सहकारीबाट ऋण लिएर टहरा बनाउँदै भूकम्पपीडित


 भक्तपुर, जेठ १ । भूकम्पका कारण घर मसानघाटजस्तै बन्न थालेपछि भूकम्पपीडितहरु खुला आकाशमुनी बस्न वाध्य भएका छन् । उनीहरुले सरकार तथा कुनै निकायबाट पाल तथा त्रिपाल नपाएपछि गाउँकै सहकारीबाट ऋण लिएर टहरा बनउन थालेका छन् । भक्तपुरका स्थानीयहरुले आफू आबद्व सहकारीबाट ऋण लिएर टहरा निर्माण शुरु गरेका छन् । वर्षातको समय नजिकिदैँ गर्दा उनीहरुले आफ्नो बासस्थानका लागि टहरा बनाएका हुन् । राहतको पाल कुर्दाकुर्दा नपाएपछि खुला आकाशमुनि दिनरात कटाउन बाध्य भक्तपुरका भूकम्पपीडित ऋण गरेर जस्ताको टहरा निर्माणमा जुटेको बताएका छन् । उनीहरुले विभिन्न सहकारीबाट ऋण काढेर आफू बस्ने अस्थायी टहरा बनाउन लागिपरेको हुन् । उनीहरुले नगरपालिका, रेडक्रस र अन्य सङ्घसंस्थाले राहत बाँडेको सुनेपनि आफूलाई कसैले नहेरेपछि आफै आफ्नो बास स्थान निर्माण गर्न जुर्मुराएका हुन् । जिल्लाको महामञ्जुश्री नगरकोट नगरपालिका–३ ९साविक ताथली गाविस–७० सौडोलका भूकम्पपीडितले ऋण गरेर जस्ताको टहरा बनाउन थालेका छन् । केहीले व्यक्तिगत तथा धेरैले सामूहिक टहरा निर्माण गरेर बस्ने व्यवस्था मिलाएका छन् । सौडोलका रामकृष्ण माकजुले सरकारले दिने पालको आश गरेर बस्दाबस्दै अहिलेसम्म नपाएपछि सहकारी संस्थाबाट ऋण लिएर जस्ताको टहरा बनाउन थालेको बताउनुभयो । उहाँले गाउँमा पहुँच हुने र पक्की घर हुनेले पनि तीनवटासम्म पाल ल्याएको तर घर भत्किएर पनि पहुँच नहुँदा आफूले पाल नपाएकाले वर्षायाममा समेत बस्न मिल्ने गरी जस्ताको टहरा बनाउन लागेको बताउनुभयो । सौडोल वडा नं ६ का सानुभाई गिरीले नजिकैको सहकारीबाट रु ५० हजार ऋण लिएर चार परिवार बस्न मिल्ने गरी सामूहिक टहरा बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो चार परिवारको तीनवटा घर भत्कियो, १८ जना छौँ, ४३ वटा घर भत्किएको यो गाउँमा अझै कसैले राहत ल्याएको छैन, ‘मानोको समस्या छैन, सबैलाई छानोकै समस्या हो’, त्यसैले ऋण गरेर टहरा बनायाँै ।” उहाँले ऋण गरेर बनाएको टहरामा आजदेखि चार परिवारका १८ जना सामूहिक रुपमा बस्न थालेको र खेतको आलु तथा गहुँ पनि यहीँ थुपारेको बताउनुभयो । यहाँ नेपाल रेडक्रस सोसाइटीले बाँडेका दुईवटा पालमा पनि राजनीति गर्दा पीडित सबैले पाल नपाएको स्थानीयको गुनासो छ । सुडाल गाविसकी सम्झना दुलालले छिमेकीसँग ऋण गरेर जस्ताको अस्थायी टहरा निर्माण गरेको बताउनुभयो । “भएको गाई र बाख्रा पनि घर भत्किएर मरेपछि परिवार बस्नका लागि २१ हजारमा जस्ता किनेर ल्याई टहरा बनाएको छु”– उहाँले भन्नुभयो । यता सूर्यविनायक नगरपालिका सिपाडोलका अनुप कासुला पनि वर्षा थेग्न सक्ने टहरा निर्माणमा जुटेका छन् । घर र गोठ दुवै भत्किएपछि छिमेकीको छाप्रोमा बस्दै आएका कासुलाले आफू कार्यरत संस्थाबाटै ऋण लिएर जस्ताको टहरा निर्माण गर्न लागेको बताउनुभयो । कासुलाले भन्नुभयो, “पालको आशा धेरै गरियो, जिल्ला प्रशासनदेखि नगरपालिकासम्म धाइयो, तर नपाएपछि ऋण गरेरै टहरा निर्माणमा लागियो, यसले वर्षासम्म धान्ला भन्ने आशा छ ।” भक्तपुरको सिपाडोल, चित्तपोल, गुण्डु, ताथली, सुडाल, नंखेल, छालिङ, नगरकोट र चाँगुका भूकम्पपीडितले ऋण गरेरै भएपनि अहिले वर्षा थेग्न सक्ने अस्थायी टहरा निर्माण गर्न थालेका हुन् । भक्तपुरका स्थानीयले अहिले आफू बस्न र अन्नबाली थन्क्याउन मिल्ने गरी जस्ताको छाप्रो बनाउने कार्य तीव्र पारेका छन् । सरकारी राहत कुरेर बस्दा वर्षा लाग्ने र आएको राहत पनि सबैले नपाउने भएपछि उनीहरु राहतको भर नभएको भन्दै जस्ताको टहरा निर्माणमा लागेका हुन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक