आन्तरिक स्रोत परिचालन क्षमता बढ्नेगरी राजस्व नीति तर्जुमा गर्न अर्थमन्त्री डा महतको निर्देशन


अर्थमन्त्री डा रामशरण महतले समग्रमा लगानी बढ्ने, निर्यात बढ्ने, अर्थतन्त्रको आकार बढ्ने र निजीक्षेत्रको बिस्तार हुने ढंगले राजस्वसम्वन्धी नीति तर्जुमा हुनुपर्ने बताउनुभएको छ ।
राजस्व परामर्श समितिको वैठकमा समितिका सदस्यहरुलाई निर्देशन दिदै उहाँले सो कुरा बताउनुभएको हो । अर्थतन्त्रको आकार त बढेको छ, यो राम्रो हो तर निर्यात बढ्न सकेको छैन । अर्थमन्त्री डा महतले भन्नुभयो, निर्यात बढाउन के कस्ता सुविधाहरु थप्न आवश्यक छ, तिनलाई अपेक्षित नतिजासहित सिफारिस गर्नुहोस । यसका लागि सरकारले जस्तोसुकै सहयोग गर्न तयार छ ।
निर्यात बढाउनका लागि बस्तुहरु गुणस्तरीय र प्रतिस्पर्धी हुनुपर्ने आवश्यकता औल्याउदै उहाँले भन्नुभयो, यसका लागि के कस्ता सुविधा दिनु आवश्यक छ, प्रस्ताव गर्नुहोस । म सकारात्मकरुपले लिएर अगाडि बढ्नेछु । अर्थमन्त्री डा महतले निर्यातका लागि भ्यालु एड हुने बस्तु पहिचान गर्न पनि आग्रह गर्नुभयो । उहाँको भनाई थियो, बस्तु निर्यात मात्र होइन, सेवा निर्यातको पनि संभावना उत्तिकै छ ।
अर्थतन्त्रको संरचनात्मक सुधार गरिएको र कर प्रणालीमा पनि यस्तो सुधार गरिएकोले अहिले आन्तरिक स्रोत परिचालनको क्षमता बढेको उहाँले बताउनुभयो र भन्नुभयो, बीस बाइस बर्ष अगाडि बजेट निर्माणमा वैदेशिक सहायताप्रतिको निर्भरता ३५ प्रतिशतभन्दा बढी थियो । अहिले घटेर १७ प्रतिशतको हाराहारीमा आएको छ । तामाकोशी जलविद्युत तथा सिक्टा सिंचाई आयोजनाहरु आफ्नै स्रोतमा सञ्चालन हुन थालेका छन । अहिले फेरि करप्रणाली पुनरावलोकन आयोग गठन भएकोले उसको सिफारिसमा थप सुधार गर्दै लगिने छ ।
पहिला राजस्वको प्रमुख स्रोत भन्सार थियो र अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा आएको परिवर्तनसँगै यसले निरन्तरता पाउन सक्दैनथ्यो । त्यसैले करका क्षेत्रमा संरचनात्मक सुधारहरु गरियो । अर्थमन्त्री डा महतले भन्नुभयो, करप्रणालीमा गरिएको सुधारकै कारण अहिले राजस्वको प्रमुख स्रोत भ्याट भएको छ । आयकर दोस्रो र भन्सार त तेस्रो स्थानमा छ । निर्देशन दिने क्रममा उहाँले मुलुकको आन्तरिक क्षमता बढाउनुपर्नेमा जोड दिनुभयो । यसै प्रसंगमा अर्थमन्त्री डा महतले भन्नुभयो, अर्थतन्त्रको अनौपचारिक क्षेत्रलाई पनि करको दायरामा ल्याउनुपर्ने खाँचो रहेको छ । करमा चुहावट हुन सक्ने आशंका गर्दै उहाँले त्यसलाई नियन्त्रण गर्ने संयन्त्र निर्माणतर्फ ध्यान दिन पनि निर्देशन दिनुभयो । उद्यमी व्यवसायीहरुको पनि प्रतिनिधित्व भएको समितिको उक्त कार्यक्रममा अर्थमन्त्रीले निर्यातमा न्युन विजकीकरण भैरहेको हुन सक्ने भएकोले त्यसतर्फ चनाखो हुन पनि निर्देशन दिनुभयो ।
सो अवसरमा राजस्व सचिव नवराज भण्डारीले अर्थतन्त्रमा सहज वातावरण बनाई दिनासाथ राजस्वको दायरा बढ्ने धारणा व्यक्त गर्दै निजी क्षेत्रबाट सरकालाई त्यसको फेयर सेयर प्राप्त हुनुपर्ने बताउनुभयो । त्यसैगरी कार्यक्रममा अर्थविद् प्रा डा मदनकुमार दाहालले आन्तरिक क्षमता बढाउन करको दायरा बढाउनुपर्ने र यसका लागि नयाँ नयाँ क्षेत्रहरुको खोजी गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राजस्व महाशाखाका प्रमुख लक्ष्मण अर्याल, कर प्रणाली पुनरावलोकन आयोगका संयोजक डा रुपवहादुर खड्का तथा उद्यमी व्यवसायीहरुले आ आफ्नो धारणा राख्नुभएको थियो ।
यसैबीच अर्थमन्त्री डा महतले आजै विकास निर्माणसँग सम्वन्धित मन्त्रालयका सचिवहरुलाई बोलाएर विकास खर्चलाई तिब्रता दिन निर्देशन दिनुभयो । चैत मसान्तसम्मको कुल सरकारी खर्च ४५ प्रतिशत भएको र विकास खर्च गत बर्षको तुलनामा करिव ४३ प्रतिशतले बढेपनि चालु आर्थिक बर्षको लक्ष्यको तुलनामा विकास बजेट खर्च अझ बढाउनुपर्नेमा जोड दिइएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले