एकहप्ताभित्रै स्थानीय दातृसंस्थाहरुको वैठक हुने


पनुनिर्माणबारे छलफल गर्न दुई महिनाभित्र दाताहरुको सम्मेलन हुने
महाभूकम्पले क्षतिग्रस्त नेपालको पुननिर्माणका लागि व्यवस्थित र सुसंयोजित ढंगले रफ्तारमा काम गर्नका लागि अर्थमन्त्रालय र नेपालस्थित दातृसंस्थाका प्रतिनिधिहरुबीच अर्थमन्त्रालयमा बिहीबार छलफल तथा अन्तक्रिया भयो ।
सो अवसरमा अर्थमन्त्री डा रामशरण महतले नेपाललाई छिटै पुननिर्माण गरिने तथा अझ राम्रो सुन्दर ढंगले नवनिर्माण गरिने भएकोले दातृ निकाय तथा संस्थाहरुको ठूलो सहयोगको आवश्यकता रहेको बिचार व्यक्त गर्नुभयो । महाभूकम्पबाट ठूलो क्षति भयो । विनाश र नोक्सानीका विवरणहरु आइरहेका छन । उहाँले भन्नुभयो, हामी नवनेपाल निर्माण गर्नेछौं र यसलाई अझ राम्रो र सुन्दर बनाउनेछौं । हाम्रा विकास साझेदारहरु र मित्रहरुबाट यो बेलामा अझ ठूलो सहयोगको खाँचो छ ।
दाताहरुको दक्षता, इच्छा र क्षमता अनुसारको कामको जिम्मेवारी र भूमिका तय गरिने जानकारी पनि उहाँले दिनुभयो । अर्थमन्त्री डा महतले नेपालका लागि यो विपतको अवस्थामा अन्तर्राष्ट्रिय समुदायले ठूलो सदाशयताका साथ सहयोग गरेकोमा धन्यवाद पनि दिनुभयो । भूकम्पको भोलिपल्टै स्थानीय दातृसंस्थाका प्रतिनिधिहरुलाई बोलाएर आपतकालिन सहयोग गर्न उहाँले आग्रह गर्नुभएको थियो र सरकार आपतकालिन अवस्थाको व्यवस्थापन गर्न सफल भएको छ । उहाँको भनाई थियो, उद्दार र राहतको आपतकालिन चरण बिस्तारै पूरा हुँदैछ । अव हामी पुननिर्माणको चरणमा प्रवेश गर्दैछौ । यसका लागि नेपाल सरकार तपाईहरुसँग बसेर पुननिर्माणको संभावनाबारे बिस्तृत छलफल तथा बिचार बिमर्श गर्न चाहन्छ ।
उहाँले दातृसंस्था तथा दातृ मुलुकहरुसँगको समुचित समन्वयका लागि दाताहरुको सम्मेलन डाकिने जानकारी दिदै यो आगामी दुई महिनाभित्रै गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा दिइएको जानकारी अनुसार यसको तयारीका लागि स्थानीय दाताहरुको बैठक एकहप्ताभित्रै डाकिने भएको छ । सो अवसरमा अर्थमन्त्री डा महतले महाभूकम्पपछिको पुननिर्माणका लागि छुट्टै अधिकारसम्पन्न प्राधिकरण स्थापना गरी द्रुतगतिमा काम गरिने जानकारी पनि दिनुभयो ।
योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले क्षतिको विवरण र त्यसपछिको योजनाका बारेमा आयोगका सदस्यहरुले काम गरिरहेको जानकारी दिनुभएको थियो । सो अवसरमा विश्व बैंकका राष्ट्रिय निर्देशक जोहानेस युटले नवनिर्माणका लागि अधिकारसम्पन्न प्राधिकारणको स्थापना राम्रो अवधारणा भएको उल्लेख गर्दै नेपालले अघि सारेको कार्ययोजनामा सहयोग गर्न विश्व बैक तयार रहेको जानकारी गराउनुभयो । सो अवसरमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी, युरोपेली संघ, जाइका, डिफिड लगायतका दातृ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । त्यसैगरी अर्थमन्त्रालयका सचिव सुमनप्रसाद शर्मा, सहसचिव मधुकुमार मरासिनी तथा मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।
यसैबीच अर्थमन्त्रालयमा अन्तर्गतका कर्मचारीहरु मात्र सम्मिलित अर्को एक कार्यक्रममा महाभूकम्पपीडितहरुलाई दिनुपर्ने उचित राहत र पुनर्वास तथा सम्पदाहरुको पुननिर्माण कसरी गर्ने भन्ने बारेमा छलफल भयो । सो अवसरमा अर्थमन्त्री डा महतले नवनिर्माणका लागि उपयुक्त तथा संभाब्य योजना प्रस्ताव गर्न निर्देशन दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

वित्तीय साक्षरता तालिम सम्पन्‍न
हिमचुली साकोस गोरखाको रजत महोत्सव सम्पन्न
नेफ्स्कून साकोस म्यानेजर्स क्लबले देशभर सञ्जाल विस्तार गर्ने
बचत तथा ऋण सहकारी संस्थाहरुको व्यवसायिक प्रबर्द्धन तालिम