कृषि क्षेत्रमा काम गर्दै आएको सिप्रेडले किसानलाई क्रियाशील बनाएर सहकारीमार्फत कृषि उत्पादनमा व्यवसायीकरण गर्र्दै आएको हो ।
सिप्रेडले ४७ बहुउद्देश्यीय सहकारी, ८७ बहुउद्देश्यीय सहकारी, ९३ उपभोक्ता सहकारी, १ सय १५ बचत तथा ऋण सहकारी, र तरकारी तथा फलफूल सहकारी केन्द्रिय संघलाई विभिन्न सहयोग गर्दै आएको राष्ट्रिय योजन आयोगका पूर्व सदस्य तथा कृषिविज्ञ डा हरिकृष्ण उपाध्यायले बताउनुभयो । ‘हाम्रो सक्रियाताले गठन भएका सहकारीले अहिले राम्रो आम्दानी गरिरहेका छन्’ उहाँले भन्नुभयो ।
सिप्रेडले सहकारीलाई विभिन्न किसिमका तालिम दिनुका साथै प्राविधिक तथा आर्थिक सहयोग समेत गर्दै आएको छ । कृषक, समूह बनाई सहकारीमा रुपान्तरण गरेर उसले अधिकांश कृषकलाई व्यवसायीक बनाउन लागिपरेको उपाध्यायले बताउनुभयो ।

कृषि उपभोक्ता डबलीमा आयोजित कार्यक्रममा उहाँले अहिलेसम्म २ लाख ६५ हजार किसान परिवारलाई व्यवसायिक कृषिमा आबद्व गराईसकेको जानकारी दिनुभयो । त्यस्तै सिप्रेड ५६ जिल्लामा कषिका विभिन्न कार्यक्रम लिएर गएको छ ।
अहिलेसम्म ५५८ सहकारी, १४ हजार कृषक समूह, १० वटा लघु जलविद्युत, ७२ हजार साना सिंचाइ गरी विभिन्न उत्पादनमूलक संस्था खडा गरिसकेको सिप्रेडका कार्यकारी निर्देशक भरतप्रसाद उपाध्यायले बताउनुभयो ।
रुखो र उपयोगविहीन देखिने रोड करिडोरमा तरकारी खेती गराइ कृषिको व्यवसायिकीकरणमा सिप्रेडले मार्गनिर्देश गरेको छ । मौसममा निर्भर खेती पद्धतिसँगै बेमौसमी तरकारी खेती गराइ किसानलाई दिगो आम्दानी गर्न सक्ने तरिका पनि यसले सिकाएको छ । करोडौं रुपैंयाँ बीऊ आयातमा खर्च हुने अवस्थालाई घटाएको छ । किसानलाई आफ्नै खेतबारीमा बीऊ उत्पादन गर्न सिकाएको छ । आफ्नै घर, आँगनमा तरकारी, फलफूल फलाउने सीप पनि दिएको छ । माछा र बंगुर पालेर पनि मनग्ये आम्दानी लिन सकिने ज्ञान पनि प्रसार गरेको छ ।
नेपाली किसानको आर्थिक हैसियत उकास्न नगदेवालीको विकल्प नभएको डा. उपाध्यायको ठहर छ । ‘एक रोपनी जमीनमा ५ हजारको धान पनि फल्दैन, तर २० हजारको तरकारी फलाउन सकिन्छ ’ उहाँले भन्नुभयो ।‘तरकारी निर्यात गरेर पनि मज्जाले कमाउन सकिन्छ ।’
सिप्रेडका बागवानी विज्ञ इन्द्रराज पाण्डे किसानको मौलिक सीप र आकांक्षालाई परिष्कार गर्दै उत्पादन योजना बनाउँदा नतिजा राम्रो आएको बताउनुहुन्छ । ‘हामीले एकतर्फी योजना बनाउनु हुँदैन, उहाँले भन्नुभयो । किसान पनि विद्धान छन् । अनुभवले खारिएका छन् ।’
नेपालमा बेमौसमी तरकारी खेतीको सूत्रधार सिप्रेडले अहिले देशका २७ जिल्लामा तरकारी, फलफूल, माछा, पशुपालन लगायतको क्षेत्रमा किसानलाई सीप हस्तान्तरण गरिरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न