सहुलियत आवास कर्जामा सहकारीहरुलाई सक्रिय सहभागी गराउनुपर्नेमा जोड


सिमरा, बैशाख ८ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले महाभूकम्पपिडितहरुको राहत, उद्धार र पुनव्र्यवस्थापनमा सहकारी संघसंस्था र अभियन्ताहरु जुटनुपर्ने बताउनुभयो । आज बाराको कोल्हवीमा आयोजित सहकारी तथा लेखाव्यवस्थापन तालीमको उदघाटन गर्दै उक्त कुरा बताउनुभएको हो ।
बैशाख १२ र त्यसपछिका पराकम्पनहरुको कारण व्यापक जनधनको क्षति भएको प्रसंग उल्लेख गर्दै उद्धार र राहतका लागि सहकारीहरुले केन्द्र र स्थानीय तहमा सहयोगको प्रभावकारी संयोजन गरेको बताउदै अव पुनर्निमाणका लागि पनि उनीहरुलाई क्रियाशिल बनाउनुपर्ने पौडेलले बताउनुभयो । सहकारीहरु जनस्तरसम्म क्रियाशिल संगठन भएकोले उनीहरुको परिचालनले पुनव्र्यवस्थापन दिगो हुन सक्ने पौडेलले दावी गर्नुभयो । सहकारीहरु आधारभूत तहका नागरिकहरुसंग प्रत्यक्ष रुपमा जोडिएका छन । पौडेलले राज्य र नेपाल राष्ट्र बैंकले उपलव्ध गराउने सहुलियत कर्जा थोक रुपमा सहकारीहरुलाई उपलव्ध गराउन सके पिडितहरुले सहज रुपमा घरदैलोमा सेवा पाउन सक्ने बताउनुभयो ।

अर्को प्रसंगमा सहकारीहरुको प्रभावकारी सञ्चालनका लागि लेखा प्रणाली र अभ्यास नै प्रमुख आधार भएकोले सञ्चालक तथा व्यवस्थापकहरु यसमा गम्भिर हुनुपर्ने बताउनुभयो । पारदर्शी र मितव्ययी सञ्चालन नै सफलताको आधार हुने बताउदै पौडेलले सहकारी र व्यवसायका सिद्धान्तहरुलाई आत्मसात गरेर अघि बढन सहकारीकर्मीहरुलाई पौडेलले आग्रह गर्नुभयो ।

डिभिजन सहकारी कार्यालयका प्रमुख कुलोत्तम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तामागढी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष राजहरण चौधरी, अनुपदिपनी उच्च माविका प्राचार्य केवल चौधरी, उद्योग बाणिज्य संघका अध्यक्ष शुकदेव रौनियार, साना किसान कृषि सहकारी संस्था सपहीका अध्यक्ष चंचला चौधरी, स्थानीय समाजसेवी पृथ्वी शिवाकोटी र तामागढी सहकारीका व्यवस्थापक बासुदेव रिमाललगायतले बोल्नुभएको थियो ।

डिभिजन सहकारी कार्यालय बाराको आयोजना र तामागढी साकोसको संयोजनमा भई रहेको तालीमको सहजीकरण नन्देश्वर चौधरी र स्वागत शिक्षा समिति संयोजक विश्वनाथ चौधरीले गर्नुभएको थियो । जेठ १० गतेसम्म चल्ने तालीममा १० सहकारी संस्थाका ३० जना प्रशिक्षार्थीहरु सहभागी छन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने