उदयदेव सहकारीद्वारा १० हजार बढी महिलालाई बिना धितो ऋण


कञ्चनपुर, बैशाख ११ । उदयदेव बहुद्देश्यीय सहकारी संस्थाले ६ वर्षको अवधिमा १० हजार महिलालाई बिनाधितो ऋण उपलब्ध गराएको छ । महिलाहरुलाई आर्थिक सक्षमता बनाउने उद्देश्यले उक्त सहकारीले महिलालाई बिना धितो भएपनि ऋण दिने गरेको हो ।
उक्त सहकारीबाट ऋण लिएर महिलाहरुले आयआर्जनका कार्यक्रम गरिरहेका छन् । अधिकांश महिलाहरु कृषि काममा संलग्न छन् । सहकारीबाट बिनाधितो ऋण लिएर उद्यमी बनेका न्यून आयस्तर भएका महिला अहिले पनि आयआर्जनका कार्यमा संलग्न हुन् ।
ग्रामीण लघुवित्त विकास केन्द्रको सहयोगमा कञ्चनपुरमा सञ्चालित लघुवित्त कार्यक्रम प्रभावकारी भइरहेको उदयदेवका प्रबन्ध सञ्चालक गणेशबहादुर चन्दले बताउनुभयो । चन्दका अनुसार ६ वर्षको अवधिमा ५३ करोड ५२ लाख १५ हजार ९ सय २० रुपैयाँ ऋण लगानी भएकोमा ४० करोड २ लाख ५८ हजार २ सय ४१ रुपैयाँ असुली भइसकेको छ । ‘सहकारीबाट हाल १३ करोड ४९ लाख ५७ हजार ६ सय ७९ रुपैयाँ लगानीकै अवस्थामा छ,” उहाँले भन्नुभयो, । ऋण पाएपछि किसानहरु खुसी हुदैँ आर्थिक उपार्जन गर्न थालेका छन् ।
सहकारीले लघुवित्त कार्यक्रमअन्तर्गत न्यून आयस्तर भएका महिलालाई पशुपालन, बेमौसमी तरकारीखेती, कृषि, अगरबत्ती उद्योग, मौनबत्ती उद्योग, खुद्रा पसल, सिलाइकटाइ पसल सञ्चालन गर्न ऋण लगानी गर्ने गरेको छ । न्यून आयस्तर भएका महिलाले ५ जनाको समूह बनाएपछि सहकारीले पहिलो चरणमा प्रतिव्यक्ति ४० हजार रुपैयाँसम्म ऋण लगानी गर्ने गरेको प्रबन्ध सञ्चालक चन्दले बताउनुभयो ।
उहाँका अनुसार दोस्रो चरणदेखि सहकारी १ लाख रुपैयाँसम्म ऋण लगानी गरिरहेको छ । “लघुवित्त कार्यक्रममा महिलाले मात्रै संलग्न हुन पाउँछन्,” चन्दले भन्नुभयो, “महिलाले वार्षिक १० प्रतिशत ब्याजमा ऋण पाएर १ वर्षभित्र ऋण चुक्ता गर्नुपर्ने हुन्छ ।”
महिला उद्यमीको लगनशीलताले कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको चन्दले बताउनुभयो । चन्दका अनुसार जिल्लाभरिका १ हजार ९ सय ६५ समूहमा सहकारीले लगानी गरेको छ । “चालू आवको फागुनसम्म लघुवित्त कार्यक्रममा १ हजार ६ सय १ महिला थपिएका छन्,” चन्दले भने, “४ करोड २१ लाख ५७ हजार २ सय २५ रुपैयाँ लगानी गरिएको छ ।”
ग्रामीण क्षेत्रका महिलालाई लक्षित गरेर सहकारीले ५ वटा सेवा केन्द्रमार्फत लघुबित्त कार्यक्रम सञ्चालन गरिरहेको छ । बेलौरी, दैजी, झलारी, दोधारा–चाँदनी र महेन्द्रनगरमा सहकारीका सेवा केन्द्र छन् ।
लघुवित्त कार्यक्रममा संलग्न महिला सुत्केरी हुँदा २ बच्चासम्म सहकारीले ५–५ सय रुपैयाँ सहयोगसमेत दिने गरेको छ । “लघुवित्त कार्यक्रममार्फत राम्रो आयआर्जन गरेका महिलालाई सहकारीले बिनाधितो घर निर्माण मर्मत कर्जासमेत दिने गरेको छ,” प्रबन्ध सञ्चालक चन्दले भने, “३ वर्षदेखि महिलालाई यस्तो कर्जा प्रवाह हुँदै आएको छ ।’


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान
कैलालीको बर्दगोरियामा सहकारी व्यवस्थापन तालिम सञ्चालन
नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान